Comments Add Comment

प्रधानमन्त्रीमा प्रचण्डमात्र उम्मेद्वार, मतदान भोलि

prachanda

१८ साउन, काठमाडौं । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्र उम्मेदवारी परेको छ ।

प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो । तर, प्रचण्डको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

प्रचण्डले विहान ११ बजेर २५ मिनेटमा समर्थक दलका नेताहरुसहित उम्मेद्वारी दर्ता गरेका थिए । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृृष्णबहादुर महरासहितका नेताहरु छन् ।

मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण पनि समर्थक छन् । यद्यपि कांग्रेस, माओवादी र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच भने लिखित सहमति हुन सकेको छैन

दिनभर छलफल भएपनि सहमति जुटेन । भोलि विहानसम्म सहमति नभए प्रचण्डलार्इ मत नदिने मोर्चाका नेताहरूले बताएका छन् ।

एमालेले अन्तिममा उम्मेदवारी दिएन 

अघिल्लो दिनसम्म अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको थियो । संसद भवनको ल्होत्से हलमा प्रचण्डका प्रतिस्पर्धी एमाले नेताका लागि मनोनय दाखिला गर्ने फारमसमेत तयार थियो ।

तर, मंगलबार विहान बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेद्वारी नदिने र प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रचण्ड सर्वसम्मत नहुने, मतदान गर्नैपर्ने

एक्लो उम्मेदवार भएपनि माओवादी अध्यक्ष प्रचण्ड सर्वसम्मत प्रधानमन्त्री भने बन्ने छैनन् ।

संसदको नियमावली अनुसार मतदान प्रक्रियामा लैजानुपर्छ । बुधबार विहान ११ बजेको संसद बैठकमा प्रधानमन्त्री पदको निर्वाचन हुनेछ । र, प्रचण्डको उम्मेदवारी प्रस्तुत भएपछि पक्ष-विपक्षमा मतदात हुनेछ ।

संसदमा अहिले ५९५ सांसद छन् र प्रधानमन्त्रीमा निर्वाचित हुन २८८ मत आवश्यक पर्छ । अहिलेसम्मको अवस्था हेर्दा प्रचण्डको पक्षमा ३६६ भन्दा बढी सांसद देखिएका छन् ।

उनको विपक्षमा संसदको दोस्रो ठूलो दल एमालेसहित केही साना दल छन् । संसदको चौथो ठूलो दल राप्रपा नेपालले भने प्रचण्डलाई मत दिने-नदिने भन्ने निर्णय गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment