Comments Add Comment

छोरीको प्रश्नले रुवाएको मन

६ वर्षकी छोरीले सोधिन्, हाम्रो सम्पत्ति कति हो ?

गाउँको गरिब परिवारमा जन्मेका कारण मेरा निम्ति आफ्नै जीवन कठिन र चुनौतिपूर्ण थियो । सम्पत्तिका नाममा दुईवटा दुहुना भैँसी, केही कुखुराका भालेपोथी (चल्ला) र एउटा बिरालो । चारवटा हाँस अनि एक हल मेलो भएको मकैबारी ।

Dil-Nisani-Magar
दिल निसानि मगर

गरिब परिवार भन्नुको प्रमाण यिनै थिए । पानी पिउने अम्खोरा भने पित्तलको थियो । परिवारको प्रतिष्ठा बढाउने त्यो पित्तलको ओम्खोरा अहिलेसम्म चुलाको आडमा उभिएकै छ ।

मिति थाहा छैन । तर, जनगणना संकलन गर्दै गरेका सरकारका प्रतिनिधिहरुलाई आफ्नो सम्पत्ति विवरण बताउँदा मलाई चराचरुङ्गी उड्ने गरी डाँको छाडेर रून मन लागेको थियो ।

त्यतिखेर मेरो उमेर त्यस्तै १५ बर्षको हुँदो हो । उनीहरुले पिर्का, डोको, नाम्लो, सेगु, ओदानलाई सम्पत्तिको दर्जा दिन चाहेकै थिएनन् । यसैमा मेरो गम्भीर असहमति थियो ।

भैंसी सम्पत्ति हुने तर डोको, नाम्लो किन नहुने ? यस्तो प्रश्न सुनेपछि सुकुटे शरीरमा नीलो रङको साडी लगाएकी महिलाले खिस्स हाँस्दै ‘यो केटा त निकै ज्याद्रो रहेछ’ भन्दै मेरो अपमान गरेकी थिइन् ।

मेरो अपमानको जगमा अट्टाहस कोलाहलता थपेर सेक्स अपील गरेका थिए मेरुडण्डतिर कालो छाता झुन्ड्याएर आएका महिलाप्रेमी कर्मचारीहरुले । सायद ती नायब सुब्बा हुन् वा खरदार हुन् ।

छ बर्षकी मेरी छोरी खुसीले अचानक सम्पत्ति विवरण सोधेर बाबालाई अफ्ठ्यारोमा पारेकी छिन् ।
असारको महिना, शनिबार बिहानैदेखि झरी परिरहेको थियो । दोस्रो विश्वयुद्धमा सहभागी भएर फर्केजस्तै जुत्ता नखोलेर म विस्तरामा लम्पसार परेको थिएँ

मैले आफ्नो जीवनी लेखिरहेको छैन । म सबैभन्दा घृणा त्यो लेखकलाई गर्छु, जसले मैले यो गरें, त्यो गरे, फलाना र ढेस्कनालाई यसो भनें भनेर वाहियात शिलसिला लेख्छ । तर, सरकारलाई सम्पत्ति विवरण बुझाएको त्यो बाल्यकालको संवेदनाहीन संस्मरण आज झन् जटिल बनेर बल्झिएको छ । मनको उकुसमुकुसतालाई शब्दमा वयान गर्ने लतमा फसेको चार वर्ष पुगिसक्यो ।

छ बर्षकी मेरी छोरी खुसीले अचानक सम्पत्ति विवरण सोधेर बाबालाई अफ्ठ्यारोमा पारेकी छिन् ।

असारको महिना, शनिबार बिहानैदेखि झरी परिरहेको थियो । दोस्रो विश्वयुद्धमा सहभागी भएर फर्केजस्तै जुत्ता नखोलेर म विस्तरामा लम्पसार परेको थिएँ । हृदय होस्ल्याङ्ग भएको थियो । आधि खुट्टा खाट बाहिर लत्रिएको र टाउको मात्रै सिरानीमा अल्भिmएको स्थिति मलाई एकदमै पीडादायी लाग्छ । पीडाको अग्लो सगरमाथा उक्लिँदा उक्लिँदै म आफैं होचिएँछु जस्तो लाग्छ । एकबारको जुनीमा दुःखको बेस क्याम्पमा म कति लडें, कति चिप्लिएँ, गनी साध्य छैन ।

आडैमा बसेर होमवर्क लेखिरहेकी छोरीले सोधिन्- “ए बाबा हाम्रो सम्पत्ति कति छ ?”

सुरुमा त लाग्यो, उनको पाठ्यक्रममा यस्तो प्रश्न रहेछ । यो पाठ्यक्रम सुधार गर्नुपर्ने आवश्यकता देखियो । मेरो दिमागमा करेन्ट हान्ने कुनै पनि प्रश्न पाठ्यक्रममा हुनु ठीक होइन ।

अर्को मनले सोचें, आमाको प्रभावमा परेर यस्तो प्रश्न गरेकी होलिन् । कहिलेकाँहि उनकी आमालाई चुमचुम हुन्छ । सिरकले मुख छोपेर मुसुमुसु गर्न नपाउँदै छोरीले सिरक थुतिदिइन् । मलाई यसरी लाज लाग्यो, मानौं कि दुलहीको घुम्टो उघारिएको छ ।
छोरीले पुनः त्यही प्रश्न दोहोर्‍याइन् -“बाबा भन्नुहोस् न प्लिज, हाम्रो सम्पत्ति कति छ ?”

“दुईवटा दुहुना भैँसी, केही खुखुराका भालेपोथी -चल्ला) र एउटा बिरालो । चारवटा हाँस अनि एक हल मेलो भएको मकैबारी । र, परिवारको प्रतिष्ठा बढाउने त्यो पित्तलको ओम्खोरा अहिलेसम्म पनि चुलाको आडमा उभिएकै छ । पिर्का, डोको, नाम्लो, सेगु, ओदान सम्पत्तिको दर्ज हुन सकेका छैनन् । हिजो र आजको परिस्थितिमा कुनै खास भिन्नता आएको छैन भन्नुहोस् । परिणामहरु केही थपघट भएका चाँहि हुन सक्छन् ।

बिहे गर्नुभन्दा अगाडि मैले तिम्री आमालाई भनेको थिएँ- मेरो सम्पत्ति नाक, आँखा कान, मुख, दाँत, कपाल, हातखुट्टामात्रै हुन्

म लाहुरबाट आँउदा तिमीले कार्टून हेरिरहेको एलसीडी ल्याएको हुँ । बाङ्गो परेको कपडालाई सीधा बनाउने आइरन पनि किनेको थिएँ । चार हातभन्दा लामो एउटा अजिबको टर्चलाईट समेत छ, जसलाई उज्याउलो देखाउन ६ थान जति ब्याट्री चाहिन्छ । जीवनका हिसाब किताबहरु राखँूला भनेर एउटा दराज किनेको छु, जहाँ ०५६ सालदेखिका मेरा पुराना लुगाहरु छन् । माओवादी हुँदा घाँटीमा झुण्ड्याएर हिँडेको पुरानो रेडियो अझैसम्म त्यही दुःखी दराजभित्र छ ।

मलाई पुराना चिजको माया लागेर आउँछ प्रिय छोरी !

बिहे गर्नुभन्दा अगाडि मैले तिम्री आमालाई भनेको थिएँ- मेरो सम्पत्ति नाक, आँखा कान, मुख, दाँत, कपाल, हातखुट्टामात्रै हुन् । गाउँको घरमा के सम्पत्ति हुन्छ ? सबैलाई थाहा छ । मानिसका चल्लाहरु त नयाँ-नयाँ जन्मिन्छन् भने ती कुखुराका चल्लाहरू अस्थायी सम्पत्ति हुन् । घर नजिकै घट्ट छ । आटो पीठो पिसिन्छ घट्टमा । राजीखुसी छ भने बिहे गरौं, होइन भने म नारायणकाजीजस्तै ब्रह्मचारी भएर बस्न चाहन्छु ।

तिम्री आमा राजीखुसी भएपछि तिमी जन्मियौ, त्यसैले तिम्रो नाम पनि खुसी राखिदिएको हुँ ।  पि्रय छोरी, यिनै हुन् मेरा सम्पत्ति । मैले भनें ।

छोरी खिस्स हाँसिन् । म आफ्नी प्राण प्यारी छोरीलाई सुकुटे शरीरमा नीलो रङको साडी लगाउने महिलाको दाँजोमा कसरी राखूँ ?
अस्ति भर्खरजस्तो लाग्छ, हलहलहल गर्दै काखमा राखेर दुनोट खुवाएको । तातेताते गराउँदै बाबा भन्ने शब्द बोल्न सिकाएको । आˆनै ज्याकेटभित्र राखेर न्यानो बनाएको । छातीमा चिसो घुस्छ भन्दै कोइलाको रापमा सेकिदिएको । छोरीको छाती घ्यार-घ्यार भएर निमोनिया हुदाँ मलाई त आफ्नै श्वास-प्रश्वास बन्द भएको झै लाग्छ । छोरीका आँखा, निधार, कान र खुट्टाहरु दुरुस्तै मेरा जस्ता छन् । म गोत गएका छन् ।

बिहे हुनुभन्दा पहिले म सेक्सको भन्दा पनि सन्तानको कल्पनामा रमाइरहेको हुन्थें । सपनामा भावी सन्तानको अनुहार देख्ने मनुष्य संसारमा केवल ममात्रै हुँ किजस्तो लाग्छ । हाम्रो गाँउमा विहे गरेर आएका भाउजूहरुका नानी भुलाइदिदाँ उनीहरुको मेलापात लम्बिन्थ्यो । बच्चाहरुलाई अति माया गर्ने स्वभावका कारण हुनसक्छ, दोकानमा कतै गुडियाहरु देख्दा एकटकले हेरिरहन्थें । त्यसैले म मेरी छोरीलाई धेरै माया गर्छु ।  यसबखत भने मेरी छोरीको प्रश्नप्रति मलाई गम्भिर चासो छ ।

छोरीले अध्ययन गर्ने बोडिङ्ग स्कुलका हेडमास्टरलाई मैले फोन गरेर सोधें- ‘छोरीले किन मलाई अप्रत्याशित प्रश्न गरिन् ?’ तर, त्यो एउटा आवेगको असफल प्रक्षेपण थियो ।

हेडमास्टर अक्क न बक्क परे । बरा, केही बोलेनन् ।

मैले भने- ‘हेर्नुहोस् हेडमास्टरजी, मेरो जीवनको आफ्नै एउटा प्रिन्सिपल छ । त्यो हो, म जे छु, ठीक छु । म गलत भएँ भने मानव जीवनको सभ्यता नै गलत हुन्छ । बहुकोषिय जीवहरुको सभ्यता नै धरासयी हुन्छ । म आज भन्न चाहान्छु-मेरी छोरीले के सिकुन् ? बाबाको सम्पत्ति विवरण भुलेर पनि कहिल्यै नसोधुन् । संसारमा धनी र गरिब दुबै मानिसहरु हुन्छन् भन्ने बुझून् । बाबालाई चन्ऽमाबाट परीक्षणका लागि ल्याइएको होइन भन्ने सिकुन् ।

हेडमास्टरले कुख्यात डाँकाका अगाडि अन्तिम अवस्थामा जीवनको भिख मागेजसरी कारुणिक लवजमा ‘हुन्छ दिल सर’ भन्दै फोन काटे ।

सम्मानको भावमा सर भन्नु र डरका कारण सर भन्नु उस्तै होइन । केही दिनअगाडि उहाँसँग भेट हुदाँ म त दिल सरलाई एकदमै सम्मान गर्छु भन्दै मिलाउन दिएको हात १० मिनेटसम्म समातेर उभिएका थिए ।

तर, छोरीले अझै प्रश्न गर्न छाडेकी छैनन् ।

‘तपाई काठमाण्डौ बस्नुहुन्छ, घर कहाँ किन्नुभएको छ ? अनि मलाई हेरविचार गर्न छाडेर सधैं बाहिर घुमिरहनुहुन्छ, तपाईको गाडी कस्तो छ ? घरमा पनि रातदिन किताबमात्रै पढ्नुहुन्छ, कुन कलेजमा पढाउनुहुन्छ ? बैंकमा ब्यालेन्स कति छ ? के सधैंभरि मलाई राम्रो लुगा र मीठो खाना किन्न सक्नुहुन्छ ? भविश्यमा मलाई के बनाउँछु भन्ने योजना छ ?’

म विनम्रताका साथ जवाफ दिन्छू- ‘काठमाण्डौ बस्छु, तर भाडाको घरमा । तिमीलाई हेरविचार गर्न छाडें भने सम्झ बाबा बिरामी भएर मरिसक्यो । सार्वजानिक गाडी चढ्दा आनन्द आउँछ । घरमा बस्दाको समयमा लेखपढ गरे पनि कुनै कलेजमा पढाउन्न । प्रर्याप्त बैंक ब्यालेन्स छैन । किनिदिन्छु, संसारका सबै सुन्दर चिजहरु किनिदिन्छु तिम्रा लागि । मीठो मीठो खुवाउँछु मेरी छोरीलाई । भविश्यमा तिमीलाई ठूलो मान्छे बनाउँछु । ˆलोरेन्स नाइटिङ्गेल दिदीभन्दा पनि ठूलो बनाउँछु ।’

छोरीले बाबालाई बुझेझैँ आँखा चिम्लिन्छिन् ।

छोरीले आँखा चिम्लिँदा मेरो मगजको ढक्कन उघारिन्छ । परिवार ठूलो कि देश ठूलो भन्दाभन्दै जीवनको मध्यविन्दुमा आइपुगें म । यो एउटा यस्तो मध्यविन्दु हो कि मरुभूमिमा हिमपात होलाजस्तो । हिमालको शीरमा रेगिस्तानको बालुवा उड्लाजस्तो । आगोमा बरफका टुक्राहरु जम्लान् जस्तो । अनि जिरो डिग्रीमा जिन्दगीका बाँकी पलहरू पग्लेलान् जस्तो ।

तिहुन खाने बटुका त के हो र ? टुटीजान सक्छ, फुटीजान सक्छ । आजकल मेरो टाउको पनि त्यही तिहुन खाने बटुकाजस्तो लाग्छ जन्मिनु त नाफाको शुक्रकीट भएर । कामकाज केही नहोस्, केवल क्यालकुलेटरमा ब्याज थुप्रिरहोस् । एक घण्टी फोन घुमाएका भरमा विश्वका धेरै भागहरू घुमुन् । उत्तरी र दक्षिणी गोलार्ध एकै ठाउँ जोडिन आइपुगुन् ।

प्रश्न गर्ने छोरीको कुनै कमजोरी छैन । मलाई थाहा छ- वाल्यकालको मष्तिस्क प्रश्नहरुको विशाल कारखाना हो । उनी पनि भावना, विचार, प्रेम र सम्भावनाबाट निर्देशित छिन्

छोरी झन् बुझ्ने भएपछि म यी वाणीहरु भनिरहनेछु ।

प्रश्न गर्ने छोरीको कुनै कमजोरी छैन । मलाई थाहा छ- वाल्यकालको मष्तिस्क प्रश्नहरुको विशाल कारखाना हो । उनी पनि भावना, विचार, प्रेम र सम्भावनाबाट निर्देशित छिन् । त्यसैले म छोरीको प्रश्नलाई पूर्णरुपमा सम्मान गर्न चाहान्छु । छोरीका कैयौं प्रश्नहरुलाई सम्वोधन गर्न अब उप्रान्त म जीवनको नयाँ पाठ सुरुवात गर्छु, जुन पाठमा जीवनका अङ्क गणितहरु समेटिएका हुन् ।

पक्कै पनि आफ्नो सन्तानलाई कुन दिशामा उडाउने भन्ने बारेमा तिनका अभिभावकहरु पाइलटजस्तै हुन् । उनीहरुको आर्थिक श्रोत, आम्दानी र पारिवारिक पृष्ठभूमि रेडियटर र ककपिट हो । सन्तानहरु जहाज हुन् । आँधीको वीचमा डाइरेक्सन गुमाएर हचुवाको भरमा उडिरहेको जहाजलाई पहाडको टाकुरामाथि सुरक्षित अवतरण गराउने पाइलट बन्न चाहान्छु म ।

अवतरणका क्रममा टायरको हावा फुस्किएर यदि म दुर्घटना परें भने प्रिय छोरी, खुसीका लागि यी शब्दहरु दस्तावेज बनुन् ।
एकबारको जुनीमा दुःखी हुनु हुन्न !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment