Comments Add Comment

व्यापार घाटा २.४ प्रतिशतले घट्यो, १० महिनामा साढे ५ खर्ब घाटा

२ असार, काठमाडौं । भारतीय नाकाबन्दी र मधेश आन्दोलनको प्रभाव वैदेशिक व्यापारमा देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक व्यापार घाटा २.४ प्रतिशतले घटेर ५ खर्ब ४३ अर्ब ७६ करोडमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १०.१ प्रतिशतले बढेको थियो ।

Trade-Deficit-2072-baishakhदश महिनाको अवधिमा कुल वस्तु निर्यात २१.७ प्रतिशतले घटेर ५५ अर्ब ६० करोडमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ५.५ प्रतिशतले गिरावट आएको थियो । पछिल्ला वर्षहरुमा नेपालबाट बस्तुको निर्यात घट्दै गइरहेको छ ।

यस अवधिमा भारततर्फ ३३.४ प्रतिशत र चीनतर्फ ३५.६ प्रतिशतले गिरावट आएको निर्यात अन्य मुलुकतर्फ भने ४.१ प्रतिशतले बढेको छ । भारततर्फ जिङ्क शीट, जिआई पाइप, जुस, पोलिष्टर यार्न लगायतका वस्तुहरू र चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक लगायतका वस्तुहरूहरूको निर्यात घटेको छ ।

तेस्रो मुलुकतर्फ ऊनी गलैंचा, तयारी पोसाक, पश्मिना, चिया लगायतका वस्तुहरूको निर्यात बढेकोे राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

समिक्षा अवधिमा कुल वस्तु आयात ४.६ प्रतिशतले घटेर रु. ५ खर्ब ९९ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८.१ प्रतिशतले वृद्धि भएको थियो ।

यस अवधिमा चीनबाट भएको आयात ९.५ प्रतिशतले बढेको छ भने भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.८ प्रतिशत र ४.१ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा रासायनिक मल, दूरसञ्चारका उपकरण तथा पाटर््स, तयारी पोसाक लगायतका वस्तुको आयात बढेको कारण चीनबाट भएको आयात बढेको हो ।

पेट्रोलियम पदार्थ, एमएस विलेट, रासायनिक मल, हटरोल्ड सिट ईन क्वायल लगायतका वस्तुहरूको आयात घटेको कारण भारतबाट समग्र आयात घटेको देखिएको छ भने चाँदी, हवाईजहाजका पार्टपूर्जा, खाने तेल, सुपारी लगायतका वस्तुहरूको आयात घटेको कारण अन्य मुलुकबाट भएको आयात घटेको हो ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाका र सुख्खा वन्दरगाह भन्सार नाका, वीरगञ्ज नाकाबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ ।

यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार नाकाबाट हुने आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । तातोपानी भन्सार नाकाबाट हुने व्यापार अझै सुचारु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment