Comments Add Comment

प्रसिद्ध धार्मिकस्थल सेतीबेणी डुबानमा, स्थानीय रातभर जाग्राम

कालीगण्डकी 'ए' जलविद्युत आयोजनाको बाँधका सबै ढोका खोलियो

Flood-in-Kaligandati-Rever
कालीगण्डकी नदीको बाढीले डुबानमा परेको सेतीबेणी

२० असार, गुल्मी । शुक्रवारदेखि परेको वर्षाका कारण तीन जिल्लाको संगम प्रसिद्ध धार्मिकस्थल सेतीबेणी डुबानको खतरामा परेको छ । कालीगण्डकी नदीको जलस्तर अस्वाभाविकरुपले बढेपछि त्रसित भएका स्थानीय रातभर जाग्राम बस्दछन् ।

पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको संगमस्थल सेतीबेणीमा विश्वकै ठूलो शालिग्राम छ र यो पवित्र धार्मिकस्थल पनि हो ।

कालीगण्डकी नदीमा पानीको सतह बढेर सामान्य अवस्थाभन्दा पनि माथि आउन थालेपछि रातभर जाग्राम बस्नुपरेको स्थानीय अशोकसिंह पाण्डेले बताए । ‘बाढी कतिबेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको छ,’ पाण्डेले भने ।

देशकै सबैभन्दा ठूलो कालीगण्डकी ‘ए’ जलबिद्युत आयोजनाको बाँधका कारण सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । विश्वकै ठूलो शालिग्राम शिला बाढीले डुबाएको छ । वरपरका पाटी र सत्तल पनि डुबेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन तारको बाँध समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जानै नसक्ने अबस्था आएको छ ।

Kaligandaki-Rever-SetiBeniवर्षा र बाढीले स्याङ्जा तर्फको भागमा कटान शुरु गरेकाले जुनसुकै बेला पनि विपत्ती आउनसक्ने स्थानीय बताउँछन् ।

सेतीबेणीबजार नै डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको पिंढीखोलामा पर्ने बजार क्षेत्रका झण्डै डेढ सय ब्यापारी तथा सर्वसाधारणहरु त्रसित बनेका छन् ।

बाँधका सबै ढोका खोलियो

कालीगण्डकी नदीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको बाँधका सबै ढोका खोल्न लगाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । वर्षा नरोकिएमा जुनसुकै बेला पनि खतरा बढ्ने भएकाले स्थानीयलाई सचेत भएर बस्न आग्रह गरिएको उनले बताए ।

०६६ असोज २१ मा सेतीवेणी बजार क्षेत्र डुबानमा परेको थियो । उक्त घटनाले उनीहरुमा सधैंभर त्रास थप्ने गरेको स्थानीय पाण्डेले बताए । विगत ६ वर्ष अघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment