Comments Add Comment

वैशाखदेखि पोखराका बसमा ईटिकट

३ चैत, पोखरा । पोखराभित्र चल्ने बसमा बैशाखदेखि विद्युतीय टिकट प्रणाली ( इटिकेटिङ सिस्टम) लागू हुने भएको छ । बसमा यात्रा गर्दा टिकट र कार्ड प्रणाली लागू गर्न आइतबार पोखरा महानगर, पोखराका बस व्यवसायी र काठमाडौंको एनक्लाउड कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागू गर्न सम्झौता गरेका हुन् ।

बस व्यवसायी समितिले विद्युतीय टिकट प्रणाली लागू भएपछि प्रत्येक यात्रुलाई बिशेष प्रकारको कार्ड उपलब्ध गराउनेछन् । उक्त कार्ड मूल्य १ सय ५० रुपैयाँ पर्ने र त्यसमा १ हजार रुपैयाँसम्म रिचार्ज गर्न सकिने सुविधा हुनेछ । ‘यात्रुले पाएको कार्ड गाडीका सहचालकसँग भएको मेसिनमा घुसाएपछि जीपीएसका आधारमा भाडा स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ,’ एनक्लाउडका सीईओ दीपेन्द्रनारायण श्रेष्ठले भने ।

व्यवसायीलाई विद्युतीय टिकट मेसिन चलाउने तालिम पनि आफैं नै दिने र त्यसवापत प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँ उठाउने कम्पनीसँग सम्झौता भएको छ । सिईओ श्रेष्ठले प्रारम्भिक चरणमा पोखराका ८ सय बसमा प्रविधि जडान गर्ने जानकारी दिए ।

‘उनीहरुले पहिले निश्चित ठाउँमा रकम जम्मा गरेका हुन्छन्, त्यहीका आधारमा कार्ड पाउँछन्,’ श्रेष्ठले भने, ‘यात्रुले सजिलोका लागि कार्ड नम्बर डायल गरे पनि हुन्छ ।’ उनले सुरुमै सबैसँग कार्ड असम्भव हुने हुँदा इटिकेटिङ नै भरपर्दो हुने बताए । उनले साझा र विभो बसका लागि कार्ड बाँड्न सुरु भइसकेको जानकारी दिए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विद्युतीय टिकट प्रणालीले यात्रुलाई सहजका साथै समयको बचत हुने दाबी गरे । ‘यो प्रणाली लागु भयो भने यात्रुलाई मात्रै होइन, बस व्यवसायीलाई पनि समय र पैसा दुवैको बचत हुनेछ,’ उनले भने, ‘यसमा यात्रु ठगिने सम्भावना पनि न्यून हुन्छ ।’

पोखरा बस व्यवसायी समिति महासचिव अमृत शर्माले ‘पेपरलेस (कागजरहित) यात्रा’ लागु भए व्यवसायीलाई पनि फाइदा पुग्ने दाबी गरे । ‘पैसा नै तिरेर टिकट लिए दिनभरमा कति टिकट बिक्री भयो भन्ने जानकारी संस्थालाई जान्छ । कार्ड प्रयोग गरेको भए त्यो रकम सिधै खातामा जान्छ,’ उनले भने, ‘यसबाट व्यवसायीको आम्दानी तथ्यांक पनि पारदर्शी हुन्छ ।’

महासचिव शर्माले पेपरलेस यात्राले व्यवसाय परिमार्जन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । ‘यो सुरुमा साझा बसमा मात्रै थियो । अब पोखरामा पनि लागु गर्दैछौं । यसले स्मार्ट सिटीलाई पनि सहयोग मिल्नेछ,’ उनले भने, ‘यसले एक त व्यवसाय परिर्माजन पनि हुन्छ । अर्को प्रविधिमैत्री पनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment