Comments Add Comment

जिन्दगी त नमीठो सरगम पो रै’छ !

युवराज चौलागाईँको गायन यात्रा

Yuvraj Chaulagai (13)नेपाली फिल्मको पाश्र्व गायनमा अहिले निकै रोजाइको नाम हो – युवराज चौलागाईँ । सुरुवातमा आधुनिक तथा पप एल्बमका गीतबाट उनले परिचय बनाएका हुन् । तर, समय क्रममा फिल्मकै गीतबाट भाग्य चम्काउँदैछन् ।

दुई वर्षअघि ‘नोभेम्वर रेन’ फिल्ममा गाएको ‘तिमीलाई के भनूँ’ बोलको गीतले उनको सांगीतिक करिअरमा नयाँ मोड ल्यायो । त्यही गीतबाट उनले गत वर्ष पाश्र्व गायनमा राष्ट्रिय चलचित्र पुरस्कारसहित सबैजसो अवार्ड जिते । यसपालि पनि गत वर्ष रिलिज भएको ‘क्लासिक’ फिल्मको ‘हारेँ हारेँ’ गीतबाट अवार्डमा बाजी मार्ने सुर कसेका छन् ।

भगवान् र भाग्यमा औधि विश्वास गर्छन् उनी । चितवन घरबाट गायक बन्ने सपना बोकेर २०५९ को आखिरीमा काठमाडौं हिँडे युवराज । मुसलधारे पानी परेको दिन थियो । उनले सुनको औंठी हराए । औंठी हराउनु अशुभ हो भन्ने उनले कतै सुनेका थिए ।
राजधानीको यात्रामा अपशगुन त्यही माने । महँगो चिज गुमाउनुको पीडाभन्दा अब के हुने हो भनेर सम्भावित भयले उनलाई छोप्यो । अब केही गर्न सकिन्न, जिन्दगी खत्तम हुने भो भन्ने लाग्यो ।

डर र आशंकाले तिरिमिरी हुँदै काठमाडौं आए । संगीतको सरगममा आरोह-अवरोह हुन्छ भनेर उनले संगीत नसिक्दाको समयमा पनि जानेका थिए । तर, संगीत सिक्दै र संघर्ष गर्दै आउँदा उनले बुझ्न थाले – जिन्दगी त झन् ठुल्ठूला उबडखाबडको नमिठो सरगम पो रै’छ !

मार्सल आर्ट्सदेखि म्युजिकको सफर

बुबाको जागिरको सिलसिलामा भारतको आसाममै जन्मिए-हुर्किए युवराज । त्यहाँबाट १४ वर्षको उमेरमा परिवारसहित नेपाल आए । मूल थलो काभ्रे भए पनि चितवनमा थातबास भयो । नयाँ परिवेशमा घुलमिल हुन समय लाग्यो । पढाइको तालमेल मिलेन । भारतमा भन्दा तल्लो कक्षामा झरेर पढ्नुपर्‍यो ।

आसाममा हुँदा नाच्न र गाउन भनेपछि अगाडि सर्थे उनी । यसका साथै खेलकुदमा पनि मन बसेको थियो । खासगरी मार्सल आर्ट्सका फ्यान थिए । ब्रुस ली, ज्याकी च्यानहरूको फिल्म हेर्दाहेदै मार्सल आर्ट्सको मोहनीमा परेका थिए । भाइको यही मोह देखेर चितवन आएपछि ठूलो दाइले तेक्वान्दो सिकाउन भर्ना गरिदिए । भाइ र दाइको रुचि मिल्थ्यो । चार भाइमध्ये साहिँला उनी । दाइको हौसला पाएपछि झन् खुलेर लागे ।

खेलाडी नै भएर मैदानमा उत्रिएपछि उनले जिल्लास्तरीय प्रतियोगिताहरू भिडे । राम्रो खेलाडीमा गनिन्थे युवराज । केहीमा जिते पनि । भर्खरका स्कुले केटाकेटीलाई सिकाए । तर, सोच थियो (तेक्वान्दोमा भिडेर साफ गेम (अहिले साग) जित्ने र नाम कमाउने । उनलाई तेक्वान्दो सिकाउने चितवनका रवि उज्ज्वल थपलिया सागका पदक विजेता थिए । यसैले त्यो उँचाइ छुने उनको सपना थियो । अरु गुरु थिए सन्तोष प्रधान, पुष्प जोशी ।

त्यतिखेरसम्म उनीमा गायक बनूँला भन्ने सोच नै थिएन । खेलकुदको रन्को मात्र थियो । दिमागमा सपना रोपे जस्तो त्यसलाई हुर्काउन त्यति सजिलो कहाँ हुन्छ र ? सागमा भिड्ने अवस्थामा पुग्न निकै प्रक्रिया पुर्‍याउनुपर्ने र तयारी पनि लाग्ने बुझेपछि त्यो सपना त्यत्तिकै सीमित भयो । र पनि पढाइमा एलएलसीसरह मानिने तेक्वान्दोको ब्ल्याकबेल्ट पाएर उनले एउटा बाटो खुला राखेका छन् । अहिले पनि मार्सल आर्ट्स चटक्क छाडेको मान्दैनन् ।

भारत र नेपालको पढाइको तारतम्य नमिल्दा सुरुमा त गाह्रो भयो युवराजलाई अघि बढ्न । तर, स्कुल जान थालेपछि युवराजले गीत गाएरै आफूलाई सबैसँग भिजाउँदै गए । सुरुमा वाहवाही टाढाकै कुरा भए पनि विस्तारै जादु चल्दै गयो ।
स्कुलमा हरेक शुक्रबार उनकै गीत सुन्न चउरभरि विद्यार्थी र शिक्षकहरू गोलो घेरा बनाएर जम्मा हुन्थे । शुक्रबार हाफ छुट्टी हुने भएकाले रमाइलो शुक्रबार हुन्थ्यो । शिक्षकहरू त सकभर एउटा कक्षा नै हापेर गीत सुन्न तयार हुन्थे । अनि युवराज गाउँथे – मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिन्न … ।

फत्तेमानको यस्तो गाह्रो गीत गाउँदा गाउँदै उनको गला पनि खारिँदै गयो । उनी नेपाली र हिन्दी गीतहरू सुनाउँथे । गुलाम अली, पंकज उदास, जगजित सिंहका गजल र यता भक्तराज आचार्य, नारायण गोपाल, फत्तेमानहरूको गीत गाउन रुचाउँथे । साथीहरूले हौस्याउँथे – तँ त गायक बन्छस् भनेर । सम्भिmन्छन् – ‘हो न हो, सबै साथी र शिक्षकहरूले उकासेपछि गायक बन्ने सपना देख्दै थिएँ ।’

उनको परिवार कस्तो भने आमासहित दाजुहरू सबै जना संगीतप्रेमी । दुवै दाइ गीत गुनगुनाउन रुचाउने । त्यही प्रभावले आसाममा बस्दैदेखि नाच्न र गाउनमा उनी रत्तिएका थिए । ‘अहिले सम्भिmँदा ठूलो दाइ कृष्ण मभन्दा राम्रो गाउनुहुन्थ्यो जस्तो लाग्छ,’ उनी भन्छन् –  ‘आमा पनि पुराना नेपाली गीतहरू गुनगुनाइराख्नुहुन्थ्यो ।’

Yuvraj Chaulagai (4)घरको माहौल नै सांगीतिक भएकाले उनीभित्रको प्रतिभा हौसिँदै थियो । एसएलसी परीक्षा दिएपछि मात्र उनमा गायक बन्ने सोच विकसित भयो । ‘केही नबुझेको अवस्थामा एउटा भ्रमले उचाल्ने रै’छ मान्छेलाई,’ उनी आफ्नो विगतमा फर्किए – ‘अब काठमाडौं जाने हो, एल्बम निकालेर गायक बनिहाल्ने हो । एक-दुई वटा गीत रेकर्ड गरेपछि त हिट भइहाल्छु । अहिले चलेका गायक जस्तो गाउन त म सकिहाल्छु नि भन्ने फुर्के विचार आउन थाल्यो ।’

आफ्नो अल्लारेपन सम्भिmँदा अहिले रमाइलो लाग्छ उनलाई । जोस र आवेगको उमेरमा सबै कुरा सजिलो र सम्भव लाग्छ । कहिल्यै नपलाएको आँट पनि पलाउँछ । तर, होशमा आएपछि जिन्दगीले हरेक पाइलामा सिलसिला र निश्चित आधार खोज्छ । युवराजले जसरी युवा बेलामा अन्धाधुन्ध बहकिनेहरूको अहिले पनि कुनै कमी छैन ।

संघर्षको सिँढीः विदेश, रेस्टुरेन्ट र दुई सय रुपैयाँको खुसी

काठमाडौं आएपछि युवराजको लागि पूरै अँध्यारो भयो बाटो- कसलाई भेटेर के गरी अगाडि बढ्ने ! संगीत सिक्छु भन्ने चाहिँ मनमा कतै थियो । एकजना दाइले बाटो देखाए । त्यही इशारामा पुतलीसडकस्थित अनुराग कला केन्द्रका गुरु श्यामसुन्दर आचार्यको शरणमा पुगे ।

‘त्यति बेला मेरो स्वर बोल्ड देखेर गुरुलाई यो केटो पक्कै केही बन्छ भन्ने लागेको थियो रे,’ उनी भन्छन् – ‘सिक्दै जाँदा भोकल टेस्टको लागि एउटा गीत रेकर्ड गरेपछि भविष्य उज्ज्वल छ भन्ने कुरा आयो ।’

यस्तो प्रतिक्रियाले युवराजको आँट बढायो । पाँच वर्ष संगीत सिक्नमै खर्चिए । त्यस क्रममा उनले राम सिटौलासँग पनि संगीत सिक्नुका साथै कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट इलाहावाद कोर्स पनि गर्दै थिए ।

सिकेर अब मैदानमा उत्रिए हुन्छ भन्ने लागेपछि २०६४ सालताका रियाज म्युजिक कम्पनीबाट पहिलो एल्बम ‘यू फिल’ निकाले ।

केही गर्न सकिएन भनेर निराशामा रहिरहेको बेला केही राहत मिल्यो । एल्बमको एउटा गीत हिट भइदियो –

साँझपख जब सम्झनामा किन आउनु
भक्कानिँदै रुन्छ मन बिन्ती तिमी नरुनू ।

केही एफएम रेडियोको अवार्ड नोमिनेसनमा पर्‍यो एल्बम । केही अवार्ड जिते । कलेक्सन एल्बममा अफर पनि आउन थाल्यो । रिमेकको लहर चलेको त्यो बेला ‘रहर’ फिल्मको ‘टुङ्नाको धुनमा’ गीत रिमेक गाउने मौका पाए । त्यो पनि चल्यो । तर, गीतहरू चलेअनुसार करिअरमा सोचेजति व्यावसायिक फाइदा भएन ।

गायक भएर हिँडे पनि गुजारा चलाउनै मुश्किल भएपछि निराश बने युवराज । घरमा सल्लाह हुँदा विदेश जान सुझाव आयो । कमाएर फर्किएपछि संगीतमा लागे भइहाल्छ नि भन्ने सुझाव आयो । उनले भने – ‘म त कुनै हालतमा संगीत छोड्न सक्थिनँ । संगीतमा नाम कमाउनुपर्ने र बाँच्नका लागि पैसा कमाउनुपर्ने चेपुवामा पर्दा के गरुँ, कसो गरुँ भयो । मनले जान्नँ भन्दाभन्दै साथीहरूसँग विदेश गएँ, मन बाँधिन नसकेपछि १५-२० दिनमै फर्किएँ ।’

विदेश जाँदा खाएको हण्डर र संगीतमा परिचय बनाउन गरेको संघर्ष उनी खुलेर कसैलाई सुनाउन चाहँदैनन् । संघर्ष र दुःखकै कारण आज सफलता चाख्न पाएको उनलाई लाग्छ । ‘जे-जति गरेँ संगीतकै लागि गरेँ । यति दिन खाइनँ, सुतिनँ भन्दै भयंकर दुःख गरेको देखाउन चाहान्नँ । करिअरका लागि गरेको दुःख मात्रै जिन्दगी हैन, कति कुरा भोग्नै बाँकी छ,’ उनी भन्छन् ।

नेपाल फर्किएपछि दाइको सहयोग मागेर काठमाडौंमै आरआर क्याम्पस पछाडि फास्टफुड रेस्टुरेन्ट खोले । एक वर्ष राम्रैगरी चलाए । तर, रेस्टुरेन्टलाई समय दिनुपर्दा संगीततिर तानिएको मनले चित्त बुझाएन । कस्तो भने रियाज गरिरहँदा पनि सँगैका गायक साथीहरू फड्को मारेर कहाँ पुगिसके भन्ने सोचले उनलाई औडाहा हुन्थ्यो । ‘यसरी त म पछाडि पर्छु, जिन्दगी धरापमा छ भन्ने लाग्यो । नाफामा चलिरहेको रेस्टुरेन्ट एक वर्षमै बिक्री गरिदिएँ,’ उनले भने ।

यसपछि संगीतकै उडानमा लागे । संगीतमा एकोहोरिएको थियो मन । पागल भएर रियाज गरिरहन्थे । संघर्षका दिनहरूमा एक दिनको घटना कहिल्यै भुल्दैनन् युवराज । पुतलीसडकमा डेरा लिएर बस्दा अर्को कोठामा डिग्री पढ्दै गरेका एक अधबैंसे बस्थे । बोलचाल सामान्य हाइ-हेल्लोमा सीमित थियो । उनी पनि संगीतका निकै पारखी रै’छन् । तर, एमएको परीक्षाले पढाइमा एकोहोरिएका थिए । यता गायक बन्ने ध्याउन्नमा लागेका तन्नेरीको जोश नै बेग्लै ! कुनै कुराको परवाह नगरी रियाजमा घाँटी सुकुन्जेल चिच्याइरहन्थे । एक किसिमको पागलपन सवार भएको बेला थियो । गायक भाइको चर्को स्वरले अति भए पनि संगीतपारखीले मुखै फोरेर भन्ने साहस भने जुटाउन सकेनन् ।

न्याप्किन पेपरमा सानो चिठी लेखेर युवराजको ढोकामुनि घुसारिदिएछन् । निकै शिष्ट थियो चिठीको व्यहोरा –

‘भाइ, तपाईँको स्वर मलाई निकै मन पर्छ । मलाई संगीत राम्रो लाग्छ । खासगरी भजन रुचाउँछु म ।  तपाईँले रियाज गरेको सधैं सुन्छु । राम्रो गाउनुहुन्छ । तर, अहिले मेरो डिग्रीको परीक्षा चल्दै छ । त्यसैअनुसार मिलाएर रियाज गरिदिनुहोला ।
–      पल्लो कोठाको अंकल ।’

चिठी पढेर मनमनै हाँसे युवराज । आफ्नो कारणले अरुलाई समस्या भएको बुझे । त्योभन्दा पनि संघर्षको बेला आफ्नो प्रशंसा गर्ने मान्छे भेटेकोमा उनलाई अपार खुसी लाग्यो ।

