Comments Add Comment

ठक्कर दिएर भाग्दा तीन लाख जरिवाना !

२७ असार, काठमाडौं ।  गत १८ असारको दिउँसो रत्नपार्कमा एउटा सामान्य दुर्घटना भयो । रणोदीप पुलमुनि दुईवटा मोटरसाइकल ठक्कर खाँदा बा.३०प ५५३२ नम्बरको मोटरसाइकलमा सवार रविन खड्का र उनकी श्रीमती लडे । अर्को मोटरसाइकल भाग्यो ।

Accidentदुर्घटनामा खड्कादम्पतीलाई सामान्य ठक्कर मात्र लागेको थियो । तर, ठक्कर दिएर भाग्ने मोटरसाइकलले त्यसबापत तीन लाख रुपैयाँ तिर्नुपर्‍यो ।

दुर्घटनामा घाइते भएर उपचार खर्चका लागि होइन, भाग्नेक्रममा मोटरसाइकलबाट लडेकी महिलाको पर्स ठक्कर दिने मोटरसाइकलमा अल्झिएपछि यो घटना हुन पुग्यो ।

ती महिलाको पर्समा तीन लाख रुपैयाँ पर्ने गहना र मोबाइल थियो । त्यही सामानको मूल्य भाग्ने मोटरसाइकलले तिर्नुपरेको हो ।

ठक्कर दिने मोटरसाइकलमा नम्बर प्लेटसमेत थिएन । ‘अन टेस्ट’ लेखिएको मोटरसाइकललाई सिसिटिभीको सहयोगमा प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरी पक्राउ गरेको हो । ठक्कर दिने मोटरसाइकलमा दुईवटा साइलेन्सर थिए ।

सोही जानकारीका आधारमा प्रहरीले दुईवटा साइलेन्सर भएका मोटरसाइकलबारे अनुसन्धान थाल्यो । मोटरसाइकलको डिजाइन रोयल इन्फिल्डको जस्तो थियो ।

प्रहरीले रोयल इन्फिल्ड कम्पनीमा गएर बुझ्दा सो ब्रान्डको मोटरसाइकलमा दुईवटा साइलेन्सर नहुने खुल्यो । थप अनुसन्धान गर्दा हालै मात्र नेपालमा आएको एस ब्रिटिस ब्रान्डको मोटरसाइकलको दुईवटा साइलेन्सर हुने खुलेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रहरी विक्रेताको कार्यालय लाजिम्पाट पुग्यो । संयोगवश सोही दिन मोटरसाइकल बिक्री भएको थियो । यातायात व्यवस्था कार्यालयमा मोटरसाइकल दर्ता भइसकेको थियो, जसको नम्बर बा ७५प ७१८३ थियो ।

यातायात कार्यालयबाट विवरण लिई प्रहरीले मोटरसाइकल धनी मोहम्मद रमिजलाई पक्राउ गर्न सफल भयो । उनले आफ्नो मोटरसाइकलमा महिलाको पर्स अल्झिएको थाहा पाएका थिएनन् । भाग्ने क्रममा पर्स बाटैमा खस्यो ।

‘नभागेको भए उनले केही तिर्नुपर्ने थिएन,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रमुख इन्स्पेक्टर सुनीलजंग शाहले भने, ‘भागेकै कारण तीन लाख तिर्नुपरेको हो ।’ भागेपछि लफडामा नपर्ने सोचेर उनी भागेका थिए । तर, भागेकै कारण उनी लफडामा परे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment