Comments Add Comment

रत्न मन्दिर पर्यटकका लागि खुला गरिने

३२ जेठ, पोखरा । फेवाताल किनारमा रहेको पूर्वराजपरिवारको दरबार रत्न मन्दिर असारको दोस्रो सातादेखि पर्यटकका लागि खुला गरिने भएको छ ।

Ratna-Mandirनेपाल ट्रष्टको कार्यालयले गत वैशाख ८ गते रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेसँगै त्यहाँ पर्यटकलाई प्रवेश गराउन अत्यावश्यकीय पूर्वाधार निर्माणलाई तीव्रता दिएको थियो । नेपाल ट्रष्टको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार पर्यटकका लागि शौचालय, सिसि क्यामेरा जडान, टिकट घर जस्ता पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएको छ ।

‘आगामी असारको दोस्रो सातादेखि रत्न मन्दिर सर्वसाधारणले अवलोकन गर्न पाउने गरी व्यस्थापनको तयारी गरेका छौं,’ उनले भने, ‘पूर्वाधार निर्माणका साथै प्रवेश टिकट छपाउने काम भइरहेको छ ।’

ट्रष्टले रत्न मन्दिर अवलोकन गर्नका लागि विदेशी पर्यटकका लागि रु एक हजार, नेपाली नगरिकका लागि रु एक सय र ज्येष्ठ नागरिक एवम् विद्यार्थीका लागि रु ५० टिकट दर कायम गरेको छ ।

फेवातालको किनारमा प्यागोडा शैलीमा बनाइएको उक्त दरवारको भित्री संरचना ढुङ्गामा कुँदिएका आकर्षक कलाले सजाइएको छ । फेवातालसहित रानीवनको संरक्षण समेतको लक्ष्य राखी तत्कालीन राजा महेन्द्रले उक्त क्षेत्रका स्थानीयवासीसँग २०१३ सालमा जग्गा किनेर २०१६ सालमा रानी रत्नको नाममा यो दरबार निर्माण गरेका थिए । विगतमा पूर्वराजाहरुको पोखरा भ्रमणका क्रममा बस्ने गरिएको सो दरबार नेपाली कलाकृति झल्काउने संरचनाले युक्त रहेका कारण प्राचीन कलाकृतिको अवलोकनका लागि समेत बहुउपयोगी हुने विश्वास गरिएको छ ।

ऐतिहासिक सम्पदाका रुपमा रहेको सो दरबार पर्यटकका लागि खुला गरिनु महत्वपूर्ण कुरा भएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई बताउँछन् । पर्यावरणीय संरक्षणका साथै फेवातालको जलाधार क्षेत्र संरक्षण गर्नु अपरिहार्य भएको र रत्न मन्दिर नजिकैको हिमा गृहलाई विदेशी राष्ट्र प्रमुखहरूको नेपाल भ्रमणको समयका लागि आवास गृहका साथै राष्ट्रको उच्चस्तरीय बैठक कक्षका रुपमा विकास गर्न उपयुक्त हुने उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा पर्यटकको बसाइँ लम्ब्याउन मन्दिर खुला गरिनु जरुरी भएको बताउँछन् । सरकारले गणतन्त्र स्थापनालगत्तै पूर्वराजा र राजपरिवारको नाममा रहेका चलअचल सम्पत्तिलाई आफ्नो मातहतमा ल्याउने क्रममा रत्न मन्दिरलाई पनि नेपाल ट्रष्टअन्तर्गत समेटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment