Comments Add Comment

ग्लोबल पिस पार्क : शान्ति खोज्दै पुग्छन् मन्त्रीदेखि प्रेमिल जोडी

११ चैत, बुटवल । एकदशक अघिसम्म बुटवलको ढबाहा उत्तरको वन क्षेत्रमा केही सालका रुख र झाडीमात्रै थियो । अधिकांश भाग खाली चौर थियो ।

झाडीमा कतिपय युवाहरुले लुकेर लागु औषध सेवन गर्ने गर्थे । त्यही उराठलाग्दो वन क्षेत्र अहिले रमणीय नमूना पर्यटकीय स्थल बनेको छ ।

बुटवल उपमहानगरपालिकाको १२ ढबाहाको उत्तरी क्षेत्रमा रहेको १० हेक्टर क्षेत्रलाई हाल आकर्षक अनि रमणीय उद्यानका रुपमा विकास गरेको हो । व्रह्मकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बुटवलले चारपाला सामुदायिक वनको करिब १६ बिघा जग्गामा वृक्षारोपणसहित आध्यात्मिक संरचना बनाएर ग्लोबल पिस पार्क (विश्व शान्ति उद्यान) का रुपमा विकास गरेको छ ।

यो ठाउँ अहिले प्रकृतिमा रमाउने र शान्त एवं आध्यात्मिक वातावरण खोज्ने सबैको रोजाइ बनेको छ । पूर्वपश्चिम राजमार्गबाट २ सय मिटर उत्तरमा अवस्थित यो उद्यान बनाउन अहिलेसम्म करिब ५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

केन्द्रका नाममा धार्मिक वनका रुपमा २०७३ सालमा दर्ता भएको यो शान्ति उद्यानमा करिब २ सय प्रजातिका विभिन्न प्रजातिका बृक्ष रोपिएका छन् । यहां वर, पिपल, समी, रुद्राक्ष, बेल, कपूर, चन्दनलगायत धार्मिक आस्थासंग सम्बन्धित करिब ५ हजार जति रुख/विरुवाहरु रोपिएका छन् ।

उद्यानभित्र ६० प्रकारका फलफूलका विरुवा पनि हुर्किएका छन् । जडिबुटी र शो प्लान्टहरु पनि छन् । यहाँको सबैभन्दा आकर्षण र विशेषता बाख्रे घाँस (सिंघोर) को बोटलाई मयूर, डांफे, खरायो, हात्ती आदि पंक्षी र जीवजन्तुको स्वरुप दिइएको छ ।

शान्त र मनोरम वातावरणमा रमाउन यहाँ सरदर दैनिक ६ सयजनाका दरले पर्यटक पुग्ने गरेका छन् । सार्वजनिक विदा र चाडपर्वका दिनमा त उद्यान हजारौं मान्छेले भरिभराउ हुने केन्द्रका सचिव ब्रह्मकुमार नरेन्द्र बताउँछन् । शिवको मुर्ति सहित यहां रहेको कैलाश पर्वत र ध्यानकुटीले पनि पर्यटकलाई तानेको छ । घुम्न आउनेहरुलाई विश्राम गर्न तीनवटा सेड र बगैंचा बनाइएको छ ।

अरु पार्कहरुमा जस्तो जोडीहरु खुलेआम आलिंगन गरेर घुम्न, चर्को स्वरमा हल्ला गर्न, उच्छृङ्खल गतिविधि गर्न यहाँ पाइंदैन । मदिरा तथा माछा, मासु माछा सेवन गर्न पनि मनाही गरिएको छ ।

यो पार्कमा शान्ति र आध्यात्मिक चेतना खोज्दै प्रेमिल जोडीदेखि प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल र मन्त्री, सांसदसम्म पुगेका छन् । घुम्न आएकाहरुलाई आध्यात्मिक ज्ञान लिन पाउने व्यवस्थ पनि गरिएको छ ।

पार्क घुम्दै प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केेसीलगायतका पदाधिकारी ।

‘पिस पार्कमा आएर घुम्दा र यहाँ आध्यात्मिक प्रशिक्षण लिंदा सकारात्मक सोंच, शान्तिको महसुस हुँदोरहेछ’ प्रदेश ५ कि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भनिन् । पार्कमा खानेपानी आपुर्तिका लागि २ करोड ६२ लाख रुपैयाँ लागतमा सवा १ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिएको छ ।

यहाँ करिब ५० जना स्वयंसेवी ब्रह्मकुमार र ब्रह्मकुमारीहरु बस्न सातवटा कटेज पनि बनेका छन् । उद्यानको दुबैतर्फ रहेको सतगढी खोलामा केन्द्रले तटबन्ध गरेको छ । पार्कमा घुम्न आउने पर्यटकको संख्या थपिंदै जान थालेपछि गुरुयोजना बनाएर अन्तर्राष्ट्रिय स्तरको विश्व शान्ति उद्यान बनाउने लक्ष्य रहेको केन्द्रकी प्रमुख कमला दिदीले बताइन् ।

ग्लोबल पिस पार्कलाई प्रकृति र अध्यात्ममा रमाउने नेपालकै नमूना पार्कको रुपमा विकास गर्न करिब ५० करोड अनुमानित लागतमा २ बिघामा दिल्ली अक्षरधामको जस्तै म्युजिकल फाउन्टेन, १० कठ्ठामा आर्ट ग्यालरी, अडिटोरियम हल, भ्यू टावर, झरना, गार्डेन, पोखरी र थप सेडहरु बनाउने लक्ष्य रहेको छ ।

वुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई पिस पार्कसम्म ल्याई उनीहरुको बसाई लम्ब्याउने गरी गुरुयोजना बनाइएकाले संघ, प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने केन्द्रका सचिव नरेन्द्रको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment