Comments Add Comment

झण्डै ५० लाख पर्ने सुन बोकेर भारत जाँदै गर्दा यादव पक्राउ

Arrested-1
फाइल तस्वीर

५ असार, मलंगवा । प्रहरीले झण्डै ५० लाख रुपैयाँ पर्ने सुनसहित सर्लाहीबाट एक जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको औरही-२ बस्ने २१ वर्षीय अजयकुमार यादव छन् ।

उनलाई प्रहरीले ४९ लाख ११ हजार ७ सय ६५ रुपैयाँ बराबरको ९९९.८४० ग्राम अवैध सुन सहित पक्राउ गरेको हो ।

मलंगवा नगरपालिका-१० स्थित टावर चोकमा मलंगवा हुँदै भारतको सोनवर्सातर्फ बि.आर ३० एम-४०६९ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनलाई प्रहरीले शनिबार जाँच गर्दा सुनसहित पक्राउ गरेको थियो । मोटरसाइकलको डिकीमा प्लाष्टिकको पोको भित्र कागजले बेरीराखेको १२ वटा टुक्रामा रहेको सुन उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

लागू औषधसहित पक्राउ

धादिङको किरान्चोक-४ बस्ने ४५ वर्षीय बुद्धिमान बल तामाङलाई प्रहरीले साढे ४ किलो लागू औषध चरेशसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरी टोलीले शनिबार थाक्रे-६ हाप्सेचौरस्थित त्रिभुवन राजपथमा काठमाडौंतर्फ आइरहेको ना.४ ख ६०९१ नम्बरको यात्रु बसलाई जाँच गर्ने क्रममा तामाङको झोलाबाट चरेश बरामद भएको थियो ।

यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोजीबाट प्रहरीले शनिबार भारत घर भएका ३५ वर्षीय बब्लु भन्ने अक्तर अलि तेली, ३५ वर्षीय ईमरान अन्सारी र ४५ वर्षीय हनिफ तेलीलाई ४९ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर जस्तो धुलोसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चोरीको मोटरसाइकलसहित पक्राउ

यसैगरी चोरीको मोटरसाइकलसहित काठमाडौंको बनस्थली बस्ने कालिकोट घर भएका २१ वर्षीय गोविन्द गुरुङ्ग र १९ वर्षीय प्रकाश शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत बैशाख २७ गते ठमेलस्थित मुन लाईट क्याफेमा पार्किङ गरी रहेको बा.६३ प ६४४२ नम्वरको मोटरसाइकल चोरेर फरार रहेका उनीहरुलाई शनिबार प्रहरीले कागेश्वरी मनहरा नगरपालिका-१३ काँडाघारी गान्धी मोडबाट नम्वर प्लेट फेरेर भे ५ प ९४६७ नम्वरको प्लेट राखी चलाइरहेको अवस्थामा पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment