Comments Add Comment

प्राधिकरणका सिइओलाई एमाले सांसदले र्‍याख-र्‍याख्ती पारे

Sushil-Gewali

२ असार, काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसदहरुले भूकम्प प्रभावितहरुले घर बनाउनका लागि अनुदान रकम नपाउनुको कारणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई प्रश्न सोधेर र्‍याख-र्‍याख्ती पारेका छन् ।

बिहीबारको एमाले संसदीय दलको बैठकमा सांसदहरुले प्राधिकरणको अहिलेको काम गराइबाट भूकम्प प्रभावितहरुले आगामी हिउँदमा पनि अस्थायी टहरोबाट छुटकारा नपाउने भन्दै अनुदान सम्झौता र अनुदान वितरणलाई तिब्रता दिन ज्ञवालीको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले भूकम्प प्रभावितहरुलाई राहत रकम नदिएको विषयमा चर्को आलोचना गरेपछि एमालेले ढिलाइको कारणबारे प्रष्ट पार्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई बिहीबारको संसदीय दलको बैठकमा बोलाएको थियो ।

बैठकमा एमालेका सांसदहरुले प्राधिकरणको काम गराइप्रति चर्को असन्तुष्टि जनाए । खासगरी भूकम्प प्रभावित क्षेत्रका सांसदहरुले आफ्नो पार्टीको नेतृत्वमा सरकार भएका बेला भूकम्प प्रभावितहरुले घर बनाउने अनुदान पाउन नसक्दा आफूहरुलाई गाउँ जान समेत अप्ठेरो परेको बताएका थिए ।

सांसदहरुले प्राधिकरणले गत माघ महिनामा पुनर्निर्माण महाअभियान सुरु गर्दा भूकम्प प्रभावितहरुमा वर्षा पहिले नै स्थायी घरमा बस्न पाउने आशा जागेको तर घर बनाउनका लागि प्राधिकरणले अनुदान रकम नदिएपछि सरकारको काम गराईमा प्रश्न उठेको एमाले सांसद गंगालाल तुलाधरले बताए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगत संकलनमा कुनै राजनीतिकरण नगरिएको बरु लगत संकलनका क्रममा घर नभत्केकाहरुले पनि भूकम्प पीडित भनेर नाम लेखाएको पाइएकाले काममा ढिलाइ भएको जवाफ दिएका थिए ।

उनले अनुदान वितरणमा ढिलाइ भएको स्वीकार गर्दै यसमा प्राधिकरणको कुनै दोष नरहेको दाबी गरे । समयमा नै आवश्यक संख्यामा कर्मचारी नपाएका कारण तथा कतिपय गाविसमा सचिवहरु नरहेकाले प्राधिकरणले भूकम्प प्रभावितहरुलाई अनुदान रकम दिन नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment