Comments Add Comment

आँप खाँदै हुनुहुन्छ ? स्वादिष्ट र विषादिरहित चिन्नुहोस् !

क्यान्सरका रोगीलाई समेत लाभकारी मानिन्छ आँप

mango (1)४ असार, काठमाडौं । ‘फलफूलको राजा’ आँप खाने सिजन सुरु भएको छ । बजारमा विभिन्न प्रजातिका आँप खरिद-बिक्री भइरहेका छन् । काठमाडौंमा पनि दैनिक ठूलो मात्रामा आँप भित्रिरहेको छ । अहिले काठमाडौंमा मुख्यतया मालदह, दशहरी, बम्बई र कृष्णभोग आँपको माग उच्च छ ।

फलफूल व्यवसायी संघका महासचिव रुद्रबहादुर पाठक यी चार प्रजातिको आँप नै बढी खोजिने भएकाले आपूर्ति पनि यसैको बढी भइरहेको बताउँछन् । उनका अनुसार मुख्यतया माल्दह आँपमा अधिकांश उपभोक्ता आकषिर्त छन् । धेरै गुलियो मन पराउनेहरुले भने दशहरी आँप खोज्छन् । यी आँपमा झुत्रा नलाग्ने र खान पनि स्वादिष्ट हुन्छ ।

पैरी, सरपुरी,  रुमानी, मलिका, लगंरा, नीलम, जर्दालु, गोपालभोग, गुलाब खस, अम्रपाली, खजरीलगायत प्रजातिका आँप पनि बजारमा छन् । आँपको प्रजातिअनुसार मूल्य फरक-फरक छ ।

बल्खुको फलफूल थोकबजारमा मालदह र दशहरी आँप किलोको ६० देखि ६५ रुपैयाँमै पाइन्छ । तर, बाहिर बजारमा भने यही आँपको मूल्य एक सय ५० रुपैयाँसम्म लिने गरेको भेटिएको छ ।

बल्खु फलफूल बजारमा अन्य प्रजातिका आँप ४५ देखि ५० रुपैयाँ किलोमै किन्न पाइन्छ । तर, तिनै आँप बाहिर किन्दा १ सय २० रुपैयाँ भन्दा माथि तिर्नुपर्छ ।

संघका महासचिव पाठक पछिल्ला दिनमा कार र मोटरसाइकल लिएर साधारण उपभोक्ता पनि एैकपटक १०/२० किलो भन्दा माथि आँप किन्न आउने क्रम बढेको बताउँछन् ।

‘यहाँ बाहिरभन्दा आधा सस्तो पर्ने भएकाले आँपका पारखीहरु खुद्रा ब्यापारीले लैजाने जस्तैगरी आँप किन्न आउनुहुन्छ’ उनी भन्छन्-‘यहाँबाट किनेको आँपमा कार्बाइड नहाली पकाइएको हुन्छ भनेर बुझ्नेहरु पनि सीधा यही आउँछन् ।’

आँपका फाइदा

टेक्सास एग्रिलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरुले आँपलाई अन्य फलहरुको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फाइदाकारी मानेका छन् । यस्तै आँपलाई छालाको चाउरीपन रोक्न समेत प्रभावकारी मानिन्छ ।

Mango exhibition(17)आँपमा हानिकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रसस्तै पाइन्छ ।

दुब्लोहरुका लागि वजन बढाउन समेत यसले सहयोग गर्छ । आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिजका लवण पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता शरीरलाई आवश्यक पर्ने पोषकतत्वहरु पनि पाइन्छन् । यो एन्टीअक्सिडेन्टको पनि मुख्य श्रोत हो, जसले शरीरमा कोषको क्षयीकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ ।

आँपको नियमित उपभोगले हृदय सम्बन्धी रोग, छिटै बुढ्यौली देखिने समस्या, क्यान्सरजस्ता स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्छ । आँपमा घुलनशील फाइबर पाइन्छ जसले रगतमा कोलेस्ट्रोलका मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ ।

अपच तथा अम्लीयपना जस्ता समस्या हटाउन पनि आँपको सेवन लाभदायक हुन्छ । गर्भवती र रक्तअल्पता भएका विरामीहरुले आँप खानु फाइदाजनक हुन्छ ।

कार्बाइड आँपदेखि सावधान

अहिले बजारमा आएका अधिकांश आँप नेपाली उत्पादन नै भएको व्यवसायी बताउँछन् । सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, कपिलवस्तुलगायतका क्षेत्रबाट आँप ल्याउने गरिएको छ । बोटबाट टिपेर ल्याएको आँपलाई काठको धुलोबाट पात दिने भट्टीमा राखेर पकाउने गरिएको महासचिव पाठक बताउँछन् ।

तर, बजारमा विभिन्न समूहले कार्बाइड राखेर पकाएको आाप पनि बजारमा आउने गरेका छन् । त्यसैले उपभोक्ता सचेत हुनुपर्ने उनको भनाइ छ ।

कार्बाइड प्रयोग गरिएको आँप प्राकृतिक रुपमा पकाएको भन्दा झण्डै ५ दिन अघि नै नष्ट हुने भएकाले धेरै ब्यापारीहरुले त्यसको प्रयोग छाडेको संघले जनाएको छ ।

मुसामा गरिएको एक अनुसन्धानले कार्वाइडको सेवनले फोक्सो र मिर्गौलामा धेरै नकारात्मक असर पर्छ । क्याल्सियम कार्बाइडले पानीसँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास बनाउँछ, जसले गर्दा मस्तिष्कमा अक्सिजनको मात्रामा असन्तुलन हुन जान्छ ।

मस्तिष्कमा अक्सिजनको मात्राको कमी हुँदा टाउको दुख्ने, आँखा धमिलो देखिने, रिँगटा लाग्ने, बोली लर्बराउने, सास फेर्न समस्या हुनेजस्ता असर देखिने चिकित्सकहरु बताउँछन् ।

क्याल्सियम कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वाथ्यमा समेत घातक असर पर्छ । गर्भवति महिलाले कार्बाइड धेरै सेवन गर्दा गर्भ तुहिने र क्यान्सरसमेत हुने सम्भावना हुने क्यानेडियन वैज्ञानिकहरुले गरेको एक अध्ययनले देखाएको छ ।

कार्बाइडले शरीरमा भएको पानीसँग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउँछ, जसबाट श्वास नली, घाँटी, आँखा र छालामा धेरै खालका समस्या देखा पर्छन् । धेरै मात्रामा खाँदा यसले आँखा पोल्ने, पाक्ने गराउनुका साथै अन्धो पनि बनाउन सक्ने विज्ञहरु बताउँछन् ।

कार्बाइड राखेको कसरी जान्नेे ?

क्याल्सियम कार्बाइड हालेर पकाइएका फलफूल सजिलै चिन्न सकिन्छ । यदि फलफूल बोक्राको सबै भाग एकनासले पहेंलो हुने गरी पाकेको छ भने त्यसमा कार्बाइड हालेको हुनसक्छ । किनकि प्राकृतिकरुपमा फलफूल प्रायः सबैतिर एकनासले पाक्दैनन् ।

आँप, केरा, अंगुरजस्ता फलफूलको भेट्नोमा अप्राकृतिक कालो दाग छ भने त्यसले कार्बाइड हालेको संकेत दिन्छ । हेर्दा पहेलो, खाउँखाउँ लाग्ने फलफूल पनि छाम्दा साह्रो र कम बासनादार हुन्छन्  । त्यस्तो हुनुको कारण पनि कार्बाइड हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment