Comments Add Comment

छिमेकी केन्द्रित परराष्ट्र नीति उच्च प्राथमिकतामा

Kamal-Thapa१९ असार, काठमाडौं ।  सरकारले मुलुकको परम्परागत परराष्ट्र नीतिमा परिवर्तन गर्दै छिमेकी केन्द्रित परराष्ट्र नीति कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । विगतमा दुई ढुंगाबीचको तरुललाई मूल मन्त्र बनाएर मुलुकले परराष्ट्र नीति सञ्चालन गर्दै आए पनि आगामी दिनमा परराष्ट्र नीति सञ्चालनलाई भिन्न रूपमा अघि बढाउने लक्ष्य सरकारले राखेको छ ।

काभ्रेको धुलिखेलमा शनिबार आयोजित अन्तक्र्रियामा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारको परराष्ट्र नीति सञ्चालनका चार प्राथमिकताअनुसार त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन परराष्ट्रका अधिकारीहरूलाई निर्देशन दिए ।

सरकारले परराष्ट्र नीतिको पहिलो प्राथमिकतामा छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध, दोस्रो प्राथमिकतामा नेपाली कामदारको संख्या बढी रहेका मुलुकसँगको सम्बन्ध, तेस्रो प्राथमिकतामा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा आबद्ध शक्तिराष्ट्र (स्थायी सदस्य) र दातृ मुलुकसँगको सम्बन्ध तथा चौथो प्राथमिकतामा कूटनीतिक सम्बन्ध रहेका अन्य मुलुकसँगको सम्बन्ध विस्तारलाई राखेको थापाले बताए । संविधानसभाबाट गत वर्ष संविधान जारी भएपछि मुलुक आर्थिक विकासको चरणमा अघि बढिरहेको सन्दर्भमा परराष्ट्र नीतिको सञ्चालन त्यसै दिशामा प्रभावकारी रूपमा अघि बढाउनु जरुरी रहेको थापाले बताएका थिए ।

अन्तक्र्रियामा सहभागी परराष्ट्र अधिकारीका अनुसार मन्त्री थापाले विगतमा परराष्ट्र नीति सञ्चालनका उद्देश्य राष्ट्रिय हित, सार्वभौमिकता, भौगोलिक अखण्डताका र स्वतन्त्रता रहने गरेको बताउँदै अबका दिनमा ती विषयसँगसँगै आर्थिक विकास र मुलुकको अन्तर्राष्ट्रिय छवि बढाउने कामलाई समेत विदेश नीतिको उद्देश्यमा समेटिएको जानकारी गराएका थिए ।

परराष्ट्रमन्त्री थापाले अफगानिस्तानमा हालै आतंकवादीद्वारा हत्या गरिएका नेपालीको शव नेपाल ल्याउन अन्य सरकारी एजेन्सीहरूको सहयोगमा परराष्ट्र मन्त्रालयले लिएको नेतृत्वदायी भूमिकाको समेत चर्चा गरेका थिए । ‘अफगानिस्तानमा नेपाली मारिएकाजस्ता घटना भविष्यमा पनि पर्न सक्छन् । त्यसका लागि परराष्ट्रको सक्रियतामा एउटा र्‌यापिड रेस्पोन्स टिम निर्माण गर्नुपर्छ जस्तो लाग्छ । यसका लागि गृहकार्य गर्नतर्फ तपाईंहरू लाग्नुहोला’, थापाले भनेका थिए ।

उनले विभिन्न मुलुकसँग उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान बढाउनुपर्ने मुद्दालाई विदेश नीतिको प्राथमिकतामा राख्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment