Comments Add Comment

मंगोल नेता गोपाल गुरुङको निधन

२८ जेठ, काठमाडौं । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक अध्यक्ष एवं गणतन्त्रवादी नेता गोपाल गुरुङको निधन भएको छ ।

Gopal_Gurung_(2)ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका गुरुङको शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा निधन भएको गुरुङका सहयोगी बुद्धलाल मेचेले अनलाइनखबरलाई जानकारी दिए ।

ब्लड क्यान्सरका बिरामी रहेका गुरुङको उपचार एक महिना अघिदेखि अल्का अस्पतालमा भइरहेको थियो । संघीय गणतन्त्रवादी विचारका नेता गुरुङले आफूलाई ‘एन्टी करेन्ट’ धारको बताउने गरेका थिए ।

दार्जीलिङमा जन्मेर इलाममा बसेाबास गर्ने ८१ वर्षीय गुरुङ पञ्चायतकालदेखि नै संघीय गणतन्त्रको वकालत गर्थे । हिडन फ्याक्ट इन नेप्लिज पोलिटिक्स (नेपाली राजनीतिका अनदेखा सच्चाइ) नामको पुस्तक लेखेर काठमाडौंमा जेल परेका उनले ‘मंगोल नेशनल अर्गनाइजेसन’ नामको पार्टी खोलेका थिए ।

गुरुङ क्षेत्रीबाहुनका विरुद्धमा खरोरुपमा लेख्थे । ०४६ सालको परिवर्तनपछि चर्चामा आएको ‘सेतामगुराली’ उनैको धारणा थियो । नेपाली राजनीतिका अनदेखा सच्चाइ नामको गुरुङको पुस्तक नेपालमा त्यसबेला प्रतिबन्धित भए पनि सिक्किम र दार्जीलिङमा चर्चित थियो ।

मंगोल जातिको वकालत गरे पनि गोपाल गुरुङ तमुवान, लिम्बुवानजस्ता जातीय राज्यको विपक्षमा थिए । संघ र प्रदेशहरुको नाम जातीय आधारमा नभई नदीनाला र भूगोलका आधारमा राखिनुपर्ने उनको दृष्टिकोण थियो ।

gopal gurung_bookराजनीतिशास्त्रमा विशेष दख्खल भएका गुरुङ अंग्रेजी, हिन्दी र नेपाली तीनवटै भाषाको लेखनमा उत्तिकै दख्खल राख्थे । एक समय जनजाति नेता गोरेबहादुर खपाङ्गी र माओवादी नेता गोपाल किरातीले समेत गोपाल गुरुङलाई आफ्नो आदरणीय नेता मान्थे ।

पछिल्लो समयमा उनी ललितपुरको बाग्डोलमा कार्यकर्ताहरुका साथमा बस्दै आएका थिए । उनकी पत्नीको निधन पहिल्यै भइसकेको छ ।

गुरुङका एकमात्र छोरा अष्ट्रेलियामा छन् । शनिबार उनी काठमाडौं आएपछि गुरुङको सदगति गरिने मेचेले अनलाइनखबरलाई जानकारी दिए ।

इलाम, गोरखालगायतका विभिन्न जिल्लामा गुरुङका समर्थकहरु रहेका छन् । गोपालको निधनपछि मंगोल नेशनलकमा कार्यकर्ताहरु शोकमग्न बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment