Comments Add Comment

१८ वटा गैंडा विदेश पुगे, अमेरिकामा ६ वटा, भारतमा ४

साउदीलाई चितुवा, जापानलाई गोहीको अण्डा र ब्वाँसो उपहार

gaida_chitawan

१४ साउन, काठमाडौं । सरकारले दुई साताअघि चीन सरकारलाई दुई जोडी (चारवटा) गैंडा उपहार दिने निर्णय गरेको छ ।

चीनले ती गैंडाका लागि बासस्थानसमेत बनाइसकेको नेपालका सरकारी अधिकारीहरुलाई जानकारी दिएको छ । अब बन्ने सरकारले यो उपहार चीन पठाउनुपर्नेछ ।

नेपाल सरकारले उपहारका रुपमा यसअघि विश्वका केही शक्तिशाली देशहरुलाई गैंडालगायतका जनावरहरु उपहार पठाउँदै आएको छ । अहिलेसम्मको तथ्यांकमा नेपाल सरकारले भारत, अमेरिका, बेलायत र जर्मनीदेखि चीनसम्म आउँदा २२ वटा एकसिंगे गैडा उपहारका रुपमा पठाउने निर्णय गरिसकेको छ । हालसम्म १८ वटा गैंडाहरु नेपाल सरकारले विभिन्न देशलाई उपहार दिइसकेको छ ।

चीनलाई नेपालले अहिलेसम्म गैंडा उपहार दिएको थिएन । भारतको दुधुवा नेशनल पार्कलाई सन् १९८५ मा चारवटा गैंडा उपहार दिइएको थियो । नेपाल सरकारले अहिलेसम्म अमेरिकालाई सबैभन्दा बढी गैंडा दिएको छ ।

नेपालबाट अहिलेसम्म ६ वटा गैंडा अमेरिका पुगिसकेका छन् । सन् १९८७ मा नेपाल सरकारले अमेरिकी राष्ट्रिपति रोनाल्ड रेगनलाई एक जोडी गैंडा उपहार पठाएको थियो । त्यही मितिमा अमेरिकाकै नेशनल जियोलोजिकल पार्कका नाममा अर्को एक जोडी गैँडा उपहार पठायो । सन् १९९० मा अमेरिकाकै र्फटवर्ट जियोलोजिकल एसोशियसनलाई एक जोडी गैँडा पठाएको थियो ।
त्यस्तै सन् १९९० मा जर्मनीको एक चिडियाखानाका लागि एउटा गैंडा उपहारका रुपमा पठाएको थियो । पछि सन् १९९३ मा पुनः अर्को एउटा पोथी गैंडा पठाइएको थियो ।

सन् १९९० मै सिंगापुर सरकारलाई एक जोडी वयस्क गैंडा उपहार पठाएको थियो । बेलायतलाई भने सन् १९९८ मा एक जोडी गैंडा उपहार दिइएको थियो ।

यस्तै बंगलादेशलाई सन् १९९३ मा एक जोडी गैंडा उपहार पठाइयो । नेपाल सरकारले सन् २००२ मा जापानलाई एक जोडी र अष्ट्रेलियालाई अर्को एक जोडी गैंडा उपहार पठाएको थियो ।

घडीयाल गोहीका अण्डादेखि चितुवासम्म

नेपाल सरकारले विभिन्न देशलाई घडीयाल गोही, त्यसका अण्डादेखि चितुवा र ब्वाँसोसमेत विभिन्न देशलाई उपहार पठाएको इतिहास छ ।

अनलाइनखबरलाई प्राप्त तथ्यांक अनुसार सन् १९९२ सेप्टेम्बर २२ मा नेपालले जापानलाई एउटा जीवित हिमाली ब्वाँसो उपहार दिएको थियो । त्यस्तै सन् १९९८ मार्चमा साउदी अरबको रियाद जियोलोजिक गार्डेनलाई नेपालले दुईवटा चितुवाहरु उपहार दियो ।

त्यसैगरी नेपाल सरकारले सन् १९९४ अक्टोबर ३ मा जापानलाई ३० वटा घडियाल गोहीका अण्डा र ३० वटा मयुरका अण्डाहरु उपहार पठाएको वन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसलगत्तै अर्को वर्ष १९९५ मे ३ मा जापानले फेरि ३०/३० वटा घडीयाल र मयुरका अण्डा लगेको मन्त्रालयमा रेकर्ड छ ।

सन् २००० मे ९ मा प|mान्सलाई नेपालले चारवटा पोथी र एउटा भाले घडियाल उपहार पठाएको थियो । सन् २००४ अपि्रल २३ मा नेपालले भुटानलाई दुईवटा भाले घडीयाल पठाएको थियो ।  त्यस्तै जर्मनीलाई सन् १९९० अपि्रलमा दुईवटा घडीयाल दिइएको थियो भने जापानले १९८७ मा एउटा घडीयाल लगेको थियो ।

चीनले भक्तपुरको पशु उद्यानमा सहयोग गर्ने

यसैवीच चीन सरकारले दुई जोडी गैंडा उपहारस्वरुप पाएपछि त्यसबाट खुशी भएर भक्तपुरमा बन्न लागेको पशु उद्यानलाई सहयोग गर्ने नेपालको अपेक्षा रहेको वन मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

उनले भने- ‘चीनमा एकसिंगे गैंडाको ठूलो अभाव महसुस भएको रहेछ, हामीले चारवटा गैंडाहरु उपहार दिने निर्णय गर्नासाथ उनीहरु खुशी भएका छन् । यसवापत अब चीनले भक्तपुरमा बन्न लागेको पशु उद्यानमा आर्थिक सहयोग गरिदिने नेपाल सरकारको अपेक्षा छ । यही अपेक्षाका साथ मन्त्रिपरिषदले दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment