Comments Add Comment

भूकम्प पीडितको चासोः आफैं घर बनायौं, अब अनुदान पाइन्छ ?

प्राधिकरण भन्छ- घर बनाउनुस्, एकमुष्ट २ लाख दिन्छौं

Home-1

२२ असार, रामेछाप । रामेछाप जिल्ला प्रशासनको प्रारम्भिक आँकडा अनुसार जिल्लाका भूकम्प पीडितमध्ये करीव २ प्रतिशत जनताले भूकम्पबाट भत्किएकै ठाउँमा घर बनाउने काम शुरु गरिसकेका छन् । तीमध्ये आधा घर बनिसकेका छन् ।

भूकम्पपछि एउटा वर्षात र एउटा हिउँद टहरामै बिताएका पीडितहरु अनुदानको आशमा बस्दाबस्दै फेरि वर्षातले छोपेका बेला आफैं घर बनाउँदैछन् ।

‘अनुदानको आश गर्ने हो भने अझै केही वर्ष घर नबन्ने भयो, मैले इन्जिनियर र ओभरसियरको सुझाव अनुसार नै काठको घर बनाएँ’ दुरागाउँ-८ का गंगाबहादुर सुनुवारले भने ।

पुननिर्माण प्राधिकरणसँग अनुदान सम्झौता गरिसकेका भूकम्प पीडितमध्ये रामेछापका उत्तरी क्षेत्रका बासिन्दा धमाधम घर बनाउँदैछन् । उनीहरुले गाविस सचिव र सम्बन्धित गाउँमा पुगेका प्राबिधिकहरुलाई जानकारी दिएरै घर बनाएका हुन् ।

उत्तरी रामेछापको भुजी, दुरागाउँ, शिवालय, गुप्तेश्वर लगायतका गाउँमा धमाधम घरहरु बनिरहेका छन् ।

उनीहरुले बनाएका घर भूकम्प प्रतिरोधी हुन् कि होइनन् ? यसको जवाफ कसैले दिएको छैन । ‘अनुदान सम्झौताअघि नाप्न आएका प्राविधिकहरुको सल्लाहअनुसार घर बनाएका हौं, त्यसैले हामीले अनुदान पाउनुपर्छ’ शिवालयका साम्देन शेर्पाले भने ।

भूकम्प पीडितले बनाएका घरहरु प्रायः काठका छन् । कतिपयले पहिलो तला ढुंगा माटोको गाह्रोबाट तयार पारेका छन् भने त्यसमाथि काठको प्रयोग गरेका छन् । ‘चेपुवा राखेर बलियो घर बनाइएको छ, प्राविधिकहरुले पनि यत्तिको घर पास हुन्छ भनेका छन्, नत्र हामी त बर्बाद हुन्छौं’ सुनुवारले भने ।

Ganga-Sunuwar
आफ्नो घर देखाउँदै दुरागाउँ-८ रामेछापका गंगा सुनुवार

यसैसाता अनलाइनखबरकर्मी गाउँमा पुग्दा रामेछापको उत्तरी विकट क्षेत्रका बासिन्दा पाल र टहराबाट नयाँ घरमा प्रवेश गर्दै थिए । भूकम्पले ध्वस्त पारेका साना पहाडी वस्तीहरुमा चिटिक्क परेका घरहरु ठडिन थालेको देख्न पाइयो ।

गत सातामात्रै उत्तरी क्षेत्र शिवालय पुगेर फर्केका पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष टीका भट्टराईले सरकारी अनुदानको आशामा बसेर नहुने भन्दै गाउँलेहरु घर बनाउन थालिसकेको बताए । उनका अनुसार भूकम्पले ध्वस्त पारेको पर्यटकीय केन्द्र शिवालयमा प्रायः घरहरु पुननिर्माण भइसकेका छन् ।

अघिल्लोपटक क्षति जाँच्न आएका इन्जिनियरको सुझाव अनुसार उनीहरुले जगदेखि तला छाप्ने ठाउँसम्म काठका चेपुवा राखेका छन् । पीडितहरुको विचारमा यो भूकम्प प्रतिरोधी घर हो । तर, मापदण्डमा पर्छ कि पर्दैन र अनुदान पाइन्छ कि पाइँदैन भन्ने धूकचूकले उनी बेचैन छन् ।

अनुदान आउँछ भनेर बस्दा हिउँद वर्षा साह्रै कष्ट हुन थालेकाले स्वस्फूर्त रुपमा गाउँलेहरु घर बनाउन थालेका छन् । उनीहरुले बनाएका घरले अनुदान पाउनुपर्ने माग राखेका छन् ।

घर बनाउनेले एकमुष्ट अनुदान पाउँछन्ः प्राधिकरण

यसैबीच पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिक परीक्षणका क्रममा भूकम्प प्रतिरोधी देखिएका सबै घरधनीले अनुदान पाउने आश्वासन दिएका छन् ।

‘प्राविधिकहरुले हेर्छन्, उनीहरुले ठीक छ भनेका घरले अनुदान पाउँछन्, ढुक्क भए हुन्छ’ ज्ञवालीले अनलानइनखबरसँग भने ।

Home-2

प्राधिकरणले दिएको मोडलभन्दा बाहिरको घर बनेको भए पनि त्यसको परीक्षण गरेर एकमुष्ट अनुदान दिइने उनले बताए । ‘हामीले घरको डिजाइन दिएका छौं, चेकलिष्ट बनाएका छौं, त्यो भन्दा बाहिरको मोडेलको घर बनेको रहेछ भने पनि सुरक्षित प्रमाणित भएको अवस्थामा एकमुष्ठ २ लाख अनुदान दिइन्छ’ ज्ञवालीले अनलाइनखबरसँग भने ।

उनले भूकम्प पीडितलाई सरकारले अनुदान दिए पनि घर आफैंले बनाउनुपर्ने भएकाले गाविसमा उपलव्ध प्राविधिकको सल्लाह लिएर घर बनाउन सकिने बताए ।

‘गाविसमा गएका इन्जिनियर र ओभरसियरलाई देखाउन नभूल्नुस, नत्र असुरक्षित भवनलाई अनुदान दिन हामीलाई निर्देशिकाले रोकेको छ’ उनले भने ।

अनुदान पाउनेमा नाम छुटेकाहरुको गुनासोको सुनुवाइ हुने र एक जना पनि नछुट्ने गरी काम अघि बढाइएको ज्ञवालीले बताए । गुनासो सुनुवाइ प्रक्रियाबाट आउने कसैलाई पनि अनुदानबाट बञ्चित नगरिने उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment