२१ असार, काठमाडौं । पछिल्लो समयमा उपभोक्ताहरु मासु पसल, होटल, रेष्टुरेन्ट र जुस पसलको सरसफाइबारे सचेत हुन थालेका छन् । तर, तपाईं दूध तथा दूग्धजन्य पदार्थ खरिदबिक्री गर्ने डेरी पसलको सरसफाइको अवस्थाबारे कतिको सचेत हुनुहुन्छ ? उपत्यकाका अधिकांश डेरी पसलले आफ्नो सरसफाइ र दूध तथा दुग्धजन्य पदार्थको शुद्धतामा खासै चासो नदिएको भेटिएको छ ।
सरकारले उपत्यकाका तीन जिल्लाभित्रका डेरी पसलहरुमा गरेको अनुगमनमा अधिकांशले सरसफाइ, दूग्ध सुरक्षा र शुद्धतामा हेलचक्र्याँइ गर्ने गरेको भेटिएको हो ।
पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअनुरुप केन्द्रीय गाई भैँसी प्रवर्द्धन कार्यालयले एक हप्ता लगाएर काठमाडौंका १४६ वटा साना डेरी पसलहरुको अनुगमन सकेको छ । यसक्रममा काठमाडौंका ५१, ललितपुरका ४३ र भक्तपुरका ५२ वटा डेरी पसलहरु छड्केमा परेका थिए ।
उपत्यकाका ७ प्रतिशत डेरी पसलमात्रै सरसफाइयुक्त रहेको पाइएको छ । १४६ डेरी पसल अनुगमन गर्दा ११ वटा डेरी पसलमात्रै सरसफाइ शुद्धताका हिसाबले ‘राम्रो’ वर्गमा राखिएको कार्यालयका प्रमुख बरिष्ठ पशुविकास अधिकृत रेशम ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए ।
‘८१ वटा पसलहरुलाई ‘मध्यम’ स्तरको बर्गीकरण गरिएको छ भने ज्यादै फोहोर र शुद्धतामा कमजोर भएका ५४ वटालाई ‘कमसल’को सूचीमा समावेश गरिएको छ,’ उनले भने ।
काठमाडौंका ७ र भक्तपुरका ४ वटा पसलहरु मात्रै राम्रो बर्गमा सूचीकृत भएका छन् । ललितपुरका एउटा डेरीले पनि सरसफाइका न्युनतम् मापदण्ड पूरा गरेको नभेटिएको कार्यालयका प्रमुख ज्ञावालीले जानकारी दिए ।
काठमाडौंका २० डेरी पसल ‘मध्यम’ मा सूचीकृत भएका छन् भने २४ पसललाई ‘कमसल’मा राखिएको छ । ललितपुरका २६ डेरी पसल ‘मध्यम’ बर्गमा परेका छन् भने १७ वटालाई न्यून स्तरको सूचीमा राखिएको छ ।
भक्तपुरमा ३५ वटा पसलले मध्यम स्तरको सरसफाइ कायम गरेको भेटिएको छ भने १३ वटाले सरसफाइमा अधीक हेलचक्र्याइँ गरेको टोलीले ठहर गरेको छ ।
‘एक महिनाभित्र पसलमा सरसफाइ शुद्धताका लागि आवश्यक पूर्वाधार राख्न समय दिएका छौं’ ज्ञवालीले भने- ‘उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी दूध तथा दूग्धजन्य पदार्थ बेच्न पाइँदैन ।’
उनले अबको एक महिनापछि ती सबै पसलमा फेरि अनुगमन गरिने र नसच्चिए कारवाही प्रक्रिया अघि बढाइने बताए ।
यसैगरी विभिन्न पसलहरुबाट दूधको नमूना लिएर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्यावमा पठाइएको छ । योबारे रिपोर्ट आएपछि काठमाडौंमा डेरीहरुमा बेचिने दूधको गुणस्तर कस्तो छ भन्ने पत्ता लाग्ने प्रमुख ज्ञवालीले बताए ।
अनुगमनमा भेटिएका तथ्य
१. अधिकांश पसलले न्यनतम् सरसफाइ र दूधको शुद्धता तथा सुरक्षामा ध्यान नदिएको पाइयो ।
२. धेरै पसलले डिस्प्ले हुने ठाउँलाई देख्दा सफाजस्तो बनाएका छन् । तर, दूध प्रोसेसिङ गर्ने ठाउँ, मेसिन र प्रयोग भएका भाँडा तथा उपकरणहरु सफा नगरेको देखियो ।
३. धेरै पसलहरु सफाइमा ध्यान नदिँदा अस्वभाविक रुपमा गन्हाएका थिए । तर, यसमा डेरी सञ्चालकसँगै किन्न आउने उपभोक्ताले पनि चासो नदिएको पाइयो ।
४. धेरै पसल कानुनअनुसार दर्ता पनि भएका छैनन् । मनलाग्दी तवरले खोलिएका पसलहरुमा बढी समस्या भेटियो ।
५. किराना तथा मरिदाका सामानसँगै राखेर पनि दूग्धजन्य पदार्थ बेच्ने गरेको पनि पाइएको छ । दूध संवेदनशील पदार्थ भएकाले यसोगर्दा शुद्धतामा असर पर्न सक्ने देखिएको छ ।
६. केही डेरीमा प्लाष्टिकको भाँडा नै प्रयोग गरेर दूध तथा दूग्धजन्य पदार्थको प्रोसेसिङ गरेको भेटियो । यो उपभोक्ताका लागि हानीकारक मानिन्छ ।
७. धेरै डेरी साँघुरो ठाउँमा सञ्चालन गरिएका छन् । सरसफाइमा ध्यान नदिँदा यस्ता पसलहरुले विक्री गरेका पदार्थहरुको शुद्धतामा प्रश्ज उब्जिएको छ ।
८. अधिकांश दूध पसल सञ्चालन गर्ने अधिकांशले डेरीफुड सम्बन्धी तालिम लिएको भेटिएन ।
९. अधिकांश डेरी पसलमा डीप-फ्रीज भए पनि त्यसमा निरन्तर चल्ने गरी बिजुलीको प्रवन्ध गरेको भेटिएन । दूध १५ डिग्री भन्दा धेरैको तापक्रममा राख्दा छिटै अम्लीलयकरण भएर जम्छ । बढी तापक्रममा ब्याक्टेरिया पनि उत्तिकै बढ्ने भएकाले दूध फ्रीजमा राख्नु अनिवार्य जस्तै हुन्छ । फ्रीजमा निरन्तर बिजुली नजोड्दा कोल्ड मेन्टेनमा डेरी पसलहरु कमजोर देखिएका छन् ।
१०. डेरीमा बस्नेहरुले हातमा पञ्जा, शरीमा एप्रोन लगायत लगाउने गरेको भेटिएन । यसबाट दूध तथा दूग्धज्न्य पदार्थमा बाहिरी संक्रमणको खतरा बढी हुन्छ ।
११. कतिपय पसलमा दूध तथा दूधजन्य पदार्थमा अस्वभाविक दरमा पानी तथा मिसावटयुक्त वस्तुहरु देखिए ।
१२. साना डेरी पसलले कहाँ कस्तो स्रोतबाबाट दूध ल्याउँछन् भन्ने पनि स्पष्ट छैन । ती दूध तथा दूग्धजन्य पदार्थको शुद्धता ल्यावको रिपोर्ट आएपछि मात्रै थाहा हुनेछ ।
प्रतिक्रिया 4