दाइको पैसाले चलाएको रेस्टुरेन्ट बेचेपछि आफ्नै पौरखले केही गर्न अघि बढे युवराज । संगीत क्षेत्रमा सानातिना कामबाटै जिन्दगीको भर्‍याङ जोड्न थाले । विज्ञापनका लागि जिङ्गल बनाउन थाले ।

दुई वर्षयता नेपाली फिल्ममा गिनेचुनेको पाश्र्व गायकको रूपमा स्थापित भइसकेका युवराजलाई यो सफलताको भारीले थिच्न थालेको छ । अवार्डमाथि अवार्डको बोझले उनी अप्ठेरोमा छन्

त्यो बेला फिल्मको कारुणिक सिनमा आलाप निकै प्रयोग हुन्थ्यो । उनी भन्छन् – ‘मैले केही फिल्ममा आलाप गाएँ । गीतहरूमा कोरस गाएँ । त्यसवापत दुई सय रुपैयाँ पाउँथेँ । दुई सय रुपैयाँ पाउँदा आफू हिरो नै भएको लाग्थ्यो ।’ यो क्रम संगीत सिक्दै गर्दादेखि सोलो एल्बम निकालिसक्दा पनि कायम थियो ।

एल्बम निकालिसकेपछि साथीहरुले अब आलाप र कोरस गाउन छाड्नुपर्छ भनेर सुझाइरहन्थे । तर, उनले मानेनन् । त्यसबाट आफ्नो कुनै पहिचान नभए पनि फिल्मको पाश्र्व गायनमा छिर्न त्यो सुरुङमार्ग जस्तो भइदियो । सिकिने, फिल्मक्षेत्रका मान्छेसँग चिनजान पनि हुँदै जाने । अहिले स्थापित गायक रहेका धेरैले कोरसबाटै यात्रा थालेका थिए ।

विस्तारै कोरस हुँदै ‘हाफ गीत’ गाउने मौका पाउन थाले युवराजले, दुई-तीन लाइनको । त्यसबाट पनि कुनै नाम आउँदैनथ्यो फिल्ममा । सिक्दै र क्षमता देखाउँदै जाँदा फाट्टफुट्ट रुपमा एउटा-दुइटा गीतमा पाश्र्व गायनको मौका पाउन थाले उनले । धेरै फिल्मको स्वरले असर देखाएनन् । तर, आलाप र कोरस छाडेर उनी पाश्र्व गायकको लाइनमा उभिँदै थिए । यस्तैमा २०७० सालमा ल्याएको दोस्रो एल्बम ‘यश’ ले उनको बोल्ड स्वर धेरैमाझ परिचित भयो ।

२०७१ सालमा ‘नोभेम्बर रेन’ फिल्ममा गाएको गीत भने उनको सांगीतिक जीवनमा टर्निङ प्वाइन्ट भइदियो । हाइरेन्जमा गाउन सक्ने बोल्ड स्वरको खोजी हुँदा उनको नामको विकल्पै देखिएन ।

सफलताले दिएको चुनौती

दुई वर्षयता नेपाली फिल्ममा गिनेचुनेको पाश्र्व गायकको रूपमा स्थापित भइसकेका युवराजलाई यो सफलताको भारीले थिच्न थालेको छ । अवार्डमाथि अवार्डको बोझले उनी अप्ठेरोमा छन् । यस्तो किन त ? भन्छन् – ‘अब झन् स्तरीय गीत दिनुपर्छ भनेर दबाब महसुस गरेको छु । स्रोताको अपेक्षा पनि बढेको छ । जस्तो पायो त्यस्तै गर्‍यो भने छवि राम्रो हुँदैन ।’

Yuvraj Chaulagai (11)यही सोचले उनले साधनाको बाटो झन् फराकिलो पारेका छन् । आफूले अनेक तयारी गरेर निकाल्ने एल्बममा भन्दा फिल्ममा गाउने काम चुनौती मान्छन् उनी ।

फिल्ममा हिरो को छ, कथावस्तु के हो, फिल्ममा कुन सन्दर्भमा गीत आउँछ भन्ने सबै बुझेर गहिराइमा डुबेर गाउनुपर्ने हुन्छ । पाश्र्व गायनमा उनी आफूभित्र ‘हिरोइज्म’ भर्दै खुलेर गाउँछन् ।

दुईवटा एल्बम निकालिसकेका युवराज पछिल्लो समय तेस्रो एल्बमको तयारीमा छन् । एल्बम निकाल्दा राम्रा गीतहरू आऊन् भनेर समयको अन्तराल निकै राख्नुपर्ने उनको मान्यता छ । दोस्रो एल्बम तीन वर्षअघि ल्याएका उनले तेस्रो एल्बम ल्याउ अझै केही समय लगाउनेछन् । भन्छन् – ‘एल्बमका लागि गीत बनाउँदै राख्दै गरिरहँदा चित्त नबुझेपछि नयाँ स्तरीय गीत थप्ने क्रममा समय लम्बिँदै जान्छ ।’

त्यसो त अहिले फास्टफुड कल्चरबाट संगीत क्षेत्र पनि अछुतो छैन । चाँडै गीत निकालेर हिट हुनुपरेको छ सबैलाई । ७-८ वटा गीत बनाउन मिहिनेत गरेर एल्बम निकाल्नुभन्दा सिङ्गल ट्र्याक निकाल्ने चलन छ । उनी भने कलाकारको निश्चित अवधिको विशेषता झल्किने र इतिहास बन्ने भएकाले एल्बम निकाल्नु महत्वपूर्ण मान्छन् ।

४-५ वर्षको मिहिनेतले एल्बम निकाल्दा त्यसमा कलाकारको साधना र परिचय देखिन्छ । तर, सिङ्गल ट्र्याक निकाल्नु अहिलेका कलाकारको बाध्यता भएको उनी बताउँछन् । ‘एल्बममा खर्च बढी लाग्ने र फाइदा नहुने भएकाले सिङ्गल ट्र्याक निकालेर छिटै बजारमा जम्न सकिने सोचाइ छ,’ उनी भन्छन् ।

स्वर बिकेर लोकप्रियता बढेसँगै लोक र आधुनिक स्वादका गीतमा नयाँपन कसरी दिन सकिन्छ भन्ने खोजमा लागिरहेका छन् उनी । फिल्ममा पाश्र्व गायनका लागि अफर आएसँगै  त्यसमा पनि लागिरहेकै छन् ।

बजारले खोजेको गीतमा स्वर दिइरहँदा उनी अर्थपूर्ण गीत-संगीतको आफ्नो बाटोमा पनि सचेत छन् । उनी आफूमा स्पष्ट छन् – ‘बजारमा चल्ने व्यावसायिक गीत मात्र गर्दिनँ । मनले चाहेको अर्थपूर्ण गीतमा पनि ध्यान दिन्छु ।’ जस्तो कि गत वर्ष उनले दिपिका रिमाल थापाको शब्दमा जीवन दर्शनको गीत गाएका छन् –

‘हरेक शब्दको अर्थ हुन्छ
र हरेक अर्थमा तर्क हुन्छ
सबैले भन्छन् म हाँस्छु भनेर
तर सबलाई थाहा छ हाँस्ने मान्छेको मुटुमा पनि दर्द हुन्छ ।’

कलाकारिताको यात्रा दर्शक-श्रोताको हेराइमा उज्यालो र चम्किलो छ । तर, युवराजहरूले पार गर्दै आएको सांगीतिक यात्रामा बाटोभरि धेरै काँडा थिए । जसले दिएको दुखाइ र छाडेको दाग उनीहरू कहिल्यै देखाउने छैनन् । बस्, त्यही दुखाइ र दागलाई प्रेरणा सम्झिएर गाइरहनेछन् नयाँ-नयाँ गीतहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment