Comments Add Comment

कास्कीबाट ४२ बन्दकर्ता पक्राउ

pokhara_yatayat banda
फाइल तस्वीर

२७ जेठ, पोखरा । विप्लव माओवादीको बन्दलाई सफल बनाउन भन्दै हिँडेका ४२ जनालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ । पोखरा र लेखनाथमा बन्द गराउँदै हिँडेका ४२ जना नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विप्लव माओवादी कास्कीले जनाएको हो ।

नेकपा माओवादी (विप्लव) का गण्डकी ईञ्चार्ज सावित्री दुराका अनुसार प्रहरीले नेकपा माओवादी कास्की क्षेत्र नम्बर १ का ईञ्चार्ज गोकुल पराजुली, क्षेत्र नम्बर ४ का ईञ्चार्ज सुजन विकसहितका नेता-कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई पोखराको महेन्द्रपुल, शिवालयचोक, लेखनाथको शिशुवा, तालचोक लगायतका क्षेत्रबाट पक्राउ गरेको दुराले जानकारी दिइन् ।

यसैबीच, नेकपा माओवादीले आफ्ना कार्यकर्ता रतन परियारमाथी प्रहरीले कुटपिट गरेको बताएको छ । गण्डकी ईञ्चार्ज दुराले परियारमाथी प्रहरीले कुटपिट गरेर घाइते बनाएको बताइन् । लेखनाथको डाँडाको नाक क्षेत्रमा बन्द सफल बनाउन निस्केका परियारलाई प्रहरीले अन्धाधुन्ध लाठि प्रहार गरेको उनको भनाई छ ।

बन्दको प्रभाव पोखरामा विहानैदेखि परेको छ । बन्दकर्ता सडकमा खासै नदेखिए पनि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । उद्योग, कलकारखाना तथा शिक्षण संस्था ठप्प छन् । बालबालिका तथा युवाहरुले सडकलाई खेल मैदानका रुपमा प्रयोग गरेका छन् ।

बन्दमा एम्बुलेन्स, प्रेस, मानवअधिकार तथा अत्यावश्यक सामग्री बोक्ने सवारी साधन, पर्यटक गाडी र कुटनीतिक नियोगका सवारी साधनलाई निर्बाध रुपमा सञ्चालन गर्न दिइएको छ ।

पोखराबाट विहीबार दिउँसोसम्म २४ वटा हरियो प्लेटका पर्यटक सवारी साधनहरु काठमाडौं गएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment