Comments Add Comment

चितवनमा व्यवसायिक केरा खेती फस्टाउँदै, १ अर्ब बढीको कारोबार

Chitwan-Kera-Kheti-2

२२ असार, चितवन । चितवनमा पछिल्लो समय व्यवसायिक केरा खेती फस्टाउन थालेको छ । गएको वर्षमात्र १ अर्ब रुपैयाँ बराबरको केरा बिक्री भएको छ । जसबाट किसानले २५ करोड नाफा कमाउन सफल भएका छन् ।

चितवन केरा उत्पादक संघका अनुसार गत वर्ष करिव ४५ हजार मेक्ट्रिक टन केरा उत्पादन भएको छ । अघिल्लो वर्ष ८० अर्बको केरा बिक्री गरी किसानले २० करोड कमाउन सकेका थिए ।

यो वर्ष भने केरा खेतीबाट ३० करोड नाफा हुने अनुमान गरिएको चितवन केरा व्यवसायी समितिका अध्यक्ष विष्णुहरि पन्तले बताए । धान, मकै, गहुँ, कोदो लगायतका उपभोग्य बस्तुको उत्पादन गर्दा समय र लागत उच्च हुने हुँदा केरा खेतीतर्फा आकर्षित भएको किसानहरुको भनाई छ ।

चितवन व्यवसायिक केरा खेतीमा अब्बल बन्दै गएको छ । जिल्लामा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रमले केरा खेतीमा विस्तार आएको हो । चितवनको रत्ननगर, पदमपुर, पिठुवा, बछौली, जुटपानी, जगतपुर, ठिमुरा, चैनपुर, खैरहनी, कुमरोज, माडी लगायतका ठाउँहरुमा व्यवसायिक केरा खेती गरिँदै आएको छ ।

पाँच वर्षमा जिल्लामा केराखेती तेब्बर क्षेत्रफलमा विस्तार भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । ५ वर्षअघि जिल्लामा ८ सय ५४ बिहागामा क्षेत्रफलमा मात्रै केरा खेती हुने गरेकोमा हाल आएर २५ सय विगाहमा व्यवसायिक केरा खेती फैलिएको कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले बताए ।

Chitwan-Kera-Kheti

जिल्लामा ३ सय किसान रहेकामा अहिले बढेर ६ सय २० किसान केरा खेतीमा संलग्न भएका छन् । ६ बर्ष आगाडि १५ देखि २० बिगाहा क्षेत्रमा केरा लगाएका व्यवसायी यज्ञ सुवेदी लक्ष्मणले अहिले ५० बिगाहा क्षेत्रफलमा केरा खेती गदै आएको बताए ।

केराको परिकारमा आकर्षित

चितवनमा केराको परिकारहरु बनाउनेतर्फ पनि किसानहरु आकर्षित बन्दै गएका छन् । केराबाट मःमः, चिल्ली, खिर, पकौडा, फिङ्गर चिप्स, अचार, रोटी लगायतका खाद्य परिकार बनाउने गरिन्छ ।

चितवनमा पहिलेदेखि नै केरा खेती गरिँदै आएको भएता पनि व्यवसायिक रुपमा भने २०५२ सालदेखि केरा खेती भएको पाइन्छ । जिल्लामा मालबोक, जहाजी, रोबस्ट्रा (हरियो केरा) र हाइब्रिड जातका केरा खेती गरिने गरेको छ ।

चितवनमा हुने हरेक विशेष कार्यक्रम र महोत्सवहरुमा उद्योग वाणिज्य संघ चितवनले केराका बिभिन्न परिकारहरुको व्यवस्था गर्दछ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले एक गाउँ एक उत्पादन र किसानहरुलाई प्रोत्साहन गर्न आफूहरुले सघाउँदै आएको बताए ।

जग्गा प्लटिङ समस्या बन्दै

चितवनमा व्यवसायिक रुपमा फस्टाउँदै गएको केरा खेतीमा जग्गा प्लटिङ मुख्या समस्या देखिएको छ । जसले गर्दा व्यवसायिक केरा खेती घट्ने हो की भन्ने चिन्ताले यहाँका केरा किसानलाई पिरोलेको छ ।

चितवनमा यस बर्ष मात्रै ५० विगाहा क्षेत्रफल लगाइएको केरा खेती नष्ट गरेर जग्गा प्लटिङ भएको छ ।

मैले बल्ल बल्ल जग्गा ५ बर्षको लागि भाडा लिएर केरा लगाएको थिएँ- दुई बर्षमा जग्गा प्लटिङ भो समितिका अध्यक्ष पन्तले भने- ‘यहि कारण हामीहरु चिन्तामा छौं ।’

४ सय ५० विगाहाको मात्रै बीमा

चितवनमा केरा खेतीको विस्तार हुँदै गएपनि सोचेअनुसार बीमा हुन सकेको छैन । चितवनमा १ सय ९० जना कृषकको ४ सय ५० विगाहा जग्गामा लगाइएको केराखेतीको मात्रै बीमा गरेका छन् ।

धेरैले बीमा नगरेकै कारण यस वर्ष पनि हावाहुरीका कारण करोडौको नोक्सानी व्यहोर्नु परेको छ । चैतदेखि असारसम्म चितवनमा ९० हजार केराका बोट हावाहुरीका कारण नष्ट भएको चितवन केरा उत्पादक संघले जनाएको छ । क्षती भएका मध्ये १ करोड ८० लाख मात्रै क्षती रकम पाउने भएका छन् ।

रोगले किसानहरु चिन्तित

केराखेतीमा विभिन्न रोगहरुको संक्रमण बढ्दै गएपछि पनि चितवनमा किसानहरु चिन्तित बनेका छन् । बिभिन्न रोगको संक्रमणले महामारीको रुप लिन सक्ने भन्दै किसानहरु चिन्तित बनेका हुन् ।

प्रत्येक वर्षजसो रोगले किसानलाई सताउने गरेको छ । किसानहरुका अनुसार प्रत्येक केरा बगानमा ५ देखि १० प्रतिशतसम्म विभिन्न रोग लागेका छन् ।

प्रत्येक वर्ष झै आउने हावाहुरी, असिनापानीबाट हुने क्षती बाहेक रोगका कारण किसानले ५ देखि १० प्रतिशतसम्म क्षती बेहोर्दै आएको चितवन केरा किसान कृष्ण रेग्मीले जानकारी दिए ।

लामो समयदेखि किसानहरुले पानामा डिजिज, सिगाटोका र गुबो कुहिने लगायतका आधा दर्जन बढी रोगका कारण ठूलो क्षती बेहोर्न बाध्य भएको पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment