Comments Add Comment

माधुरीको प्रश्नः गरिबले उपचार खर्च नभएर मर्ने ?

Madhuri-Dampati1९ साउन, काठमाडौं । प्यूठानकी माधुरी कुमाल र उनका श्रीमान् फूले कुमाल दिनहुँ सिभिल अस्पताल बानेश्वरको चौरमा छटपटाइरहेका भेटिन्छन् ।

उनीहरू बिहानको करिब ७ बजे अस्पताल आइपुगिसक्छन् । दिनभरि कहिले अस्पतालको चौरमा त कहिले आँगनमा आफूहरूमाथि कोही सहृदयीको नजर पर्ला कि भनेर यता-उता गरिरहन्छन् । यस्तो चमत्कार होस्, कोही दानी भेटियोस् र गरिबले जीवनदान पाओस् भनेर दया पाउने आशामा दिनभर बसिरहन्छन् ।

दिनभरको आशा साँझ पर्दै गएपछि निराशामा बदलिन्छ । झमक्क साँझ परेपछि थकित मन लिएर उनीहरू कोटेश्वरतिर होटलमा बास बस्न र्फकन्छन् । फेरि भोलिपल्ट बिहानै उनीहरू नयाँ आशा बोकेर अस्पतालको चौरमा हाजिर हुन्छन् ।
विगत एक महिनादेखि उनीहरूको दिनचर्या यसरी नै चलिरहेको छ ।

प्यूठानको रज्यान १५ का फूले एकदिन अचानक लडे । उनको अनुहार सेतो-फुस्रो देखियो । माधुरीले उनलाई हत्तपत्त प्यूठान अस्पताल पुर्याइन् । अस्पतालले रगतको कमी भएको छ भन्दै भरतपुर अस्पताल रेफर गर्‍यो । तर, साथमा पैसा थिएन । गाउँमा २५ हजार चन्दा उठाएर श्रीमान्लाई भरतपुर अस्पताल पुर्‍याइन् । त्यहाँ पनि रोग पत्ता नलागेपछि चिकित्सकहरूले काठमाडौं लैजान सल्लाह दिए ।

फूले यतिखेर जीवन-मरणको बीचमा छन् । उनको शरीरमा आफैं रगत बन्दैन । राखेको रगत पनि केही दिनभन्दा टिक्दैन । रगत दिएको केही दिन फुले फुर्तिला देखिए पनि यसको असर धेरै दिन रहँदैन

त्यसपछि उनीहरू जेनतेन सरसापट गरेर सिभिल अस्पतालसम्म आइपुगे । लगभग १५ दिनको जाँचपडतालपछि फूलेको रोग पत्ता लाग्यो । उनलाई अप्लास्टिक एनिमिया अर्थात् रक्त अल्पता भएको रहेछ ।

३३ वर्षे फूले यतिखेर जीवन-मरणको बीचमा छन् । उनको शरीरमा आफैं रगत बन्दैन । राखेको रगत पनि केही दिनभन्दा टिक्दैन । रगत दिएको केही दिन फुले फुर्तिला देखिए पनि यसको असर धेरै दिन रहँदैन । सधैँ रगत लिइरहन सक्ने आर्थिक अवस्था उनीहरूको छैन ।

माधुरी र फुलेसँग सम्पत्तिको नाममा एउटा छाप्रो र एक डोका मकै फल्ने जमिन मात्र छ । बिहान खाए, बेलुका के खाने भन्ने पीर सधैंजसो हुन्छ । फुले साहुको घरमा हलो जोत्ने काम गर्छन् ।

111

फूलेसँग माधुरीको बिहे हुँदा उनी १५ बर्षकी थिइन् । बाबु-आमा नभएकी माधुरीलाई फुलेले श्रीमान्सँगै अभिभावककै भरथेग दिए । अर्काको घरमा काम गरेर पनि उनीहरू खुसी थिए । जसोतसो जीवन चलेकै थियो । तर, आज फूलेलाई रोगले सताएपछि माधुरीले जीवन नै अँध्यारो देख्न थालेकी छिन् । यस्तो अवस्थामा रुने र भगवान् पुकार्ने बाहेक उनले गर्नसक्ने केही छैन ।

उनीहरूको १२ र ८ वर्षका दुई छोराछोरी छन् । जसलाई गाउँलेको जिम्मा लगाएर उपचारका लागि काठमाडौंमा बसिरहेका छन् । “गाउँबाट हरेक दिनजसो फोन आउँछ- तिम्रो सन्तालने खान पाएका छैनन्, छिटै र्फक भनेर । हजुर म के गरौं ? मेरो लोग्ने मर्ने नै भयो त ?” माधुरीले रुँदै भनिन् ।

सिभिल अस्पतालका रक्तरोग विशेषज्ञ डाक्टर अमित श्रेष्ठले फूलेको जाँच गर्ने गरेका छन् । उनका अनुसार, फूलेको शरीरले रगत उत्पादन गरिरहेको छैन । उनलाई अप्लास्टिक एनीमिया भएको छ, जसको उपचार गर्न ८ देखि १० लाख रुपैयाँसम्म लाग्छ । तर, समयमै उपचार हुने हो भने फूलेको जीवन बच्न सक्छ ।

काठमाडौंमा उनीहरूले चिनेको कोही मान्छे छैन । दुवै पढ्न-लेख्न जान्दैनन् । आफू बास बसिरहेको होटल र अस्पताल बाहेक उनीहरुले जानेको कुनै ठाउँ पनि छैन

तर, माधुरी र फूलेका लागि अहिले लाख र हजारको हैन, सय रुपैयाँ जुटाउनु पनि चर्को छ । “गाउँबाट २५ हजार चन्दा र ५० हजार रुपैयाँ सापटी लिएर हिँडेका थियौं । भरतपुरमा जाँच गर्दा नै आधाभन्दा धेरै पैसा सकियो । त्यसपछि काठमाडौमा एक महिना बस्दा बाँकी पैसा सकियो,” माधुरी भन्छिन् । फूलेले पनि पैसाको दुःख सुनाए – “काठमाडौंमा त जताततै पैसा मात्र लाग्ने रै’छ हजुर । अब त खाना खाने पैसा पनि छैन, उपचार गराउने त परको कुरा !”

काठमाडौंमा उनीहरूले चिनेको कोही मान्छे छैन । दुवै पढ्न-लेख्न जान्दैनन् । आफू बास बसिरहेको होटल र अस्पताल बाहेक उनीहरुले जानेको कुनै ठाउँ पनि छैन । होटलमा दिनको पाँच सय तिरेर १५ दिन जति बसेपछि उनीहरुको हालत थाहा पाएर होटल साहुले दिनको तीन सयमा कोठा मिलाइदिएका छन् । “तर, अब त त्यो पैसा पनि तिर्न सक्ने अवस्था छैन । के गर्ने होला ? मेरो श्रीमान् मर्ने नै भयो त ?” माधुरी पटकपटक यही प्रश्न दोहोर्‍याउँछिन् । श्रीमान्लाई तलमाथि केही भयो भने आफू र छोराछोरीकै जीवन रोकिने उनको चिन्ता छ ।

डाक्टरले फूलेको जीवन बचाउन आठदेखि दस लाख रुपैयाँसम्म पैसा लाग्ने बताए पनि उनीहरूको १० हजार जम्मा गर्ने पनि हैसियत छैन । माधुरीले आफन्तसँग सापट माग्दा तिम्रो श्रीमान् बाँच्दैन, खर्च नगर भनेर पैसा नदिएको तीतो अनुभव सुनाइन् ।

खर्चको अभावमा श्रीमान्को दुःखमा छटपटाइरहेकी माधुरी प्रश्न गर्छिन् – ‘हामी गरिबले उपचार खर्च नभएकैले मर्नुपर्ने हो त हजुर ?’

माधुरी यतिबेला सहयोगी हातहरूको पर्खाइमा छिन् । स-सानो सहयोगले पनि एउटा गरिबले नयाँ जीवन पाउन सक्छ । फूलेको जीवन रक्षार्थ सहयोग गर्न चाहनेले सानिमा बैंकमा रहेको माधुरी कुमालको खाता नम्बर 013000019070 N मार्फत सहयोग गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment