Comments Add Comment

मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता

गाविस सचिवले बदमासी गरेको स्थानीयको आरोप

Kalikot-Jibisa

२७ जेठ, कालिकोट । लालु गाबिस-१ का ब्यासी रावलको मृत्यु भएको तीन वर्ष बितिसक्यो । उनको गाविसमा मृत्यु दर्तासमेत गरिएको छ । तर, जिल्ला विकास समिति कालिकोटबाट उनको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा हुँदै आएको छ ।

सोही वडानम्बर १ कै राजकला रावल र लालजिरा रावलको पनि मृत्यु भएको दुई वर्ष बित्यो । उनीहरुको नाममा पनि निरन्तर सामाजिक सुरक्षा भत्ता निकासी हुँदै आएको छ ।

गाबिसको वडा नम्बर २ का बहादुरे बिष्ट, रगे बिष्ट, हसे बिष्ट, नन्दराम बिष्ट र महारुप बिष्ट, वडा नम्बर ४ का गोबिलाल बिष्ट र दलबिर बिष्ट, वडा नम्बर ५ का हैथे बोहोरा, हर्क शाही र बर्म शाही, वडा नम्बर ६ का नरपति रावल, गुमानसिंह रावल र कोर घर्ती (काल्पनिक मानिस), वडा नम्बर ७ का जमाना भण्डारा र रमाने बिष्ट, वडा नम्बर ९ का दुर्ग बिष्ट, परिमल बिष्ट र सुधा बिष्टको पनि धेरै बर्ष अगाडि मृत्यु भइसकेको छ । तैपनि अहिलेसम्म गाबिसमा उनीहरुको नाममा सामाजिक सुरक्षा भत्ता दिने गरिएको छ ।

यसरी मृत्यु भइसकेका नाममा जाने सामाजिक सुरक्षा भत्ता मृतकका परिवारले भने पाउँदैनन् । गाविस सचिव र त्यहाँका टाठाबाठाले मृतकका नामको भत्ता खाने गरेको स्थानीय सविनकुमार बिष्टले बताए । ‘गाबिसको सम्पूर्ण अभिलेख गाबिस सचिवहरुले राख्ने गर्छन्,’ उनले भने, ‘त्यस बिषयमा अरुलाई खासै जानकारी हुँदैन ।’

स्थानीय गाबिस सचिव र सहलेखापालले मृत्यु भइसकेको ब्यक्तिको नाम जिल्ला विकास समितिलाई नदिने र उनीहरुको नाममा आएको सामाजिक सुरक्षा भत्ता आफूले खाने गरेको स्थानीयको आरोप छ ।

जिल्लाभरी करौडौं रकम वार्षिक रुपमा दुरुपयोग हुने गरेको जिल्ला विकास समितिका इन्जिनियर तथा सामाजिक सुरक्षा भत्ताको अनियमितता छानबिन समितिका संयोजक रतन भण्डारीले बताए । ‘नभएका मान्छेको नाममा पनि सामाजिक सुरक्षा भत्ता जाने गरेको पाइयो,’ उनले भने ।

सामाजिक सुरक्षा भत्ताका नाममा मृत्यु भएका र फर्जी नामका आधारमा गाबिसहरुले वार्षिक १० लाखदेखि १५ लाख रकमसम्म निकासा हुने गरेको भण्डारीले बताए । उनले भने, ‘यो रकम गाउँका सचिव र टाठाबाठा मिलेर खादा रहेछन् ।’ छानबिनको अन्तिम रिर्पोट आउन अझैँ केही समय लाग्ने उनले जानकारी दिए ।

लालु गाबिसमा बृद्ध भत्ता खाने ५ सय ३५ जनामध्ये यसरी मृत्यु भइसकेका नाममा ८० जनाभन्दा बढीको नाममा सामाजिक सुरक्षा भत्ता निकासा हुने गरेको छ । यसरी भत्ता निकासा हुनुमा मिलिभगतमा पैसा खाने उद्देश्य रहेको लालु गाबिसका कांग्रेस सभापति नन्दनाथ योगीले बताए । ‘गाबिस सचिवहरुले सामाजिक सुरक्षा भत्ता खाने उद्देश्यले मृत्यु भइसकेकाहरुका नाममा पनि पैसा झिक्ने गरेका छन् ।’ उनले भने, ‘यसमा नेपाल सरकार गाबिस सचिवको कमजोरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment