३ जेठ, काठमाडौं । कृषि प्रधान मुलुक नेपालमा भारतबाट ठूलो परिमाणमा चामल आयात हुन थालेको छ । हरेक महिना भारतबाट नेपाल भित्रिने चामलको परिमाण बढिरहेको छ ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा भारतबाट १८ अर्ब ८६ करोड रुपैयाँ बराबरको चामल आयात गरिएको छ । यो परिमाण गत वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो १० महिनामा १२ अर्ब ४० करोड रुपैयाँको चामल आयात गरिएको थियो । उक्त परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशत बढी रहेको थियो ।
अघिल्लो आव २०७१/०७२ मा ९ अर्ब ७५ करोड रुपैयाँको चामल आयात भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
माथिको तथ्यांकले मुलुक चामलमा परनिर्भर बन्दै गएको शंकेत गर्छ । कृषि प्रधान मुलुक भनिए पनि कृषियोग्य जमिनमा भौतिक संरचना बनाउने र बाँझो राख्ने प्रवृत्तिले धानको उत्पादन बढ्न सकेको छैन ।
भात खाने मुख बढ्दै जाँदा सोही अनुपातमा धानको उत्पादन हुन नसक्दा भारतको भर पर्नुपरेको विज्ञहरु बताउँछन् । कृषि मन्त्रालयले धानको उत्पादन बढेको तथ्यांक देखाउँछ । तर, भन्सार विभागको तथ्यांकमा चामलको आयात वर्षेनी हृवात्तै बढिरहेको देखिन्छ ।
मुलुकभित्र कृषियोग्य जमिन बाँझै रहन थालेपछि सरकारले यस विषयमा कडाई गर्न थालेको छ । सरकारले आगामी वर्षको बजेटमा कृषियोग्य जमिन बाँझै राख्ने व्यक्तिलाई दण्डित गर्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया 4