चलचित्र ‘प्रेमगीत’ले चर्चा पाएपछि नायक प्रदिप खड्काको चर्चा पनि चुलियो । ‘स्केप’ चलचित्र आफै बनाएर अभिनय गर्दा उनले खासै चर्चा पाएनन् । तर, ‘प्रेमगीत’ चलेपछि भने प्रदिप ‘हाई हाई’ भए ।
चलचित्र चलेसँगै गुमनाम देखिएका प्रदिपको खोजी खुबै भयो । धेरै निर्माताले उनीमाथि लगानी गरेर चलचित्र बनाउन खोजे । यहि, विचमा प्रदिपले चलचित्र छाडेका, धेरै पैसा मागेका जस्ता गसिप मिडियामा आए ।
‘प्रेमगीत’को विदेश प्रदर्शनका लागि गएपछि प्रदिप चलचित्र क्षेत्रबाट हराएजस्तै भएका थिए । अहिले उनी नेपालमा छन् । अनलाइनखबरसँग कुरा गर्दै यी चलकेटी नायकले भने-‘म टाढा भएको हैन । सबैको सम्पर्कमा नै छु । तर, ‘प्रेमगीत २’मा काम गर्ने कुरा भएकाले अरु चलचित्र तत्काल नगर्ने मनस्थितीमा छु ।
प्रदिपका अनुसार उनलाई यो चलचित्रका लागि करिब २ महिना शरीर मेन्टेन गर्नुपर्नेछ । दशैपछि विदेशमा यो चलचित्रको छायांकन हुनेछ । यो चलचित्रको छायांकन सकेपछि भने आफूले अन्य चलचित्र गर्ने यी नायकले बताए ।
उनका बिषयमा विभिन्न खालका गसिप मिडियामा आए । चलचित्र ‘दर्पणछायाँ २’मा २ जना नायक भएकाले चलचित्र नगरेको, ५ लाख भन्दा बढी पारिश्रमिक मागेको जस्ता गसिप आएका थिए । यस बिषयमा प्रदिप भन्छन्-‘मैले कुनै पनि चलचित्रको कथा पढेको छैन । काम गर्ने कुरा नै भएको छैन ।’
प्रदिपले आफू पैसाको लोभमा लागेर जति पनि चलचित्र गर्ने सोचमा नभएको बताए । ‘प्रेमगीत’ चलेपछि आफूप्रति दर्शकको विश्वास बढेको भन्दै उनले दर्शकलाई धोका नदिने बताए ।
तपाई अब कस्तो चलचित्र गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने-‘मलाई मनपर्ने कथावस्तु भयो भने सबै गर्छु ।’ आफूले ‘प्रेमगीत २’का लागि कुनै पारिश्रमिक नमागेको उनले बताए ।
पारिश्रमिकका बिषयमा उनले भने-‘एउटा चलचित्रलाई ६ देखि ८ महिनासम्म समय दिदा म पनि बाँच्न सक्ने अवस्था हुनुपर्छ । तर, मेरा लागि कथावस्तु महत्वपूर्ण हो ।’
प्रतिक्रिया 4