Comments Add Comment

झलनाथले भने- भारतले नेपाली स्वाभिमानको सम्मान गरोस्

भारतको एक इन्च माटो चाहिँदैन, हामी पनि एक इन्च छोड्दैनौं

sapthari telathi (8)

१८ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाली स्वाभिमानको सम्मान गर्न भारतलाई आग्रह गरेका छन् । नेपालीलाई भारतको एक इन्च पनि माटो नचाहिने भन्दै उनले आफूहरुले पनि एक इन्च नछोड्ने बताए ।

सप्तरीको तिलाठीमा भारतीय नागरिकसँग प्रतिरोध गर्नेहरुको सम्मानमा मंगलबार आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै खनालले भारतले नेपालीको स्वाभिमानलाई सम्मान नगरे पूर्व मेचीदेखि पश्चिम महाकालीका सबै जनता प्रतिरोधमा उत्रिने चेतावनी दिए ।

खनालले भने, ‘भारतले एकलौटी रुपमा बनाएका बिभिन्न बाँधले तराईका जनताले दुःख सहनु परेको छ । अहिले तिलाठी बोलेको छ, भोलि झापादेखि कन्चनपुर सबै तिलाठी हुनसक्छ ।’

दशगजा मिचेर बाँध बनाउन खोज्ने भारतीयको तिलाठीबासीले प्रतिरोध गरेका थिए । सो क्रममा भारतीयको आक्रमणबाट नेपालीहरु घाइते भएका थिए । तिलाठी घटनामा घाइते रामनारायण यादव र दुर्गानन्द झालाई राष्ट्रिय स्वाभिमानको लागि युवा अभियान नामक संस्थाले मंगलबार सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै एमाले नेता खनालले भने, ‘आफ्नो स्वाधिनताका लागि नेपालीहरु कसैसँग झुक्दैनन् भन्ने तिलाठीको घटना हो । तिलाठीमा भारतले एकलौटी बाँध बनाएको हो । हामी स्वीकार गर्न तयार छैनौं ।’

देश सानो भए पनि सार्वभौम सानो हुँदैन भन्ने कुरा भारतले ख्याल गर्नुपर्ने खनालले बताए ।

नवलपरासीको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत भारतले सीमा मिचेका नेपाली भूमिहरुको नाम लिँदै खनालले तिलाठी घटनाबाट नेपाल र भारतले पाठ सिक्नुपर्ने धारणा राखे ।

‘तिलाठीले भारत र नेपाल सरकारलाई पाठ सिकाएको छ । जनता उत्रिए भने कुनै पनि गलत काम स्वीकार्य हुन सक्दैन भन्ने यो गतिलो पाठ हो,’ खनालले भने ।

तर, उनले स्वाधिनताको आफूहरुको अभियान भारत वा अन्य कुनै देशविरुद्ध नभएको प्रष्टिकरण दिए । भारत नेपालको शत्रु न मित्र हो भन्दै उनले दुई देशबीचको सीमा भने स्पष्टरुपमा अंकित गर्नुपर्ने धारणा राखे ।

विगतका सरकारले सीमा विवाद सुल्झाउन नसके पनि आगामी सरकारले त्यसलाई सुल्झाउनुपर्नेमा खनालले जोड दिए । ‘स्पष्ट सीमाना अंकित गर्न हाम्रो सरकारले सकेको छैन, म पनि प्रधानमन्त्री भएँ तर समय पाइनँ,’ खनालले भने, ‘अहिले पनि एमालेकै सरकार छ, यसले पनि सकेन । तर भोलिको सरकारले सीमा अंकित गर्नैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment