+
+
Shares

सामान्य वर्षामै सिरहाको लक्ष्मीचोक क्षेत्र जलमग्न

सिरहा नगरपालिकाको चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत पर्ने लक्ष्मीचोक क्षेत्र जलमग्न हुँदा आवतजावतमा कठिनाइ भएको थियो ।

सुरेश राय सुरेश राय
२०८३ वैशाख १४ गते ८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहा नगरपालिका वडा नं. २ अन्तर्गत लक्ष्मी चोक क्षेत्रमा सामान्य वर्षामै पानी जमेर स्थानीयको दैनिकी प्रभावित भएको छ।
  • सडक डिभिजन कार्यालय लहानका इन्जिनियर अस्विन यादवले सडकको उचाइ कम र नालाको उचाइ बढी भएकाले पानी सडकमै जम्ने समस्या देखिएको बताएका छन्।
  • करोडौँ रुपैयाँ खर्चेर नाला निर्माण गरिएको भए पनि पानी निकासमा समस्या देखिएकाले स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन्।

१४ वैशाख, सिरहा । सामान्य वर्षामै सिरहा नगरपालिका वडा नं. २ अन्तर्गत लक्ष्मी चोक क्षेत्र जलमग्न हुँदा स्थानीयको दैनिकी प्रभावित भएको छ । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा हिजो रातिदेखि आज बिहानसम्म परेको वर्षाका कारण सडकमै पानी जमेको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको अवधिमा सिरहा नगरक्षेत्रमा २९.२ मिलिमिटर मात्र वर्षा भएको थियो ।

सो वर्षाका कारण लक्ष्मी चोक अगाडि माडर जाने बाटोमा पानी जमेर केही समय सवारी आवागमन नै अवरुद्ध बनेको थियो । पानीको निकास नभएपछि स्थानीयवासीले आफैं कोदालो प्रयोग गरी अस्थायी रूपमा नाला जस्तो बनाएर पानी निकास गरेका थिए ।

स्थानीय राजकिशोर साह बनियाँका अनुसार नाला निर्माण हुँदा पानी निकास सहज हुने अपेक्षा गरिएको थियो । ‘पहिलेभन्दा झन् समस्या बढेको छ, सामान्य वर्षामै घर अगाडि पानी जम्छ, बाहिर निस्किनै गाह्रो हुन्छ,’ उनले भने । उनका अनुसार यसले विद्यार्थीलाई विद्यालय जान समेत कठिन बनाएको छ ।

त्यस्तै, अर्का स्थानीय ललित साहले सडकमै पानी जम्दा दैनिक जीवन निकै कष्टकर बनेको बताए । उचित निकासको अभावमा पानी सडकमै थुप्रिन्छ, मजदुर, व्यापारी र विद्यार्थी सबै प्रभावित भएका छन्,’ उनले भने ।

धेरै स्थानमा सडक नै नदेखिने गरी पानी जम्दा केहीबेरसम्म सवारी आवागमनसमेत अवरुद्ध भएको उनको भनाइ छ ।

वडा नं. २ का अध्यक्ष राकेश यादवले समस्या समाधानका लागि पटक–पटक निर्माण व्यवसायी र सडक डिभिजन कार्यालय लहानलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको गुनासो गरे । ‘जनताले गुनासो गर्छन्, तर सम्बन्धित निकायले ध्यान दिँदैनन्,’ उनले भने ।

यता, सडक डिभिजन कार्यालय लहानका इन्जिनियर अस्विन यादवले नालाको उचाइ बढी र सडकको उचाइ कम भएकाले पानी नालामा जान नसकी सडकमै जम्ने समस्या देखिएको हो । स्थानीयको गुनासोपछि सडक स्तरोन्नतिका लागि पहल भइरहेको उनले बताए । उनले भने, ‘तत्कालका लागि नालामा सामान्य अवरोध हटाएर पानी निकास गर्न स्थानीयलाई आग्रह गरिएको छ ।’

आर्थिक वर्ष ०८१/८२ मा सडक डिभिजन कार्यालय लहानले करिब ८ करोड रुपैयाँको ठेक्का आह्वान गरेको थियो । जसअन्तर्गत पहिलो चरणमा भगवत ग्रुप कन्स्ट्रक्सन, काठमाडौंले ६ करोड रुपैयाँमा १,१०० मिटर नाला निर्माणको ठेक्का पाएको थियो भने दोस्रो चरणमा बोहदर माई एबी–वीरगञ्जले २ करोड रुपैयाँमा ५०० मिटर नाला निर्माणको जिम्मा पाएको थियो । दुवै निर्माण कम्पनीले काम सम्पन्न गरी भुक्तानी समेत लिइसकेको इन्जिनियर यादवले जानकारी दिए ।

तर, करोडौं रुपैयाँ खर्चिएर बनेको संरचनाले राहत दिनुको सट्टा थप समस्या निम्त्याएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले दीर्घकालीन समाधानसहित तत्काल सुधारका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?