Comments Add Comment

शैक्षिक गुणस्तर खस्किँदै गयोः अध्ययन प्रतिवेदन

School-Final२२ साउन, भक्तपुर । नेपालको शैक्षिक गुणस्तर विगतका वर्षमा भन्दा खस्किँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले गरेको अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

परीक्षणका क्रममा कक्षा ३ मा चार वर्षअघि नेपालीको सिकाइ उपलब्धि औसत ६३ भएकामा गत वर्षको परीक्षणमा ५२ मा झरेको पाइएको केन्द्रका उपसचिव गोपाल भट्टराईले जानकारी दिए ।

त्यसैगरी गणितमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४५ मा झरेको छ भने कक्षा ५ को सिकाइ उपलब्धि पनि खस्किँदै गएको छ ।

केन्द्रका अनुसार कक्षा ५ को नेपालीमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४६ मा झरेको छ । गणितमा ५३ बाट खस्किएर ४८ मा पुगेको छ भने अङ्ग्रेजीमा सिकाइ उपलब्धि ५४ भएकामा गत वर्षको अध्ययनमा ४७ मा झरेको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रले २३ जिल्लाका एक हजार ५४२ विद्यालयमा अध्ययनरत ३३ हजार ८६३ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो भने कक्षा ५ को २३ जिल्लाका एक हजार ५४३ विद्यालयका ४० हजार १५ जना विद्यार्थीको सिकाइ परीक्षण गरेको थियो ।

उपत्यका, हिमाल, पहाड, तराई र पाँचै विकास क्षेत्र समेटिने गरी गरेको अध्ययनमा सिकाइ उपलब्धि परीक्षणले अन्य क्षेत्रकोभन्दा उपत्यकाको नतिजा सबै विषयमा उच्च रहेको देखाएको छ । उपत्यकापछि पहाडी क्षेत्रमा विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको छ ।

विकास क्षेत्रका आधारमा पश्चिमाञ्चल विकास क्षेत्रमा सिकाइ उपलब्धि उच्च रहेको जानकारी दिँदै भट्टराईले ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको बताए ।

सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको सिकाइ उपलब्धि उच्च रहेको छ । कक्षा ३ को गणितमा औसतभन्दा कम ११ जिल्लाका विद्यार्थीले औसत अङ्क पनि ल्याउन नसकेको अध्ययनमा उल्लेख छ ।

अङ्ग्रेजीमा २३ जिल्लामध्ये आठ वटाले मात्रै औसत अङ्क प्राप्त गरेको छ । आठ वटामा काठमाडौैँका विद्यार्थीको अङ्ग्रेजीमा सबैभन्दा राम्रो पाइएको छ भने काठमाडौँ, भक्तपुर, ललितपुर, झापा, नवलपुरासी, इलाम, धादिङ, मोरङका विद्यार्थीले मात्रै औसत अङ्क प्राप्त गरेका छन् ।

अङ्ग्रेजीमा सामुदायिक विद्यार्थीको औसत उपलब्धि पनि प्राप्त नभएको जानकारी दिँदै भट्टराईले निजी विद्यालयमा पढ्ने विद्यार्थीको औसत उपलब्धि भने राम्रो भएको बताए ।

अङ्ग्रेजीमा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि ३८ छ भने निजी विद्यालयमा पढ्ने विद्यार्थीको ७३.१ छ । केन्द्रले सामुदायिक विद्यालयका नौ हजार ८५० र निजी विद्यालयका तीन हजार २९६ विद्यालयका विद्यार्थीको परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment