Comments Add Comment

निखिल र दयाको गती उच्च, आर्यन र जीवनको दौडमा ब्रेक लाग्यो

daya jiwan aaryan and nikhil
गतबर्ष सम्म पनि नेपाली चलचित्रका २ चर्चित नायकको हातमा चलचित्र नै चलचित्र थियो । नायक आर्यन सिग्देलले त आफ्नो जन्मदिनको दिन अनलाइनखबरसँग कुरा गर्दै भनेका थिए-‘अहिले पनि हरेक चलचित्र मेरै बाटो भएर अगाडि जान्छन् ।’

उनले यसो भन्नुको पनि गहिरो अर्थ छ । गतबर्ष सम्म पनि आर्यनले अफर आएका सबै चलचित्रमा काम गरेका थिए । आफ्नो करिअरको सुरुवातमा छानेर बर्षमा एउटा मात्र चलचित्रमा काम गरेका आर्यनले त्यसलाई लामो समयसम्म कायम राख्न सकेनन् । जवाफ सजिलो थियो-‘कलाकारलाई जीवन धान्न धौ-धौ छ । अर्थलाई पनि हेर्नुपर्छ ।’

अहिले आर्यनको हातमा जम्मा २ वटा चलचित्र छ । अझ, यसो भनौ आर्यनले अफर आएका सबै चलचित्र खेल्न छाडेका छन् । आफ्नो ब्यानर भन्दा बाहिरका चलचित्रमा काम नगर्ने उद्घोष आर्यनले गरिसकेका छन् ।

आर्यनको जस्तै अवस्था थियो, नायक जीवन लुइटेलको पनि । जब, ‘नाई नभन्नु ल’ खेलेपछि जीवनको चर्चा चुलियो । उनले पनि अफर आएका कुनै चलचित्र छाडेनन् । आर्यनको जस्तै अर्थलाई नै उनले धेरै चलचित्र खेल्नुको कारण बनाएका थिए । अहिले जीवन पनि कम चलचित्र खेल्ने दौडमा छन् । जीवनले केही हप्ता अगाडि मात्र चलचित्र ‘राधा’को छायांकन सकेका छन् भने ‘उजेली’मा काम गर्ने चर्चा छ । आर्यन र जीवन दुबै जना बर्षमा २ वटासम्म चलचित्र खेल्ने बताइरहेका छन् । जीवन र आर्यनको चलचित्र दौडमा अहिले ब्रेक लागेको छ ।

तर, अहिले २ चर्चित नायकको दौडमा व्रेक लाग्दा अर्का २ चर्चित नायकको गती पनि अस्वभाविक रुपमा बढेको छ । नायक निखिल उप्रेतीले गतबर्ष ५ बर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गरेपछि ५ वटा चलचित्रमा काम गरिसकेका छन् भने एउटा चलचित्रमा काम गर्ने तयारीमा छन् । करिब डेढ बर्षमै निखिलले आधा दर्जन चलचित्रमा काम गरिसकेका छन् । यो बर्षमात्र निखिलका ४ वटा चलचित्र रिलिज हुने पक्का जस्तै छ ।

निखिलले यदि, आफूले एउटा चलचित्रमा काम गरेवापत २० लाख पारिश्रमिक पाएको खण्डमा बर्षमा २ वटा मात्र चलचित्रमा काम गर्ने बताएका थिए । तर, न त निखिलको कुरा नै निर्माताले सुनेका छन् न त निखिलले आफ्नो गतीलाई थोरै मात्र भएपनि ब्रेक लगाउने कोशिश गरेका छन् । चलेको बेला यही नै हो भन्ने सोच निखिलमा हाबी छ ।

मल्टिप्लेक्समा राम्रो क्रेज बनाएका कलाकार दयाहाङ राइको गती अहिले सबैभन्दा अगाडि छ । दयाको हातमा अहिले चलचित्र नै चलचित्र छन् । उनले पनि अफर आएका सबै चलचित्रमा काम गरिरहेका छन् ।

दयाको ‘वीर विक्रम, झुम्की, पुरानो डुंगा, लुट २’ यो बर्ष नै प्रदर्शनमा आउने पक्का छ । दयाको हातमा अहिले यती धेरै चलचित्र छ कि, उनलाई चलचित्रमा काम गराउन निर्माताले बर्ष दिनसम्म कुरिरहेका छन् ।

अहिले दयाहाङले यही गतीमा चलचित्र गरेको खण्डमा उनको करिअर पनि राजेश हमालको जस्तै बन्ने टिप्पणी नभएको होइन । तर, दयाको गतीमा ब्रेक लाग्ने छाँटकाट छैन । नायक राजेश हमालले पनि बर्षमा धेरै चलचित्र गर्दा दर्शक हलमा जान छाडेका थिए ।

चलेका कलाकारलाई लिएर नेपालमा चलचित्र बनाउनेहरुको भीड नै लाग्छ । कारण, यहाँ २-४ जना मात्र यस्ता कलाकार छन्, जसको अनुहार हेरेर दर्शक हलसम्म जाने मुडमा हुन्छन् ।

तर, एउटै कलाकार बर्षमा धेरै पटक आउँदा दर्शक हलसम्म जान छाडेको उदाहरण धेरै छ । यो उदाहरण, राजेश हमाल, आर्यन सिग्देल, जीवन लुइटेल लगायतका कलाकारमा त लागू भैसकेको छ । निखिल र दयाहाङको करिअरमा धेरै चलचित्र खेल्दाको असर लागू हुन्छ या हुँदैन, केही समय प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment