काठमाडाैं । चिरप्रतिद्वन्द्वी लिओनल मेस्सी एकपछि अर्को संकट व्यहोरिरहँदा क्रिष्टियानो रोनाल्डोले सफलता हात पारिरहेका छन् । तर, उनको सपना अझै पूरा हुन बाँकी छ ।
युरोकपको फाइनलमा पुग्ने वेल्सको सपना चकनाचुर पार्दै रोनाल्डोले पोर्चुगललाई उपाधि नजिक पुर्याएका छन् ।
त्यसको अघिल्लो दिन मात्र बार्सिलोनाको एक अदालतले कर छलीको आरोपमा मेस्सीलाई २१ जेल सजाय र २ लिमियन युरो जरिवानाको फैसला सुनाएको थियो ।
त्यसको ११ दिन अघि मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुट आउटमा पराजित भएका थिए, जुन खेलमा मेस्सीले नै पेनाल्टी चुकाए । लगातार तीन पटक र समग्रमा चार पटक फाइनलमा हारेपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने अप्रत्यासित निर्णय लिए ।
क्लब फुटबलमा बार्सिलोनाबाट सबै उपाधि जितिसकेका मेस्सीले देशका लागि भने ठूलो उपाधि जित्न सकेका छैनन् । उनले अर्जेन्टिनालाई दिलाएको उपाधि भनेकै २००८ को ओलम्पिकमा स्वर्ण हो ।
मेस्सी यो पटक कोपा जित्न चाहन्थे । तर, फाइनलमा गत वर्षकै जस्तो नियति व्यहोरे ।
ठीक विपरित रोनाल्डोलाई भने आफ्नो करियरलाई पूर्णता दिने मौका छ । उनको प्रेरणामा पोर्चुगल फाइनलमा पुगेको छ ।
रोनाल्डोले गोल र उनकै पासमा नानीले गरेको गोलको मदतमा पोर्चुगलले वेल्सलाई २-० ले हराएको छ । अब उसले उपाधिका लागि जर्मनी र फ्रान्सको विजेतासँग खेल्नेछ ।
यदि उपाधि दिलाउन सके उनको फुटबल करियरले पूर्णता पाउनेछ । किनकी उनले पनि अहिलेसम्म मेस्सीले जस्तै क्लब फुटबलमा सबै जितिसके तर, देशका लागि ठूलो उपाधि दिलाउन सकेका छैनन् ।
२००४ मा पोर्चुगलले युरोकपको फाइनल खेलेको थियो । तर, आयोजक ग्रिससँग चुक्यो । त्यसबेला रोनाल्डो भर्खर १९ वर्षका थिए र उनले युरोकपमै डेब्यू गरेका थिए ।
रोनाल्डोकै प्रेरणामा जारी युरोमा पोर्चुगलले पहिलो पटक निर्धारित ९० मिनेटभित्र स्पष्ट जित हासिल गरेको हो । र रोनाल्डो अब करिअरमा मुलुकका लागि पहिलो ठूलो उपाधिको नजिक छन् ।
रोनाल्डोले भनेका छन् कि ‘यो हामीले प्रतियोगिताको सुरुदेखिनै देखेको सपना हो । हामीलाई थाहा छ यो लामो बाटो हो र हामी अझै प्रतियोगितामै छौं ।’ ‘हामीले पहिलेदेखिनै मानेका थियौं कि हामी कठिन क्षणमा छौं । तर सँधै भनिने गर्छ कमजोर सुरुवात गर्नेले शशक्त अन्त्य गर्छ । खेलाडीहरु त्यसका लायक छन् साथै प्रशिक्षक हकदार छन् र सम्पूर्ण मेडिकल स्टाफ पनि जसले खेलाडीको फिटनेसका लागि उत्कृष्ट भूमिका निर्बाह गरेका छन् ।
‘हामीले अहिलेसम्म केहि जितेका छैनौं तर हाम्रो सपना अझै जीवितै छ, म आशा गर्छु कि हामी हास्नेछौं र खुसीको आँसु हाम्रो आँखामा टिल्पिलाउनेछ ।’ रोनाल्डोले भने, ‘मैले जैले पनि भन्दै आइरहेको छु कि मेरो सपना पोर्चुगिज टोलीबाट उपाधि जित्नु हो । मैले धेरै कीर्तिमानहरु कायम गरेको छु । अझैपनि राष्ट्रिय टोली र क्लवबाट कीर्तिमानहरु बनाइरहेको छु । यो प्रकृतिक कुरा हो । तर सपना निःशुल्क हुन्छ र सपना देखिरहनुपर्छ ।’
प्रतिक्रिया 4