Comments Add Comment

सरकारसँगको वार्ताबारे मधेसी मोर्चामा विवाद

Madhesi-morcha२ असार, काठमाडौं । सरकारसँगको वार्तालाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद देखिएको छ ।

मधेसी मोर्चामा मधेस केन्द्रीत सात दल छन् । तर, पछिल्लो समय मधेसी मोर्चामा आवद्ध दलहरुसमेत मिलेर संघीय गठवन्धनको नाममा आन्दोलन भइरहेको छ । र, गठवन्धनले वार्ताका लागि आफ्नो नाममा पत्र आउनु पर्ने माग गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने पटकपटक मधेसी मोर्चालाई पत्र पठाएर वार्तामा आउन आहृवान गर्दै आएका छन् । पछिल्लोपटक उनले सोमबार पत्र पठाएका छन् । अब मधेसी मोर्चा आवद्ध दलहरुबीच संघीय गठवन्धनको नाममा पत्र नआएसम्म वार्तामा नजाने कि मधेसी मोर्चा मात्र वार्तामा बस्ने भन्ने बहस सुुरु भएको छ ।

मोर्चामा आवद्ध केही दल मधेसी मोर्चाको नामबाट भएपनि वार्तामा बस्नु पर्ने पक्षमा उभिएका छन् । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी यसको पक्षमा छ । पछिल्लो समय अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि यही लाइनमा देखिएको छ । यद्यपि उनीहरु पनि प्रधानमन्त्रीको पत्र स्पष्ट नभएको भन्दै वार्तामा बस्नु अघि थप प्रष्ट हुनु पर्ने बताउँछन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीसहितका दल भने गठवन्धनको नाममा आन्दोलन भइरहेकाले गठवन्धनलाई नै सरकारले वार्तामा बोलाउनु पर्ने अडानमा छन् ।

‘मधेसी मोर्चा मात्र भए पनि वार्तामा बस्ने कि नबस्ने भन्नेबारे फरक-फरक मत आएको छ’ मधेसी मोर्चासम्वद्ध स्रोतले भन्यो, ‘तर, यही पत्रका आधारमा भने कोही पनि वार्ता गर्ने पक्षमा छैनन् ।’

वार्ताबारे मोर्चामा आवद्ध दलहरुकै मत बाझिएपछि बिहीबार बैठक बोलाइएको छ । दिउँसो ३ बजे संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्रीको पत्रबारे छलफल हुने एक नेताले बताएका छन् ।

मधेसी मोर्चाको बैठक अघि विहान ११ बजे संघीय गठवन्धनको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment