Comments Add Comment

निजामति कर्मचारीले अनलाइनबाटै सरुवाको निवेदन दिन सक्ने

Ministry-of-General-Administration,-Samanya-Prashasn-mantralaya

४ साउन, काठमाडौं । तपाई निजामति कर्मचारी हुनुहुन्छ र सरुवा हुन चाहनु भएको छ भने मन्त्रालय धाइरहनु पर्दैन । तपाईंले घरमै बसी-बसी अब अनलाइनबाटै सरुवाको आवेदन दिन सक्नुहुनेछ ।

सामान्य प्रशासन मन्त्रालयले सरुवाका लागि अनलाइनबाटै निवेदन दिने व्यवस्था मिलाएको हो । त्यसका लागि सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा रहेको अनलाइन सरुवा निवेदन दर्ता प्रणालीमा गएर निवेदन दिन सकिनेछ ।

यसअघि निवेदन बोकेर मन्त्रालयमै पुग्नुपर्ने झन्झटिलो व्यवस्था अन्त्य गर्दै इन्टरनेटको पहुँचमा भएका कर्मचारीहरुले जुनसुकै ठाउँबाट निवेदन दिनसक्ने व्यवस्था मिलाएको सचिव टंकमणि शर्माले जानकारी दिए ।

अब दुर्गम क्षेत्रमा रहेका कर्मचारी सरुवाको निवेदन बोकेर मन्त्रालयसम्म आइपुग्नुपर्ने छैन । मन्त्रालयले अनलाइन माध्यमबाट सहज नमान्नेहरुले पुरानै शैलीमा निवेदन दिएर पनि सरुवाका लागि निवेदन दिनसक्ने विकल्प खुल्ला राखेको छ ।

तर लिखित निवेदन दिँदा त्यस्तो निवेदन मन्त्रालयबाटै हराउन सक्ने हुँदा अनलाइन विधि बढी भरपर्दो हुने सचिव शर्माले जानकारी दिए ।

हरियो संकेत पाए सरुवा, रातो आए फेल

तत्कालीन सामान्य प्रशासन मन्त्री रेखा शर्माको पालादेखि मन्त्रालयले अनलाइन आवेदन प्रणालीको प्रक्रियालाई अघि बढाएको थियो ।

अनलाइनबाट सरुवाका लागि निवेदन फारम भर्ने वित्तिकै उक्त विवरण किताबखानामा रहेको विवरणसँग ‘भेरिफाइ’ हुन्छ । त्यसपछि कर्मचारीले हरियो, पहेंलो र रातो संकेत पाउँछन् ।

यदि कर्मचारीको सरुवाको समय पुगेको छ भने हरियो संकेत देखाउँछ । हरियो संकेतको अर्थ सरुवाका लागि सबै प्रकृया र मापदण्ड पूरा भएको छ, उसको सरुवा गर्न सकिन्छ भन्ने हो ।

अर्थात, सरुवाका लागि अवधि पुगेको, जहाँ खटाइएको थियो, त्यहाँ पूर्ण अवधि बसेको र निजामति ऐन अनुसारको अन्य मापदण्ड पूरा भएकोलाई हरियो संकेत प्राप्त हुन्छ ।

पहेंलो संकेत

पहेंलो संकेत प्राप्त कर्मचारीको सरुवाका लागि केही मापदण्ड पुरा भएको हुँदैन । सरुवाका लागि समय पुगेको छ तर केही मापदण्ड पूरा भएको छैन भने त्यस्ता कर्मचारीले पहेंलो संकेत पाउँछ । पहेंलो संकेत पाउनु भनेको सरुवा गर्न सकिन्छ तर त्यसका लागि थप कागजपत्र आवश्यक पर्छ भनेर बुझ्नुपर्छ ।

रातो संकेत

रातो संकेत पाउनुको अर्थ सरुवाका लागि कुनैपनि मापदण्ड पूरा नहुनु हो । त्यस्तो संकेत प्राप्त कर्मचारीको सरुवा हुन सक्दैन । अनलाइनबाटै रातो संकेत पाउने कर्मचारीलाई सरुवा सम्भव नभएको जानकारी दिइन्छ ।

सरुवाको चिठी पनि अनलाइनबाटै

मन्त्रालयले सजिलोका लागि सरुवा भएको जानकारी समेत अनलाइनबाटै दिने व्यवस्था मिलाउने कोशिस गरेको जनाएको छ । उक्त वेबसाइटमै सरुवा भएको वा निवेदन बदर भएको जानकारी पठाउने गरी तयारी थालिएको छ । र अनलाइनबाट सम्भव नभए इमेलबाट भए पनि त्यस्तो जानकारी पठाउने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment