Comments Add Comment

३ बर्ष मलेसिया बसेर रित्तो हात घर फर्कँदै अनिल

Anil-patel

क्वालालम्पुर । अनिल पटेल मलेसिया आएको तीन वर्ष पूरा भयो । सानो सपना वुनेर मलेसिया छिरेका अनिलको न सपना पुरा भयो न उनी ऋणवाटनै मुक्त हुन सके । तीनभाइ मध्येका जेठा हुन अनिल । माईलो भाईको केहि समय अगाडि मृत्यु भयो । वुवा इटाभटिटमा काम गर्छन्, आमा घर गृहस्थि, कान्छो भाइ पढदै छ ।

गर्भिणी श्रीमती छाडेर मलेसिया हान्निएका अनिलको बच्चा हिड्न, बोल्न थालिसकेको छ तर उनीभने मलेसियाको जन्जालवाट वाहिर निस्कन सकेका छैनन ।

वाराको सिम्रौनगढका २४ बर्षीय अनिलले ६ कक्षामात्रै पढेका छन् । अंग्रेजी पढेर मास्टर बन्ने लक्ष्यमा आर्थिक अवस्था बाधक बनेपछि खान लाउनको जोहो गर्न उनी मलेसिया पुगे । ६ कठ्ठा जमीनको उब्जाउले उनको परिवारका लागि पर्याप्त हुँदैन ।

अनिल अग्रेजी भन्दा मलेसियन भाषा खरर वोल्छन । तीनवर्षको अवधिमा उनले कमाएको भनेको मलेसियन भाषा मात्रै हो । त्यसवाहेक आर्थिक रुपमा उनी शून्य रहे । अझ भनौ माइनसमा रहे । उल्टै ऋण थपेर उनी घर फर्कँदैछन् ।

मलेसिया आउनकालागि पासपोर्ट वनाउने खर्च दश हजार आमाले दिएकी थिइन । मलेसिया आउनको लागि अनिलका वुवाले खेत वन्धकीमा राखेर १ लाख ४० हजार ऋण लिएका थिए । वुवाले इटटा भट्टामा काम गरेर जम्मा पारेको रकम २० हजार गरी जम्मा १ लाख ६० हजार रुपैयाँ मेनपावरलाई वुझाएर उनी मलेसिया आएका हुन् ।

मेनपावरले भनेअनुसारकै कम्पनी भएपनि थोरै पारिश्रमिकका कारण उनलाई चित्त बुझेन । करिव डेढ बर्ष त्यस कम्पनीमा काम गर्दा करिव १ लाख घर पठाएपनि ऋणको चर्को ब्याज तिर्नमात्र ठीक्क भयो । त्यसपछि उनले त्यस कम्पनी छाड्ने निधो गरे ।

मलेसियामै रहेका गाउँले साथीभाइसँग छलफल गरेपछि उनी कम्पनी छाडेर गैरकानूनी काम गर्न थाले । भनेजस्तो नभएपनि गैरकानूनी रुपमा सेक्युरिटीको काम गर्न थालेपछि केहि सहज हुनथाल्यो । तर ड्युटीमा रहँदा निदाएको भन्दै साहुले निकालिदिएपछि उनको दुःखका दिन सुरु भयो ।

यतिबेलासम्म मलेसियाली भाषामा पोख्त भइसकेका उनी आँफैले काम खोज्न थाले । एउटा किराना पसलमा रोजगारी पाए । तर गैह्रकानूनी भन्ने पत्तो पाएका किराना साहुले उनलाई भनेअनुसार तलव दिएनन् । अनिलले त्यो जागीरबाट पनि बिदा लिए ।

त्यसपछि साथीभाइको सहयोगमा फर्निचर कम्पनीमा जागीर पाएका उनलाई अर्को बज्रपात पर्‍यो । कामको सिलसिलामा हात भाँच्चियो । फर्निचर मालिकले अस्पतालसम्म त पुर्‍याए तर खर्च भने अनिल आँफैले गर्नुपर्‍यो ।

उनी मलेसियामा अलपत्र परिरहँदा यता गाउँमा भने भए-नभएको हल्लाहरु चल्न थाल्यो । मलेसियाबाट फर्केकाहरुले नै उनको परिवारसँग अनिलले उतै बिहे गरेर बसेको छ भन्नेसम्मको कान फुक्न भ्याए । उतैबाट फर्केकाले भनेको कुरा नपत्याउने पनि कसरी ?

घरमा माइला छोराको पनि मृत्यु भएपछि बिक्षिप्त बनेकी आमा बिदेशमा रहेको छोरालाई नल्याएसम्म घर नआउने भन्दै दुई महिनादेखि काठमाडौंमा छिन् । यता अनिल भने कसरी घर फर्कने भन्ने चिन्तामा अल्मलिरहेका छन् ।

उनलाई घर फर्काउन परिवारले अझै खेल बन्धकी राखेर ३० हजारको जोहो गरेका छन् । कुराकानीको अन्त्यतिर भावुक हुँदै अनिलले भने, ‘मलेसियामा रहेर के नै कमाएँ र खै ? अव त घरमै बस्छु । कतै जान्न, बाबुकै इटाभट्टामा काम गर्छु, परिवारसँगै बस्छु ।’

अनिललाई घर फर्काउन पिएनसीसी नामक संस्थाले सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment