दोहा । गैरआवासीय नेपाली संघको पाचाैं मध्यपूर्व क्षेत्रीय सम्मेलन कतारमा जारी छ । शुक्रबार विहान दोहाको अल मिलिनियम होटलमा सम्मेलनको उदघाटन भएको हो ।
बुधवारदेखि नै मध्यपुर्वमा रहेका एनआरएनएका पदाधिकारीहरु कतार आएका थिए । विहीवार साँझदेखि कतारमा एनआरएनए मध्यपूर्व सम्मेलनको चहलपहल शुरु भएको हो ।
‘पूर्ण सामाजिक सहितको सम्मानित बैदेशिक रोजगार, समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ कतारमा सम्मेलन शुरु भएको हो । सम्मेलनमा कुवेतबाट १४ जना, साउदी अरबबाट ५ जना, यूएईबाट ८ जना, ओमनबाट ६ जना, बहराइनबाट ८ जना, लेवनानबाट २ जना र कतारबाट सय जना भन्दा बढी एनआरएनए एनसीसीका प्रतिनिधिको सहभागिता छ ।
त्यस्तै सम्मेलनका लागि नेपालको सरकारी निकाय र एनआरएनए आईसीसीका अध्यक्ष शेष घले लगायत कतार पुगेका छन् ।
सम्मेलनमा प्रमुख अतिथी नेपाली दुतावासका कार्यवाहक राजदुत मणिरत्न शर्माले एनआरएनएले दुतावासहरुसँग सहकार्य गर्दै आएको बताए । ‘कतारमा रहेको नेपाली दुतावास व्यवस्थित छ ।’ उनले भने, ‘नेपाल र नेपालीको हित हुने तथा दुई देशबीचको सम्बन्धलाई मजवुत बनाउन आबश्यक भुमिका खेल्नुपर्छ ।’
मध्यपूर्व क्षेत्रीय सम्मेलनमा शुभकामना मन्तव्य राख्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संस्थाले सामाजिक कार्यमा अग्रसरता देखाउँदै नेपालका सरहकारी निकायहरुसँग सहकार्य गरिरहेको बताए ।
उनले नेपालीले नेपालीलाई शोषण गर्न नहुने भन्दै मानव तस्करी रोक्न पनि सबैले एक भएर लाग्नुपर्ने आवश्यकता औल्याए । उनले भने, ‘हामीले मानबतस्करी रोक्न सबैले एक भएर कार्य गर्नुपर्छ, त्यसको लागि नेपाली प्रहरीसँग सम्झौता गरेका छौं ।’
अध्यक्ष घलेले सबै एनसीसीहरुलाई आर्थिक पारदर्शीतामा जोड दिन आग्रह गरे । ‘हरेक एनसीसीले आफ्नो आर्थिक विवरणलाई अडिटका लागि आईसीसीमा पठाउनुपर्छ, संस्थालाई राज्यले विश्वास गरेको छ । एउटा एनसीसीले गल्ती गर्दा सबैको विस्वास खस्किन सक्छ । त्यसकारण एनसीसीले आफ्नो आर्थिक विवरण नबुझाए ब्ल्याक लिष्टमा परिनेछ ।’ घलेले भने ।
कार्यक्रममा बोल्दै बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघनप्रसाद पुडासैनीले बैदेशिक रोजगार खतरामुलक बन्दै गएको भन्दै गन्तब्य मुलुकका दुताबासबाट पुर्ण श्रम स्वीकृति दिने कार्यको लागि श्रम मन्त्रालयले कार्य अगाडि बढाएको बताए । उनले भने ‘ विदेशमा मृत्यु हुने कामदारलाई सरकारको कल्याणकारी कोषबाट ३ लाखबाट बढाएर ५ लाख पुर्याउने र बिमा कम्पनीले दिने ५ लाखलाई बढाएर १० लाख पुर्याउने प्रयास भइरहेको छ । त्यसलाई कार्यान्वयनका लागी नियममा संशोधन कार्य अगाडि बढाएको छ ।’
अहिलेको चासोको विषय बनेको रोजगारमा जाने कामदारहरु सञ्चयकोषमा सामेल हुन सक्ने कुरालाई प्रष्ट पार्दै कर्मचारी सञ्चयकोषका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले बैदेशीक रोजगारीमा गएका नेपाली कामदारको आर्थिक सेवा सुरक्षाको लागि ‘पेन्सन फन्ड’को अबधारणामा काम गरिरहेको बताए ।
कार्यक्रममा अतिरिक्त प्रहरी महानिरिक्षक बिज्ञानराज शर्माले विदेशमा प्रहरी सहचारी राख्ने बिषयमा छलफल भइरहेको बताए । ‘मध्यपूर्बका कतार, साउदी अरब र मलेसियामा प्रहरीका संयन्त्र राख्नका लागि गृहकार्य भइरहेको छ ।’ उनले भने ‘भिजिट भिसाका नाममा विदेशमा नेपालीहरु अलपत्र परिरहेका छन् । यसमा नेपाली नै संलग्न हुनु दुखद हो । यसको निकै ठुलो गिरोह सकृय छ । त्यसैले विदेश जाने नेपालीहरुलाई व्यवस्थित बनाउन जरुरी छ ।’
सम्मेलनको पहिला सत्रलाई समापन गर्दै एनआरएनए मध्यपूर्व संयोजक डिवी क्षेत्रीले नेपाली कामदारको उल्लेख्य उपस्थीति रहेको इराक तथा लेबनानमा नेपाली दुताबासको बलियो उपस्थीति रहेको गुनासो गरे । उनले संचयकोषलाई कार्यान्वयन गराउनुपर्ने भन्दै दूतावासबाट पुनः श्रम स्वीकृत अहिलेको अत्यन्तै आवश्यक रहेको बताए ।
सम्मेलनको दोस्रो सत्रमा मध्यपूर्वका एनसीसीहरुको कार्यविवरण र समस्याहरु, अनुशासित र सुरक्षित बैदेशिक रोजगार, हजारे अभियान र सुरक्षा कोष, पर्यटन तथा सँस्कृती प्रवद्धन, मध्यपूर्वमा व्यवसायको अवसर र चुनौति, मध्यपूर्वका कामदारको सामाजिक कोष तथा सामान्य समस्याहरु साथै महिलाहरुको बारेमा प्रस्तुती तथा छलफल हुनेछ । सम्मेलनमा मध्यपुर्व सम्मेलनको कतार निर्णय घोषणा गरिनेछ ।
प्रतिक्रिया 4