Comments Add Comment

तिलाठी समस्या सुल्झाउन सरकारसँग माग

Tilathi-ko-news

काठमाडौं, १७ साउन । सप्तरीका सांसद तेजुलाल चौधरीले सीमामा देखिने डुबानको समस्या पुरानै भएको बताएका छन् । सप्तरीको तिलाठीमा भएको स्थानीयको प्रतिकारबारे टिप्पणी गर्दै उनले कुटनीतिक तवरबाट समस्याको समाधान गरिनुपर्ने माग गरे ।

रिपोटर्स क्लवमा आज आयोजित कार्यक्रममा सांसद चौधरीले भने, ‘जनता लडाएर समस्याको समाधान हुँदैन, अन्तर्राष्ट्रिय सन्धीसम्झौता अनुसार कूटनीतिक तवरले सरकारले वार्ता गर्नुपर्छ ।’

खाँडो नदीको संरक्षणको लागि राष्ट्रपति चुरे कार्यक्रममासमेत उक्त कार्यक्रम राखिएको उल्लेख गर्दै उनले थपे, ‘यसको लागि वर्षेनि बजेट पनि छुटिन्छ, तर खर्च हुन्छ कि हुँदैन, अहिलेसम्म हामीलाई थाहा छैन, तर त्यो क्षेत्र सँधै डुबानमा पर्छ ।’

त्यस्तै सप्तरीबाटै प्रतिनिधित्व गर्ने अर्का सांसद सुरेन्द्रप्रसाद यादवले पनि द्धिपक्षीय संवाद, सहमति र कुटनीतिक छलफलका माध्यमबाट मात्रै समस्याको समाधान गर्न सकिने धारणा राखे । यादवले अघि भने, ‘अहिले भारतको दादागिरी चलिरहेको छ, जसका कारण नेपालीहरु अहिले ठूलो समस्यामा छन् ।’

उनले तिलाठीवासीहरुले आफ्नो भूमीको रक्षाका लागि ज्यानको बाजी लगाएर प्रतिकार गरेकोमा धन्यवाद दिए । त्यस्तै कार्यक्रममा भारतका लागि नेपाली पूर्वराजदुत डा. दुर्गेशमान सिंहले उक्त घट्ना कूटनीतिक समस्या भएकाले अन्तरदेशीय समितिहरुलाई क्रियाशिल गराएर समाधानतर्फ अघि बढ्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा तिलाठी झडपका पीडितहरु सञ्जीव यादव र रतन यादवले भारतले एकतर्फी रुपमा बाँध बाँधेर आफुहरुको ६ सय विघा धान खेत डुबानमा पारेको गुनासो गरे । उनीहरुका अनुसार भारतलाई बाँध निर्माण कार्य रोक्न पटक पटक आग्रह गरिएको थियो तर माथिको आदेश भनेर अटेर गरेपछि स्थानीय बाध्य भएर प्रतिकारमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment