Comments Add Comment

हेल्लो सरकार ! काठमाडौंमै ठगियौं, न्याय चाहियो (भिडियोसहित)

म्यानपावरबाट यसरी ठगिँदैछन् बेरोजगार युवा

 म्यानपावरबाट ठगिएका एक कामदार
म्यानपावरबाट ठगिएका एक कामदार । उनकै आग्रहअनुसार अनुहार देखाइएको छैन ।

३२ साउन, काठमाडौं । एयरपोर्ट वरपर युवाको एउटा समूह १५ दिनदेखि दिनभरि यता-उता भाैंतारिरहेको छ । यो समूहमा संखुवासभाका ८ युवक छन् । वैदेशिक रोजगारीमा लागि दुबई जनका लागि घरबाट विदावारी भएर आएका उनीहरु ‘घर न घाटको’ भएका छन् ।

उनीहरु साझा पीडामा छन्, विदेश गएर पैसा कमाउने सपना तुहियो । त्योभन्दा ठूलो पीडामा उनीहरु यसकारण छन् कि ऋण गरेर भेरिकर्णाली म्यानपावरलाई बुझाएको ठूलो रकम ठगिएको छ । रकम बुझेपछि म्यानपावरका निर्देशकलाई त्यही संस्थाले ‘मेरो मान्छे हैन’ भन्दै पन्छिन खोजेको छ । तर, यसलाई म्यानपावरले बुनेको जाल मान्छन्, ठगिएका युवाहरु ।

अनलाइनखबरको टिम उनीहरु बसेको होटल पुग्दा उनीहरु निराश अवस्थामा भेटिए । कोठाको ओछ्यान असरल्ल थियो । ‘टीभी हेर्नेबाहेक के नै काम छ र, म्यानपावरले धोका नदिएको भए यतिबेला दुबईको स्टार होटलमा वेटरको काम गर्दै हुन्थ्यौं होला’ एक युवकले गुनासो पोखे ।

प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले १६ लाख रुपैयाँ बुझाएपछि ठगिएका उनीहरु ठूलो तनावमा छन् । त्यसैले ठगी गर्ने म्यानपावर र रकम लिएर बेपत्ता भएका निर्देशकलाई कारवाही गर्न र आफ्नो रकम फिर्ता गराइदिन माग गर्दै उनीहरु विभिन्न निकायमा धाइरहेका छन् ।

तर, उनीहरुले सहयोगको अपेक्षा पाउने बचनभन्दा बढी तिरस्कार र अपमान भोगिरहेका छन् । तैपनि गुमेको पैसा फिर्ता पाइने झिनो आश मारेका छैनन् । यो खबर उनीहरुले घरमा भनेका छैनन्, किनकि ऋण गरेर लिइएको रकम ठगिएको कुराले तनाव मात्रै दिन्छ । त्यसैले कुराकानीमा उनीहरुले आफ्नो परिचय सार्वजनिक नगरिदिन आग्रह गरे ।

कसरी ठगियो ?

ठगिएका आठ युवामध्ये ६ जना यसअघि नै वैदेशिक रोजगारीमा गएर फर्किसकेका हुन् । २ जना भने पहिलोपटक विदेश जाने योजनामा थिए ।

विदेश जानका लागि उनीहरुले गाउँका एक युवकमार्फत भेरी-कर्णाली म्यानपावरमा सम्पर्क गरे । सम्पर्कमा आए म्यानपावरका निर्देशक नगेन्द्रबाबु आरसी । उनीसँग सम्पर्क गराउने युवक पनि ओमान जानका लागि त्यही म्यानपावरमार्फत प्रोसेसिङ गर्दै थिए ।

युवकहरु निर्देशक आरसीलाई भेट्न भेरिकर्णाली म्यानपावरको काठमाडौं मित्रपार्कस्थित कार्यालय आए । एक युवक भन्छन्-‘कार्यालयमा जाँदा त मोबाइल पनि लैजान नपाइने रहेछ । पुरै स्टान्डर्डसँग बसेको थियो त्यो निर्देशक । म्यानपावरको निर्देशकलाई नै भेटेर दुबई जाने भनियो । उनले पनि एक होटलका लागि डिमान्ड आएको छ भने ।’

म्यानपावरको निर्देशक भएको भिजिटिङ कार्ड नै देखाएपछि उनीहरु विश्वासमा पर्नु अस्वभाविक थिएन । त्यसपछि उनीहरुले भिसाका लागि पासपोर्ट बुझाए । केही दिनमा भिसा आएको खबर आयो र उनीहरु काठमाडौं आए । फ्लाइट फिक्स भएको भन्दै फोन गरेपछि दुई हप्ता अघि नै आठै जना युवा घरबाट विदा भएर निस्कएका थिए उनीहरु । म्यानपावरमा गएर बुझ्दा दुबईको रोयल प्यालेस होटलका लागि भिसा लागेको कागज देखाइयो ।

visa and visiting card
म्यानपावरका निर्देशक आरसीको भिजिटिङ कार्ड र देखाइएको भिसाको कागजपत्र

महिनामा ४२ हजार कमाइ हुने, आेभर टाइम पाइने लगायतका आश्वासन दिइयो । त्यसपछि खर्चबारे बुझ्दा सुरुवातमा २ लाख ३० हजार रुपैयाँ लाग्ने म्यानपावरले बतायो । उनीहरु पैसा लिएर म्यानपावर पुगे । तर, म्यानपावरमा पैसा लिँदा समस्या हुन्छ भन्दै खातामा पैसा हाल्न भन्यो । त्यसैअनुसार उनीहरुले रकम जम्मा गरिदिए । उनीहरुसँग रकम जम्मा गरेको रसिद साथैमा छ ।

तर, जब पैसा बुझे म्यानपावरको बोली फेरिन थाल्यो । सुरुवातमा उनीहरुलाई फ्लाइट क्यान्सिल भयो भनेर केहीदिन कुर्न भनियो । होटलमा ७ हजार रुपैयाँ तिरिदिएर नउडुञ्जेसम्म आफ्नै खर्चमा राख्ने आश्वासन दियो ।

गत सोमबार सोमबार बेलुका निर्देशक आरसीले फोन गरेर आफू टिकट काट्न ट्राभल एजेन्सीमा रहेको र आफूलाई थकाइ लागेकाले मंगलबार विहानै टिकट होटलमै ल्याइदिने बताएका थिए । तर, मंगलबार विहान उनको फोन स्वीच अफ भयो । त्यही पनि उनीहरु आत्तिएनन् र हवाइ टिकेट लिन म्यानपारको कार्यालय पुगे ।

तर, म्यानपावरले उनीहरुलाई भित्र छिर्न दिएन र भनियो- निर्देशकले १ वर्षअघि नै काम छोडेका हुन् । १५ दिन अघि मात्रै त्यही अफिसमा उनीहरुले निर्देशक आरसीलाई भेटेका थिए । उनको कोठामा निर्देशकको बोर्ड झुण्ड्याइएको थियो । म्यानपावरको सञ्चालकलाई भेटौं भन्दा निर्देशक आरसीले आफ्नो भाउजु हुन् भन्दै आफूलाई भेट्दा हुने भन्दै टारेका थिए ।

thagi (1)
ठगिएका कामदार आफूसँग कागजपत्र प्रमाणको रुपमा देखाउँदै ।

म्यानपावरमै बसेर लुटियो 

अहिले निर्देशक आरसी लाखौं रकम लिएर बेपत्ता छन् । म्यानपावरले उनी आफ्नो आधिकारिक कर्मचारी नभएको दाबी गरिरहेको छ । तर, युवाहरु यो मान्न तयार छैनन् । ‘हामीले त्यही म्यानपावरको कार्यालयमा गएर उनलाई भेटका हौं । म्यानपावरले एकवर्ष अघि निकालेको मान्छे भए निर्देशकको बोर्ड झण्ड्याएर त्यही आफिसभित्र किन बस्छ ? किन भिजिटिङ कार्ड भेरिकर्णालीको नाममा बनाउँछ ?, ठगिएका एक युवक भन्छन् ।

उनीहरुले भनेका छन्, ‘हामीले व्यक्तिसँग हैन, भेरिकर्णाली म्यानपावरसँग कारोबार गरेका हौं । उनले फ्री भिसा छल्न उनको व्यक्तिगत खातामा रकम जम्मा गर्न लगाएका हुन् ।’

bherikarnali-manpowerयुवाहरुको पैसा व्यक्तिगत खातामा हाल्न लगाउने म्यानपावरले अहिले आफूलाई जानकारी नै नभएको भनेर ढाँटिरहेको छ ।

यो म्यानपावर फ्री भिसा कार्यान्वयन नगरेको भन्दै गत वैशाखमा पनि कारवाहीमा परेको थियो । तर, पटक-पटक ठगी गरेपनि खारेजी नगर्ने सरकारी नीतिले युवाहरु ठगिने क्रम रोकिएको छैन ।

म्यानपावरकी सञ्चालिका कल्पना रावतले रकम लिएर भाग्ने नगेन्द्रबाबु आरसी आफ्नो जिल्लाको चिनेको भाइ भएको बताइन् । त्यसैकारण उनले आफूले म्यानपावरमा उनलाई कोठा दिएको र उसले ठग्ला भन्ने नसोचेको भन्दै आफ्नो बचाउ गरिन् ।

रावतले एकवर्ष अघिसम्म उनी आफ्नो म्यामनपावरमा कार्यरत रहेको भएपनि अहिले आफ्नो कार्यालयसँग कुनै सम्बन्ध नरहेको दाबी गरेपनि किन आरसीलाई कार्यालयमा स्थान दिइयो भन्ने अनलाइनखबरको प्रश्नमा नाजवाफ रहिन् ।

उनले आफ्नो म्यानपावरले अफिसियल रुपमा पैसा नुबुझेकाले त्यसको जिम्मेवारी नलिने भन्दै पन्छिइन् ।

न्यायको आशा

यसरी ठगिनेमा संखुवासभाका युवा मात्रै छैनन् । रोल्पाबाट आएका थुप्रै युवाको रकम लिएर आरसी बेपत्ता भएका छन् ।ठगिएका १४ जना युवाले २७ लाख ठगिएको वैदेशिक रोजगार विभाग र प्रहरीको अपराध अनुसन्धान महाशाखामा पनि उजुरी गरेका छन् । उनीहरु त्यहाँबाट न्याय पाइन्छ भन्ने झिनो आशामा छन् ।

thagi (2)
ठगिएका कामदार अनलाइनखबरसँग पीडा सुनाउँदै

‘विभागले एक हप्तापछि फेरि बोलाउँछु भनेको छ । तर, होटलमा ३० हजार बढीको बिल उठिसक्यो । अब त्यो रकम फिर्ता लिन सकिएन भने अरु ऋण बढ्छ’ एक युवकले निराश हुँदै भने,’सरकार फ्री भिसा भन्छ । हामीलाई फ्री भिसामा जाने भए सरकारसँगै गएर माग भन्छन् । पैसा तिरेरै जाउँ न त भनेर लाग्दा म्यानपावरभित्रै बस्नेले ठग्छन् । अनि म्यानपावर चलाउने नै भन्छ, ठग्ने मेरो मान्छे होइन ।’

अब म्यानवारले नै योजना बनाएर ठगी गरेको हुन सक्ने आशंका युवाहरुको छ । तर, प्रमाण नभएकाले उनीहरु प्रहरी र विभागको अनुसन्धानको निश्कर्षको प्रतिक्षामा छन् । उनीहरु कुनै छिनोफानो नभएसम्म घर फर्किन अप्ठेरो भएको बताउँछन् ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment