८ साउन, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा विशाल प्रदर्शन भएको छ ।
सोलिडारिटी फर डा. केसी अलायन्सको आहृवानमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा हजारौं मानिस थिए । उनीहरुले ‘हो ! हामी पागल हौं ! भ्रष्टाचारको जरो उखेल्न चाहने पागल ! डा. केसी जस्तै !’ लोकतन्त्र कि लुटतन्त्र ? आईएम विथ डा. केसी जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
प्रा. डा. केसी चिकित्सा शिक्षा ऐनको मस्यौदामा सबै सरकारी चिकित्सासम्बन्धी शिक्षण संस्थाको आर्थिक भार सरकारले बेहोर्दै विद्यार्थीलाई निःशुल्क गरिनुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी चिकित्सासम्बन्धी कलेज हुनुपर्ने, काठमाडौं उपत्यकामा आगामी १० वर्षसम्म चिकित्सा, दन्त र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाको मनसायपत्र नवीकरण गर्न नहुने माग राखी अनशन बसेका छन् ।
सरकारले प्रा डा केसीसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । दुवै पक्ष तीन पटक वार्तामा बसे पनि सहमति हुन सकेको छैन ।
प्रतिक्रिया 4