Comments Add Comment

डा. गुप्ताबाट पीडित बिरामीहरु उजुरी बोक्दै सिआइबीमा

Dr.-Arun-Kumar-Gupta
डा. अरुणकुमार गुप्ता

१९ असार, काठमाडौं । धर्मस्थली बस्ने चित्ररेखा भण्डारीलाई केही महिनादेखि खुट्टा सुन्निने, दुख्ने लगायतका समस्याले सताइरहेको थियो । छोरा रघुनाथले उनलाई कलंकीस्थित अल्का अस्पतालमा पुर्‍याए ।

चित्ररेखाको समस्या सुनेपछि अस्पतालले डा. अरुणकुमार गुप्तासँग उपचार गराउन भन्यो । डाक्टरलाई भेट्ने समय चार दिन पछि मात्रै मिल्यो ।

गत चैत दुई गते आमालाई लिएर रघुनाथ अस्पताल पुग्दा डाक्टर गुप्ताका विरामीहरुको लामै लाइन थियो । लाइनमा बसेकाहरुको भिड हेर्दा ‘गतिलै डाक्टरकोमा ल्याइएछ’ भन्दै रघुनाथ मख्ख परे ।

पालो आएपछि चित्रलेखा डाक्टरकहाँ पुगिन् र आफनो सबै समस्या बताइन् । उनको समस्या सुनेपछि डा. गुप्ताले बाथ रोग लागेको निस्कर्ष सुनाए । सुरुमा केही इन्जेक्सन लगाउनु पर्ने र औषधि पनि सेवन गर्नुपर्ने भन्दै उनले उपचार सुरु गरे ।

रघुनाथ आमालाई ट्याक्सीमा राखेर धर्मस्थलीदेखि अल्का अस्पताल ल्याउने-पुर्‍याउने गर्न थाले । तर आमालाई ठीक हुनुको सट्टा रोग झन् बढ्न थाल्यो ।

रघुनाथले गत चैतदेखि करिब ४ महिना आमाको उपचार डा. गुप्ता मार्फत गराए । उनी भन्छन्, ‘त्यति बेलासम्म औषधि, विभिन्न जाँच र बालाजुको धर्मस्थलीदेखि कलंकीसम्म ट्याक्सीमा आउ-जाउ गर्दा मेरो ९० हजार सकियो । तर आमालाई ठीक हुनु त कता हो कता झन् थला पर्नुभयो ।’

लामो समयदेखि उपचार गराउँदा पनि ठीक नभएपछि आफूलाई डाक्टरमाथि शंका लागेको रघु बताउँछन् । नभन्दै तीनै डा. गुप्ता नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परे ।

असार ५ गते सिआइबीले देशका विभिन्न दस अस्पतालहरुमा एकसाथ गरेको अपे्रशनमा ३६ जना डाक्टरहरु पक्राउ परेको समाचार रघुले पनि सुने । पक्राउ परेकाहरुको सूची हेर्दा  डा. गुप्ताको नाम पनि देखेपछि रघु उजुरी गर्न सिआईबी पुगेका थिए ।

उनले भने, ‘आमाको रोग ठीक नपारेपछि मलाई त्यो डाक्टर माथि पहिले नै शंका थियो । सिआइबीले पनि पीडितलाई उजुर गर्न भनेको रहेछ । त्यसैले मैले पनि उजुरी गरेको हो ।’

आफूले क्षतिपूर्ति पाए पनि नपाए पनि सिआइबीले सही काम गरेको उनको भनाई छ । डाक्टर गुप्ताबाट आफू जस्ता थुपै्र व्यक्तिहरु पीडित भएको हुनसक्ने रघुनाथ बताउँछन् । उनले भने, ‘मैले चार दिन लगाएर समय लिएको डाक्टरले कतिको उपचार गरे होलान् र कतिलाई पीडित बनाए होलान् ?’

औषधिले औंलै नचल्ने भयो

२०७२ साल जेठमा गोरखा पालुङटारका भैरवबहादुर श्रेष्ठले पनि बाथरोगको उपचार डाक्टर गुप्ताबाटै गराएका थिए । तर भैरवको बाथ ठीक भएन, बरु उनको दाहिने हातका सबै औंला विस्तारै बांगो हुँदै गए र आखिरमा चल्दै नचल्ने भएका छन् ।

श्रेष्ठले पनि डा. गुप्ता पक्राउ परेको सूचना पाएपछि सिआइबीमा उजुरी गरेका छन् । बी एण्ड बी अस्पतालमा पनि उनै गुप्ताबाट उपचार गराएका वानेश्वरका रुद्र निरौलाले उजुरी गरेको सिआइबीका एसपी तारणि लम्सालले जानकारी दिए ।

करिब १५ वर्षदेखि डाक्टर बनेर काम गरिहरेका गुप्ताले मस्कोबाट एमबिबिएस र एमडी गरेको प्रमाणपत्र पेश गरेका थिए ।

अस्पतालले छानविन गर्नुपर्छः डिआइजी सिलवाल

अब हरेक अस्पतालले आफ्ना डाक्टरमाथि छानविन गर्नुपर्ने सिआइबीका प्रमुख डिआइजी नवराज सिलवाल बताउँछन् ।

उनी भन्छन्, ‘हामीले गरेको कार्वाहीको सूचना पाएर केही पीडित विरामीहरु त आएका छन् । यस्ता अरु कति होलान् ? त्यसरी मान्छेको जीबन बर्बाद बनाउने डाक्टरमाथि अस्पतालले छानविन गर्नु पर्दैन ?’

५ वर्ष कैद माग दावी

नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका डाक्टरहरुको मुद्दा सिआइबीले सरकारी वकिललाई बुझाएको छ । सिआइबीका एसपी तारणी लम्सालका अनुसार सबै डाक्टरहरुविरुद्ध उनीहरुले डाक्टरी पेशा गरेर कमाएको जतिको जरिवाना, त्यति नै बिगो र ५ वर्ष कैद सजायँको माग दावीसहित मुद्दा बुझाइएको हो ।

सिआइबीले अनुसन्धानपछि उपत्यका बाहिरका डाक्टरहरुलाई मुद्दाको मिसिलसहित सम्बन्धित जिल्लाको सरकारी वकिल कार्यालयलाई बुझाएको  छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका डाक्टरहरुलाई काठमाडौंमै राखिएको एसपी लम्सालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment