३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । धेरै चर्चामा रहेका प्रभु साह परेका छैनन् भने मधेसबाट सांसद अजय शंकर नायक परेका छन् ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नामबारे आइतबार विहान निकटवर्तीहरुसँग छलफल गरेका थिए । र, पाँच मन्त्रीको नाम मोटामोटी टुंगिएको एक नेताले अनलाइनखबरलाई बताएका छन् ।
उनका अनुसार जनार्दन शर्मा प्रभाकर, राम कार्की, हितराज पाण्डे र धनिराम (डीआर) पौडेल मन्त्री हुने भएका छन् । यस्तै मधेसबाट सिराहाका समानुपातिक सांसद नायक परेका छन् ।
यसअघि प्रभु साहको नाम चर्चामा थियो । उनलाई कानुन मन्त्री बन्न प्रस्ताव गरिएको थियो । तर, उनले स्थानीय विकास मागे थिए ।
मन्त्री बन्ने तयारीमा रहेका नेताहरुले सपथका लाागि तयारी अवस्थामा रहन भनिएको छ ।
कसलाई कुन मन्त्रालय ?
माओवादी स्रोतका अनुसार माओवादीबाट मन्त्री हुनेहरुको मन्त्रालय पनि टुंगो लागेको छ ।
प्रभाकरले उर्जा मन्त्रालय लिनेछन् । कार्कीले सञ्चार र पाण्डेले स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् भने पौडेललाई शिक्षा र नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
माओवादी उच्च स्रोतका अनुसार कांग्रेसले स्वास्थ्यको सट्टा शिक्षा मन्त्रालय लिन चाहेमा पौडेलको मन्त्रालय परिवर्तन हुनेछ ।
दुई राज्यमन्त्री बनाउने तयारी
माओवादीले दुई राज्यमन्त्री पठाउने तयारी गरेको छ । तर, नाम टुंगिएको छैन । महिला, जनजाति र मधेसीबाट राज्यमन्त्रीहरु पठाउने तयारी छ ।
राज्यमन्त्रीका लागि राधिका तामााङ, सीता नेपाली र आशा कोइरालाको नाम माथि छलफल भइरहेको नेताहरुले बताएका छन् ।
पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा माओवादीले आठ मन्त्रालय पाएको छ ।
जसमध्ये तीन मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । उपप्रधान तथा अर्थ मन्त्री कृष्ण महरा, युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली र गौरीशंकर चौधरी कृषि मन्त्री छन् ।
प्रतिक्रिया 4