१९ असार, काठमाडौं । राजधानीबासीले मेलम्चीको पानी पिएर ‘प्यास’ मेट्ने सपना देख्न थालेको वर्षौं बितिसक्यो । सरकारी अधिकारीहरु बेला-बेला अब फलानो दिनबाट मेलम्चीको पानी आउँछ भनिरहेका छन्, तर अझैसम्म यो बाचा पूरा भएको छैन ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईलाई भेट्दा हाम्रो पहिलो प्रश्न थियो- काठमाडौंबासीले मेलम्चीको पानी कहिले पिउन पाउँछन् ?
भट्टराईले जवाफ दिए- ‘अर्को वर्ष दसैंमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने हाम्रो लक्ष्य छ ।’
यस्तो मिति पहिलोपटक तोकिएको भने होइन । ०७३ साल वैशाखमा मेलम्चीको पानी आउँछ भन्ने आफ्नो घोषणाले हावा आएपछि तत्कालीन सचिव किशोर थापाले सार्वजनिकरुपमा नै माफी मागेका छन् । योपटकको घोषणा पनि हावा नखाला भन्ने आधार के छ त महानिर्देशक भट्टराईसँग ?
उनको जवाफ छः हामीले यो कुन सर्तमा भनेका छौं भने कुनै अवरोध हुँदैन । मेरो कन्ट्राक्टरले महिनामा ९०० मिटर टनेल निर्माण गर्छ भन्यो भने साथीहरु यो त कसरी सम्भव हुन्छ भन्छन् । त्यसैले यो आफैंमा महत्वाकांक्षी लक्ष्य हो । तर, हाम्रो पछिल्लो ट्रास्क रेकर्डका आधारले यो सम्भव देखाएको छ । र, त्यो हिसाबमा हामीले दशैंमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउँछौं भनेका हौं । तर, भोलि के हुन्छ कसलाई थाहा छ र ?
लक्ष्य भेट्टाउन हम्मेहम्मे छ टनेलमा
मेलम्ची आयोजनाले तय गरेको योजना अनुसार महिनामा एक किलोमिटरका दरले सुरुङ खन्दा १० महिनामा सकिनु पर्ने हो । यदि महिनामा ९०० मिटरका दरले टनेल खनियो भने १२ महिनामा सकिन्छ
चाइनिज कम्पनी भागेपछि अहिले मेलम्चीको टनेल निर्माण कार्य इटालियन कम्पनीले गरिरहेको छ । चाइनिज कम्पनीले ५ किलोमिटर डाइभर्सन टनेल र डेढ किलोमिटरजति एडिट टनेलहरु बनाएको थियो । इटालियन कम्पनीले ११ किलोमिटरजति बनाएको छ । र, अब १० किलोमिटर टनेल खन्न बाँकी छ ।
यदि भूकम्प र नाकाबन्दी नभएको भए यो काम लगभग अन्तिम चरणमा पुगिसक्थ्यो । भट्टराई भन्छन्, ‘असोजतन्त्रका कारण इन्धनको अभाव भएपछि एक हजार कामदार कामविहीन भए । असोजबाट बन्द भएको काम माघसम्म कायमै रहृयो ।’
तर, पछिल्लो चार महिनामा चार महिनाको अवधिमा साढे ३ देखि चार किलोमिटर सुरुङ खनिएको छ । टेनल खेन्ने काममा सात टोली परिचालन गरिएको थियो । तर, १५० मिटरजति मात्रै बाँकी रहेकाले एउटा टोलीको कामलाई अहिले रोकिएको छ । बाँकी ६ वटा टोलीले भने काम गरिरहेको छ ।
कार्यकारी निर्देशक भट्टराईका अनुसार फेब्रुअरीदेखि अहिलेसम्म हेर्दा एक पटक ३० मिटर पुगेको थियो ।
मार्चमा ९१०, अप्रिलमा ७८५, मे ९२६ मिटर सुरुङ खनिएको छ । जुन महिनामा भने ८०० भन्दा बढी हुने देखिएन । कारण केही दिनदेखि समस्या आएर सुन्दरीजल क्षेत्रमा काम रोकिएको छ भने ‘रक कण्डिसन’ ले पनि काम गर्न गाह्रो भएको छ ।
औषतमा २८ मिटर टनेल दैनिक खनिएको छ । यो हाम्रो लक्ष्यभन्दा अढाइ सय मिटर कम भएको छ’ भट्टराई भन्छन्, ‘हाम्रो आवश्यकता के हो भने महिनामा एक किलोमिटर टनेल बनाउने हो । यसो गर्दा एक वर्षभित्र सकिन्छ । त्यसैले हामी के भनेका छौं भने छिटो गर, कुनै पनि बाहनामा कुनै काम रोकिनुहुँदैन ।’
मेलम्ची आयोजनाले तय गरेको योजना अनुसार महिनामा एक किलोमिटरका दरले सुरुङ खन्दा १० महिनामा सकिनु पर्ने हो । यदि महिनामा ९०० मिटरका दरले टनेल खनियो भने १२ महिनामा सकिन्छ । यो समय राखेर नै लक्ष्य तय गरिएको भन्दै भट्टराई भन्छन्, हाम्रो टार्गेट अर्को वर्ष जेठ अन्त्यसम्ममा टनेल सक्ने हो ।’
यस्तो छ तीन चरणको योजना
सुरुङ खनेर मात्र भएन, त्यहाँभित्र गर्नुपर्ने कामहरु धेरै छन् । त्यसैले तीन चरणको योजना बनाएर काम भइरहेको छ ।
जसअनुसार पहिलो सेक्सन सुन्दरीजलदेखि सिन्धुसम्म यो वर्ष २०१६ भित्र सक्ने प्रयास हुनेछ । यसमा माथि (सिन्धु) बाट ६५० र सुन्दरीजलबाट ११०० मिटर जति सुरुङ खन्न बाँकी छ ।
आयोजनाका अधिकारीहरुका अनुसार अप्रिल वा मार्चसम्ममा दोस्रो सेक्सनमा सुरुङ खनिसक्ने र यो अवधिमा पहिलो सेक्सनभित्रका कामहरु सकिइसक्छ । मेलम्चीका कार्यकारी निर्देशक भट्टराई भन्छन्, अन्तिम तीन महिनामा अन्तिम सेक्सनको काम सक्छौं र, अर्को वर्ष दसैंसम्ममा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्छौं भन्ने लक्ष्य छ ।’
उसो त मेलम्ची आयोजना सुरु गर्दा अढाइ वर्षमा टनेल खन्ने काम सकिन्छ भन्ने थियो । यो भनेको २१ किलोमिटर टनेल ८०० दिनमा सक्नुपर्ने हो । अर्थात दिनमा २५ मिटर ।
भट्टराई भन्छन्, ‘अहिले त्योभन्दा धेरै काम भएको छ । पहिले ठेकेदारका कारण र पछि भूकम्प र नाकाबन्दीका कारण गुमाएको समयलाई हेर्ने हो भने हामी टनेल निर्माणमा धेरै पछाडि परेका होइनौं । क्यालेन्डरमा यहाँ बन्नुपर्ने टनेल यहाँसम्म बनेन भन्ने मात्र हो, काम गरेको दिन गर्ने हो, धेरै पछि गरेका छैनौं ।’
सुरुङ बन्नासाथ पानी खान पाइन्छ ?
मानौं, सुरुङ खन्ने काम लक्ष्यअनुसार नै सम्पन्न भयो । तर, यति हुनासाथ काठमाडौंबासीले पानी खान पाउँछन् त ? यो भने सहज छैन । किनकि यो अवधिमा पाइपलाइन बिछ्याउने काम पनि सम्पन्न गर्नुपर्ने हुन्छ । भट्टराई भन्छन्, ‘जिम्मेवारीका हिसावले यो भनेको मेलम्चीको पानी सुरुङबाट सुन्दरीजलमा ल्याउने र महांकालचौरको पानी प्रशोधन केन्द्रका लागि सुन्दरीजलको भल्ब खोलिदिने हो ।’
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक भट्टराईले अनलाइनखबरसँग भने, ‘पीआइडी अर्को संस्था छ, जसले पाइपलाइनको काम गरिरहेको छ । यो पानी आउँदासम्म पाइपलाइनको काम सकिन्छ भन्ने हाम्रो अनुमान छ । यदि केही गरी पाइपलाइनको काम सकिएन भने पनि महाकालचौरसम्म हामीले पानी ल्यायौं भने बालाजु रिजर्व वायरमा पानी गएपछि बालाजु क्षेत्रका जनताले पानीमा सुधार भएको पाउनेछन् ।’
प्रतिक्रिया 4