Comments Add Comment

चलचित्रकर्मी नवीन सुब्बा र गुडबाई काठमाडौं !

बहसः पहिचानवादी कला साहित्यको संरचना कस्तो हुनुपर्छ ?

करिब ७ वर्षपछि चलचित्रकर्मी नवीन सुब्बासँग हङकङको अत्यासलाग्दो व्यस्ततामा फेरि भेट भयो अगस्ट ७ तारिखमा । नेपाली चलचित्र मात्रै होइन, कला, साहित्य, संस्कृति तथा समसामयिक राजनीतिक घटनाहरूबारे उनको विश्लेषण सुन्न त्यति नै मज्जा आउँछ, जति मज्जा कवि श्रवण मुकारुङको रसिक गफ सुन्न आउँछ ।

Hangyug Agyat
हाङयुग अज्ञात

उहिले हाम्रो भेट एक किसिमको ‘यायावर’ तालमा भएकै हो । तर, यो चोटि नेपाली पत्रकार संघ हङकङका अध्यक्ष किसन राईले नवीन सुब्बासँग ‘अन्तर्क्रियात्मक भेटघाट’ गराइदिए । भेट घतलाग्दो र फलिफापपूर्ण भयो सूचना र ज्ञानका हिसाबले । अर्थात् नेपाली चलचित्रबारे यौटा आधारभूत धारणा बनाउन पाइयो । मेरो आफ्नै सोच जाँच्ने मौका पनि मिल्यो ।

लाखौंको क्यामेरा किनेर मात्रै नहुने, त्यसलाई चलाउन सामान्य दर्शनशास्त्र या विचारधारा थाहा हुनुपर्ने । अनि क्यामेरा पनि चित्रकारको बुरुसजस्तै चल्दोरहेछ । लेखकको कलमजस्तै चल्दोरहेछ ।

चलचित्रमा ध्वनिको पनि आफ्नै अर्थ हुँदोरहेछ । रङ्गको नहुने त कुरै भएन । चलचित्र बनाउन कति धेरै कुराहरूमा ध्यान पुर्‍याउनुपर्ने रहेछ । महानायक राजेश हमालले हातको बाघेपन्जा क्यामेरातिर ल्याएर “हे !” भन्नु र आजका सुपरस्टार दयाहाङ राईले दुईवटै हातले पछाडिको कपाल मिलाउनु यौटै रहेछ, पुनरावृत्ति फगत ।

कति स्वादले विश्लेषण गरे उनले कि दुई अढाई घण्टा हातबाट माछा चिप्लेजस्तै एकैखेपमा बित्यो ।

“गुडबाई काठमाडौं” चलचित्र बनाउन सुरु गरेको पनि सातै वर्ष हुन लागेछ । यौटा चलचित्र बनाउन तेत्रो वर्ष खर्चिनु के जरुरी छ र ? हङकङका निर्माताहरूले उनले नसुन्ने गरी मेरो कानमा साउती मारे- ‘अबदेखि नवीन सुब्बाको चलचित्रमा लगानी गरिँदैन । काबु बनायो डाइरेक्टरले ।’ म दाँत नदेखाइकन, आवाज ननिकालिकन हाँसे भित्रभित्रै, केआइसिंह पुलमुनिको सेती खोलाजस्तो । आहा ! पोखरा, तर हिमाल खिच्नै जान्दैनौं हामी ।

नवीन सुब्बाले मौलिक नेपाली चलचित्रबारे कार्यपत्र प्रस्तुत गरेर ‘गुडबाई काठमाडौं’ ढीलो हुनुको कारण जो बताए, त्यो सुन्दा निर्माताहरू र दर्शकहरूले ढुक्क भए हुन्छ । उनका तर्कहरू सुनेर म पनि के निष्कर्षमा पुगें भने खासमा नेपाली चलचित्र बनेकै रहेनछ । अझ आदिबासी चलचित्र त बनेकै रहेनछ ।

नवीन स्वयंले स्वीकार गरे “नुमाफूङ” पनि आदिबासी चलचित्रको संरचनाअन्तर्गत बनेको होइन । नेपाली चलचित्रको मौलिक संरचनाको खोज उनको अहिलेको उद्देश्य रहेछ । उनको यो विचार सुनेर लाग्यो नेपाली चलचित्र जगतमा नवीन सुब्बा च्याब्रुङको ढिलो तालमा फरक क्रान्ति गर्दैछन् । नेपाली चलचित्रको नयाँ विश्वविद्यालय बनाउने प्रयत्नमा छ्न् नवीन । मौलिक नेपाली चलचित्रको व्याकरण र संरचनाको निर्माणमा जुटेका छन् नवीन । मलाई यस्तो लागेकै हो, उनलाई सर्काइरहन जरुरी छैन ।

पछिल्लो कालमा मलाई पनि नेपाली कला र साहित्यको संरचनाले नजानिँदो पाराले पिरोल्दैछ । विशेष गरिकन ‘पहिचानवादी कला साहित्य’को संरचना कस्तो हुनुपर्ने हो ? यो प्रश्नले सुत्न दिएको छैन । मौलिक नेपाली साहित्यको संरचना खोज्ने काम सोचेजस्तो सजिलो चैं पक्कै छैन । नवीन सुब्बाले मुखै खोले- ‘पहिचानवादी साहित्य भनेर कुर्लेका छन् । तर, कविता पाश्चात्य र पूर्वीय संरचनामा लेखेका छन् । अनि कसरी हाम्रो आदिवासीको पहिचान संरक्षण हुन्छ ?’ ५० को दशकमा सिर्जनशील अराजकताको अभियानमा विचारधारालाई मात्रै पहिचानवादी बनाइएछ । तर संरचना, शैली र शिल्प अरुकै लिइएछ । त्यो बोध हुँदै गर्दा चलचित्रमा नवीन सुब्बाले आदिवासी संरचनाको खोज गर्दै गरेको थाहा पाएर प्रोत्साहित नहुने कुरै नट् ।

आदिबासी चलचित्र निर्माणबारे उनको गम्भीर प्रश्न छ – “अरिष्टोटल र भरत-नाट्यशास्त्रको संरचनामा बनाइएको चलचित्रलाई कुन आधारले आदिवासी चलचित्र मान्ने ?” हो त, बेग्लै हुँदोरहेछ, आदिबासी चलचित्रको संरचना । त्यो त पिरामिड जस्तो होइन, वृत्तजस्तो हुँदोरहेछ । जस्तो, चेपाङले आफूलाई चाहिने जति कन्दमूल खनेर फेरि त्यो कन्दमूलको भेट्नुलाई त्यहीँ गाड्दोरहेछ । आदिबासी चलचित्रको संरचना जीवन-चक्र जस्तो हुँदोरहेछ गोलाकार ।

Nabin_Subbaतर, मलाई के लाग्यो भने नवीन सुब्बा अरिष्टोटल र भरतमुनिको नाट्यशास्त्रभन्दा अझै अगाडि गएको भए हुन्थ्यो । कला र साहित्यको सिद्धान्त अरिष्टोटल र भरत (दुवै ईसापूर्व ४००) ले त्यतिकै प्रतिपादन गरेका होइनन् । अरिष्टोटलले होमरकृत इलियाड र ओडिसी (ईसापूर्व ७००) जस्तो महाकाव्यबाट आख्यान सिद्धान्त बखानेका हुन् । त्यस्तै भरतले रामायण र महाभारत (ईसापूर्व ८००-४००) बाट नाट्यशास्त्र लेखे । ती रचनाहरूमा सोझै छिरेको भए हुन्थ्यो ।

अझै अगाडि जाने हो भने मेसोपोटामियाको कला र सभ्यतासम्म पुगिन्छ, जहाँ संसारकै प्रथम साहित्य लेखिएको थियो “दि इपिक अफ गिलगमेश” (ईसापूर्व २५००) । गिलगमेशमा हिरोगिरी भव्य छ, अहिलेका सुपरम्यान र ब्याटमेनजस्तै शक्तिशाली छ त्यो गिलगमेश ।

त्यस्तै पूर्वीय कला साहित्य केलाउने हो भने वेद (ईसापूर्व १८००-१२००) को संरचना हेर्नुपर्ने हुन्छ । पुराण स्वस्थानी (ईसापूर्व २००) का कथाहरू वेदभन्दा पुराना होइनन् । त्यसकारण पुराण कथाबाट सुरु गर्दा त्यो मूलजरा भेट्टाउन सकिन्न भन्ने मेरो आफ्नै जिकिर छ ।

गुडबाई काठमाडौंको काम अब अन्तिममा पुगेको छ भन्ने कुरो थाहा भयो । नवीन सुब्बाले नुमाफूङमा सिकेको तकनिक फेरि मस्तिष्कबाट मेटेर नयाँ संरचना बनाउँदै रहेछन्

मलाई त लाग्छ, पाश्चात्य र पूर्वीय (भारतीय उपमहाद्वीप) आख्यानमा कुनै अन्तर छैन । दुवैतिर नै उस्तै छ कथानक । होमरको हिरो आकिलिज र व्यासको हिरो अर्जुन उस्तै छन् । हेलेनजस्तै छिन् द्रौपदी र सीता । संरचना पनि उस्तै लाग्छ, नायकको सुखी संसारमा आगो लाग्छ, संघर्ष (युद्ध या द्वन्द्व) चल्छ र अन्तिममा नायिका या राज्यसत्ता पुरस्कार पाउँछ । बरदान पाउँछ, श्राप पाउँछ । दुवैतर्फ उस्तै छ ।

यता आदिवासी पहिचानको साहित्य लेख्दा या चलचित्र बनाउँदा किरात हो भने मुन्धुम (ईसापूर्व ५००० या प्राग ऐतिहासिककाल) को बनावट र संरचना हेर्न जरुरी देखियो । पहिचान ! पहिचान !! मात्रै कराएर नहुने भयो । साहित्य लेखनको नयाँ र मौलिक मोडेल नै बनाउनुपर्ने भयो । पहिचानवादी लेखकले वृत्तीय संरचना (चेपाङको कन्दमूल चक्र) मा लेख्न सक्छन्, त्यो सम्भावना देखियो । तर, यसलाई कसरी लेख्ने त ? लेखकले भाषाको बनावट र आदिवासी दर्शन बुझ्नुपर्‍यो । उसले सिकिसकेको पूर्वीय र पाश्चात्य लेखन शैली र शिल्पलाई मस्तिष्कबाट मेट्नुपर्‍यो ।

‘गुडबाई काठमाडौं’ को काम अब अन्तिममा पुगेको छ भन्ने कुरो थाहा भयो । नवीन सुब्बाले नुमाफूङमा सिकेको तकनिक फेरि मस्तिष्कबाट मेटेर नयाँ संरचना बनाउँदै रहेछन् । उनले स्वीकार नगर्लान् तर गुडबाई काठमाडौंमा आन्दोलन होइन, एक किसिमको क्रान्ति गर्दैछन् । उनका विचारहरूबाट मैले यही बुझें ।

नवीन सुब्बासँग फेरि पनि भेट हुने नै छ । तर अहिलेलाई गुडबाई काठमाडौं । उलुलुलुलुलुलु….!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment