१३ साउन, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित ९ जनाको मृत्यु भएको छ । घटनास्थलमा ७ जनाले ज्यान गुमाएका थिए भने २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस हिलटप होटल नजिक दिउँसो सवा १२ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । माओवादी नेता वर्षमान पुन ‘अनन्त’ अर्थमन्त्री हुँदा उनी राज्यमन्त्री थिए ।
घटनामा खेवासँगै धनुकटाको परेवादिन-४ तारादेबी बस्नेत, उनकी छोरी रेश्मा बस्नेत, धरान-२ का बेदप्रकाश पटवारे, परेवादिन ७ की अतिमाया तामाङ, परेवा ५ की खिनमाया भट्टराई, तारेकटार ३ की वीरबहादुर काफ्लेको मृत्यु भएको छ । ठेगाना नखुलेका होम थापाले पनि घटनामा ज्यान गुमाएका छन् ।
अन्य मृतकको भने सनाखत नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३९ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि बिभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।
घटनास्थलमा सिधुवा प्रहरी, स्थानीयबासी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वको टोली खटिएको छ ।