Comments Add Comment

‘विदुर’ले छाडेर गए, गंगा निःशब्द बनिन् !

भैरवनाथ गणदेखि काबुलको दूताबाससम्म

७ असार, काठमाडौं । मनमैंजुस्थित पूर्वसैनिक विदुरबहादुर क्षेत्रीको घरमा पुग्दा परिवारजन शोकमग्न अवस्थामा थिए । पत्नी गंगा निःशब्द टोलाइरहेकी थिइन् । छेउमा गंगाकी आमा उस्तै चिन्तित मुद्रामा थिइन् । आफन्तजन छेउमा बसेर दुःख साटिरहेका थिए ।

Bidur Subedi Family4

विदुरका जेठा छोरा विनय सुवेदीले ‘ए प्लस’मा एसएलसी पास गरेको धेरै दिन भएकै छैन । तर, १५ दिन अघिमात्रै घरबाट अफगानिस्तान हिँडेका आफ्ना पिता आतंकवादीको शिकार भएपछि विनयको खुशी अनन्त शोकमा बदलिएको छ ।

सोमबार अफगानिस्तानको काबुलमा आतंकवादीले गरेको आत्मघाती बम हमलामा १२ नेपालीको हत्या भयो । सो घटनामा मनमैंजुका विदुरबहादुर सुवेदीसमेत परे । नामले उनी ‘विदुर’ हुन्, तर पत्नी गंगालाई चाँहि ‘विधवा’ बनाएर सधैंका लागि गए उनी ।

करिब ७ वर्षदेखि अफगानिस्तानमा बस्दै आएका विदुर १५ दिन अघिमात्रै विदामा काठमाडौं आएर काबुल फर्किएका थिए । अब गंगासँग त्यही १५ दिन अघिको सम्झनामात्रै बाँकी छ आफ्ना पतिको ।

विदुरलाई अफगानिस्तान लैजाने रोजगारदाता एजेन्टले उनको मृत्यु भएको परिवारजनलाई जानकारी गराए पनि सरकारका तर्फबाट कसैले सम्पर्क नगरेको परिवारजन बताउँछन् ।

Bidur Subedi Family1

विदुरका घरका भित्तामा सैन्य पोशाक लगाएको तस्वीर झुण्डिएको छ । अफगानिस्तान जानुअघि उनी नेपाली सेनामा कार्यरत थिए । सेनाको भैरबनाथ गणबाट ०६५ सालमा अवकाश लिएका उनी ०६६ सालदेखि सेक्युरिटी गार्डका रुपमा अफगानिस्तान छिरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार विदुरसँगै ०६६ सालमा एकै पटक २२ जना युवा अफगानिस्तान छिरेका थिए । त्यसबेला उनीहरुले प्रतिव्यक्ति साढे ५ लाख एजेन्टलाई बुझाएका थिए ।

Bidur Subedi Family

विदुर सुरुमा अफगानिन्तानस्थित अमेरिकी दूतावासमा काम गर्थे । चार वर्ष अमेरिकी दूताबासमा सेक्युरिटी गार्डको काम गरेपछि उनी क्यानेडियन दूताबासमा सरेका थिए । उनी वर्षमा एकचोटि घर आउने गर्थे ।

विदुरका दुईभाइ छोरामध्ये जेठाले यसै वर्ष एसएलसी पास गरेका छन् भने कान्छा १० कक्षामा पढिरहेका छन् । सुवेदी परिवारले ओमशान्ति सम्प्रदायको धर्म मान्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment