Comments Add Comment

नवलपरासीका सबै क्रसर उद्योग बन्द

crosser-udhog

२८ साउन, कावासोती । नवलपरासीका सम्पूर्ण क्रसर उद्योगहरु बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार नवलपरासीका क्रसर उद्योगहरु नियमविपरित सञ्चालन भएको भन्दै बन्द गर्न र बिक्री वितरण गर्न पनि रोक लगाएको थियो ।

नवलपरासीमा १३ वटा क्रसर उद्योगहरु छन् । क्रसर व्यावसायीहरुले प्रशासनले बन्द गर्न पठाएको पत्रलाई उद्योगमा टाँसेर बुधबारदेखि व्यवसाय बन्द गरेको नेपाल क्रसर उद्योग व्यवसायी महासंघ नवलपरासीका चन्द्रमणि अधिकारीले जानकारी दिए ।

नवलपरासीका जिल्ला अनुगमन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी महादेव पन्तका अनुसार अघिल्लो वर्षको बजेटबाटै सरकारले चुरे क्षेत्र पर्ने जिल्लाका क्रसर उद्योग बन्द गर्ने घोषणा गरेका कारण बन्द गरिएको बताए ।

सरकारले २०७० सालदेखि क्रसर उद्योगहरुलाई खोला तथा नदीबाट ५ सय मिटर पर, वन, सार्वजनिक स्थान, विद्यालय, राजमार्गलगायतबाट २ किलोमिटर पर राख्नुपर्ने प्रावधान ल्याएको छ ।

सरकारले उक्त प्रावधान ल्याए पनि त्यस्ता स्थान कहीँ पनि नपाइएको व्यवसायीहरुले जनाएका छन् । नेपाल क्रसर व्यावसायी महासंघ केन्द्रीय सदस्य संजय श्रेष्ठले भने, ‘सरकारले दिएको प्रावधानअनुसार क्रसर उद्योग खोल्न मरभूमिमा जानु पर्छ । त्यस्ता ठाउँ नेपालमा छैनन् ।’

श्रेष्ठले क्रसर उद्योगबाट उत्पादनका साथै बिक्री वितरणसमेत सबै बन्द भएको बताए । उनले प्रशासनले बन्द गर्न लगाएपछि बन्द गरिएको बताए ।

श्रेष्ठले सरकार र महासंघबीच सरकारले तोकेको मापदण्डअनुसारको स्थान सरकारले उपलब्ध गराउने र सोही स्थानमा सञ्चालन गर्ने सहमति भएपनि सरकारले स्थान उपलब्ध गराउन नसकेका कारण क्रसर उद्योगहरु सार्न नसकेको हो । रुपन्देहीमा साउन १ गतेदेखि नै क्रसर उद्योग बन्द भएको छ ।

नेपाल क्रसर उद्योग व्यवसायी महासंघ नवलपरासीका चन्द्रमणि अधिकारीले नवलपरासीमा तयारी अवस्थामा रहेको स्टक सामाग्री ४ सय करोड रुपैयाँ रहेको र कच्चा पदार्थ २ करोड रुपैयाँको हाराहारीमा रहेको बताए ।

उनले आफूहरुले दर्ता गरेको क्रसर बन्द गराएर दुई नम्बरलाई प्रोत्साहन दिएको समेत आरोप लगाए । उनले सरकारले क्रसर उद्योग चलाउने वातावरण नबनाए उद्योग कवाडमा बेच्नुको विकल्पसमेत नरहेको बताए ।

उनले आफूहरु आन्दोलनमा नजाने तर न्यायका लागि अदालतको ढोका भने ढकढकाउने बताए ।

जिल्लामा रहेका १३ वटा क्रसर उद्योग बन्द हुने र उत्पादन भएका कुटिएका सामाग्री बिक्री नहुँदा व्यावसायीले बैंकको ऋणसमेत तिर्न नसकेर टाट पल्टिने अवस्था रहेको व्यावसायीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment