+
+
Shares

सेल्टर डुबेपछि आरक्षपीडित– ‘सरकारले लखेट्दै आएको थियो, अब त वर्षाले पनि लखेट्यो’

कञ्चनपुर जिल्ला वन डिभिजन कार्यालयनजिकै रहेको यो बस्तीमा ५०० परिवार पीडितहरू बस्दै आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते २०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको भीमदत्त–४ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितहरू बस्दै आएको भगतपुर सेल्टर अविरल वर्षाका कारण डुबानमा परेको छ ।
  • आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाका अनुसार उक्त बस्तीमा निकुञ्जबाट विस्थापित भएका ५०० परिवार बस्दै आएका छन् ।
  • प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले स्थलगत अवलोकन गर्दै पीडितहरूलाई सुरक्षित स्थानमा फर्किन आग्रह गरेका छन् ।

५ साउन, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितहरू बस्दै आएको कञ्चनपुरको भीमदत्त–४, भगतपुरस्थित सेल्टर डुबानमा परेको छ । अविरल वर्षाले गर्दा पुरै बस्ती डुबानमा परेको आरक्ष पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले जानकारी दिए ।

रोकायाका अनुसार जिल्ला वन डिभिजन कार्यालयनजिकै रहेको यो बस्तीमा ५०० परिवार पीडितहरू बस्दै आएका छन् । आफूहरू २०८२ असोजदेखि प्रमुख जिल्ला अधिकारी र जिल्ला वन कार्यालय प्रमुखसँग अनुमति लिएर बस्दै आएको रोकायले बताए ।

कञ्चनपुर–४ का वडाध्यक्ष सुशीलकुमार भट्ट जिल्ला भरीका पीडितहरू शुरु बस्न आउँदा अस्थायी रुपमा बिजुली र खाद्यान्न सहयोग गरेको बताउँछन् । उनी भन्छन्, ‘त्यस क्षेत्रमा बाढी–पहिरोको जोखिम त छैन तर होचो भाग भएकाले पहिलादेखि नै वर्षामा डुबान हुने गरेको छ ।’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले त्यसक्षेत्रको स्थलगत अवलोकन गरिसकेको बताए । कोइरालाले भने, ‘मैले सकेसम्म तपाईँहरू आआफ्नो घरमा फर्किनुस् भनेको छु । हाम्रो तर्फबाट गर्नुपर्न सहयोगका लागि त संधै तयार नै छौं ।’

संघर्ष समितिका अध्यक्ष रोकाया साढे दुई दशकदेखि सरकारले आफूहरूको मागलाई वेवास्ता गर्दै आएको बताए । उनी भन्छन्, ‘३३–३४ वटा आयोग बने तर हाम्रो समस्यालाई कसैले समाधान गरेन ।’

२०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुब्लाफाँटा वन्यजन्तु आरक्ष) क्षेत्रबाट विस्थापितहरू १७ वटा शिविरमा बस्दै आएका छन् । सरकारले पटक पटक आश्वासन दिएर पनि व्यवस्थापन नगरेपछि उनीहरू २०६४ सालदेखि शिविरमा बसोबास गर्न थालेका हुन् ।

ढक्का शिविरमा ६०४, तारापुरमा १८०, लल्लरेडाँडामा १३ परिवार बस्दै आएका छन् । बाणी, सिसमघारी, मालुबेला, सिमलफाँटा, वनहरा, बैशाखा, सुडा र बेलडाँडीमा गरि २ हजार ४७३ परिवार बसेको पीडितहरू बताएका छन् ।

जिल्ला संघर्ष समितिका अध्यक्ष रोकायाले सरकारले सहमति गर्ने तर कहिल्यै पालना नगरेपछि आफूहरू निरन्तर आन्दोलन हुनु परेको बताए । त्यही क्रममा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएपछि प्रमुख जिल्ला अधिकारीले अहिले बस्दै आएको भगतपुरमा बस्न मौखिक सहमति दिएको बताए ।

‘सरकारले त लखट्दै आएको थियो । यसपटक त वर्षाले पनि लखेट्यो,’ रोकाया भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?