Comments Add Comment

भुन्टे नगर्चीको जागिर सकियो, काम सकिएन !

११ चैत, गोरखा । भुन्टे नगर्ची गोरखा दरबारमा नगरा बजाउँछन् । ७३ वर्षका उनको काममा उमेर कहिल्यै बाधक बनेन । २०२२ सालदेखि गोरखनाथको नगर्चीको रुपमा गोरखा दरबारमा नगरा बजाउँदै आएका उनको जागिर ०५८ सालमै सकिएको हो । तर, उनको काम सकिएको छैन ।

गोरखा दरबार हेरचाह अड्डाले उनको आवश्यकता महशुस गरिरहेकै छ । भुन्टेलाई पनि काम छाड्न कहाँ मन छ र ! त्यसैल त जागिर सकिए पनि उनी नगरा बजाउने काम गरिरहेकै छन् ।

बाबुबाजेले गोरखनाथ र भगवती माताका लागि गर्दै आएको काम छाड्न मन नभएको उनी बताउँछन् ।

दरबारमा गोरखनाथको पूजा हुँदा नगरा बजाइन्छ । दिनमा कम्तीमा दुई पटक र बढीमा सात पटकसम्म नगरा बजाउनुपर्छ । तर, कतिबेला बजाउनुपर्छ भन्ने टुंगो हुँदैन ।

तागत छउञ्जेल नगरा बजाइरहने उनको प्रतिवद्धता छ । उनले पाउने तलबबाट परिवारको दुई छाक टार्न भने गाह्रो छ । ‘शुरुमा मेरो तलब माहिनाको १३ रुपैयाँ थियो, जागिर छाड्ने बेलासम्म ४ हजार ५ सय पुग्यो’ भुन्टेले भने । अहिले उनले मासिक ४ हजार पाउँदै आएका छन् ।

दरबारमा गोरखनाथको पूजा हुँदा नगरा बजाइन्छ । दिनमा कम्तीमा दुई पटक र बढीमा सात पटकसम्म नगरा बजाउनुपर्ने उनी बताउँछन् । भण्डारा औंसीको समयमा दिनको सात पटकसम्म नगरा बजाउनुपर्छ । तर, कतिबेला बजाउनुपर्छ भन्ने टुंगो हुँदैन ।

समयको टुङ्गो नहुँदा उनी दिनभर दरबारमै कुरेर बसिरहनुपर्छ । ‘विहान यतिबेला बजाउने भन्ने ठ्याक्कै समय हुन्न तर, वेलुकी घाम अस्ताएपछि सन्ध्याकालीन आरतीका लागि बजाउनुपर्छ,’ उनले भने ।

गुरु गोरखनाथलाई प्रसादको रुपमा चढाइने रोट पकाउने र बाँड्ने समयमा पनि भुन्टे नगरा बजाउने काममा व्यस्त हुन्छन् ।
गोरखा दरबारमा अरु बाजा पनि बज्छन् तर, नगरा मुख्य बाजा हो । ‘गोरखनाथलाई पूजाको लागि नगरा मुख्य बाजा हो, यो नबजाई हुँदैन,’ भुन्टेले भने ।

पञ्चरत्नबाट बनेको नगरामा श्रीखण्डको काठ प्रयोग गरिन्छ र तीन ठाउँमा चाँदीले बाँधिएको हुन्छ ।

नगरासँगै रासा, कर्नाल, धुप, काललगायतका बाजा पनि बजाइन्छ । गोरखनाथमा घण्टा र नाथ बजेको इसारामा उक्त बाजाहरु बजाउनुपर्ने भुन्टे बताउँछन् । बाजा बजाउनकै लागि पाँच जना बानादार थिए । सबैको हाजिर भुन्टेले गर्थे । तर, अहिले दुई जनामात्र छन् । बानादार (बाजा बजाउने) हरुको दरबन्दी कटौती भएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

बाजा बजाउन र राख्नका लागि एउटा सानो घर छ, जसलाई दमाइ पाटी भनिन्छ । भुन्टे दमाइकै पहलमा यो पाटी बनेको हो ।

‘पहिले यहाँ पेटीमात्र थियो, त्यहीँ बसेर बाजा बजाउनुपर्थ्यो । काठमाडौंबाट आएका हाकिमलाई मैले बिन्ती चढाएपछि १३ हजार मेरै नाममा हालिदिनुभयो र पाटी बनायौं,’ उनले भने । अहिले बाजा बजाउने र बाजा राख्ने काम यही पाटीमा गरिन्छ ।

जीर्ण बन्दै दमाई पाटी

तर, २०७२ सालको भूकम्पले पाटीमा पनि क्षति पुग्यो । छानोका झिंगटीहरु झरेका छन् । रकम अभावका कारण भवन मर्मत गर्न नसकिएको दरवार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेल बताउँछन् ।

बाजा बजाउन शुरु गरेपछि १५/२० मिनेटसम्म निस्कन मिल्दैन । ‘हुरी बतास र असिना पानी परेको बेला निकै समस्या हुन्छ,’ उनले भने, ‘गोरखानाथमा घण्ट र नाथ बजेको इसारामा मन्त्र विधिअनुसार गनी गनी नगरा बजाउनुपर्छ । असिना पानी परेको बेला टाउकैमा लाग्छ के गर्नु !’

पानी चुहिएर भवनभित्र राखिएको बाजासमेत बिग्रिएका छन् । ‘मर्मतका लागि अर्काे बर्ष रकम आउँछ भन्ने आश गरेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment