Comments Add Comment

नक्कली नागरिकताको सिफारिस गर्ने गाविस सचिवले पत्रकारलाई भने- घरमै आउनोस्, कुरा मिलाउनुपर्छ !

nakali_nagarikta(1)
भारतीयलाई नेपाली नागरिकता बनाइदिने सिफारिस रद्द गरिएको ढड्डा

१ भदौ, झापा । अनलाइनखबरकर्मीसहितको टोली मंगलबार दिउँसो करिब ३ बजेतिर कुरमखोद गाविस कार्यालयमा पुग्दा सचिव राजेन्द्र पराजुली त्यहाँ थिएनन् ।

सचिवज्यूले एक भारतीय युवकलाई नेपाली नागरिकता बनाइदिने सिफारिस गरेको सुनेपछि यसबारे तथ्य कुरो बुझ्न झापाका पत्रकार कुमरखोद गाविस कार्यालयमा पुगेका थिए ।

गाविस कार्यालयमा रोचक घटना भयो । कार्यालयमा समयमा पनि सचिव पराजुली कार्यकक्षमा भेटिएनन् । जन्मदर्ता र नागरिकता सिफारिसको मिसिल हेर्न पत्रकारको टोलीले अन्य कर्मचारीहरुसँग माग गर्‍यो । तर, सचिवबिना आफूहरुले कुनै हालतमा कागजात देखाउन नमिल्ने कर्मचारीहरुले बताए ।

‘हामीलाई आदेश छैन’, कार्यालयका मुखिया सुवासलाल गणेशले भने, ‘सचिव भएका बेला आउनुहोस्, अनि मात्रै देखाउँला ।’ केही कर्मचारीले थपे- ‘अघिल्लो पटक पनि हामीले गाली खाएका थियौं, सरको आदेशविना कुनै कागजात पनि जोसुकै आए पनि दिँदैनौं ।’

कार्यालय समयमा पनि घरैमा बसेका उनले पत्रकारहरुलाई आफ्नै घरमा आउन आग्रह गरे । उनले भने, ‘सबै कुरा मिलाउनुपर्छ, त्यसका लागि तपाईंहरु मेरो घरैमा आउनुस् ।’

केहीबेरको दोहोरीपछि एक कर्मचारीले सचिव पराजुलीलाई फोन लगाए । फोन लाउडमा राख्न भनियो । ती कर्मचारीको फोन सुरुमा त सचिवले उठाएनन् । तर, ५/६ पटक गरिसकेपछि भने अन्तिममा फोन उठ्यो । कर्मचारीले ‘कार्यालयमा पत्रकारहरु आएर जन्मदर्ता र नागरिकताको ढड्डा हेर्न खोज्दैछन्’ भने ।

‘को पत्रकार ? म नहुञ्जेल कसैलाई केही पनि जानकारी नदिनू । त्यससँग सम्बन्धित सबै कागजात सरसँगै छ भन्दिनू’ फोनमा सचिव कड्किए । फोन काटियो ।

फेरि पत्रकारहरुले सचिव पराजुलीलाई फोन लगाएर सोधे, ‘नागरिकता र  जन्मदर्ताको ढड्डा हामी हेर्न चाहन्छौं ।’

तर, उनले फेरि सिधैं अस्वीकार गरे । र, कार्यालय समयमा पनि घरैमा बसेका उनले पत्रकारहरुलाई आफ्नै घरमा आउन आग्रह गरे । उनले भने, ‘सबै कुरा मिलाउनुपर्छ, त्यसका लागि तपाईंहरु मेरो घरैमा आउनुस् ।’

जन्म दर्ता र नागरिकताका विषयमा आवश्यक कागजात कार्यालयमा हुन्छ कि सचिवको घरमा हुन्छ ? यस्तो जिज्ञासामा उनले भने, ‘केही कमीकमजोरी होलान् । सबै कुरा फोनमा भन्न मिल्दैन । त्यसैले घरैमा आउनुस्, म देखाउँछु ।’

असार ५ गते जमिल अलीको जन्मदर्ता बनाइएको रहेछ । त्यसको ठीक ३ दिनपछि अर्थात्, असार ८ गते नागरिकताका लागि अनुसूचि फारम भरेर कारवाही अघि बढाइएछ

सचिव पराजुलीले यसो भनिरहँदा कार्यालयकै एक कर्मचारीले कागजात देखाउँदैमा के हुन्छ ? भनिन् । र, नागरिकता र जन्मदर्ताको ढड्डा पल्टाइदिइन् ।

कागजपत्र हेर्दा थाहा भयो, असार ५ गते जमिल अलीको जन्मदर्ता बनाइएको रहेछ । त्यसको ठीक ३ दिनपछि अर्थात्, असार ८ गते नागरिकताका लागि अनुसूचि फारम भरेर कारवाही अघि बढाइएछ ।

यही कागजातका आधारमा असार २५ गते जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिन अली पुगे । तर, कर्मचारीहरुको सतर्कताका कारण गाविस सचिव र नक्कली बाबु बनेका हसरतको योजना सफल हुन पाएन ।

गाविस सचिव पराजुलीले जन्मदर्ता र नागरिकतासम्बन्धी फारमहरु आफैंले भरेको कार्यालयमा रहेको कागजबाट खुलेको छ । जन्मदर्ताको सूचना फारम, नेपाली नागरिकताको अनुसूचिलगायतका आवश्यक कागजात दर्ता चलानी शाखामा आइनपुगी सचिवको कार्यकक्षबाटै सिफारिस भएको भेटियो ।

ती फारमहरुका विषयमा अन्य कर्मचारीहरुले अनविज्ञता जनाए । कार्यालयका मुखिया सुवासलाल गणेश र प्राविधिक सहायक शैलेन्द्र उप्रेतीले जन्मदर्ता र नागरिकता सिफारिसको ढड्डामा थपिएको नौलो नामबारे थाहा नपाएको बताए ।

तर, जब सिफारिस भएको अभिलेखमा ३३ दिनपछि सचिव पराजुलीले ‘निवेदकले गलत विवरण भरेको खुल्नमा आएकाले सिफारिस रद्द गरिएको छ’ भनी रातो मसीले लेखेको भेटियो, तब ती कर्मचारीहरु झसङ्ग भए ।

अधिकृतलाई शंका लागेपछि योजना तुहियो

गाविस सचिवले जिल्ला प्रशासन कार्यालय झापालाई गत असार ८ गते जमिलको नागरिकताका लागि सिफारिस गरेका थिए । तर, जिप्रका झापामा नागरिकता लिनका लागि हजरत अलीका नक्कली छोरा बनेर गएका जमिल अलीले नागरिकता पाएनन् ।

जमिल हजरतका सक्कली छोरा नासोदसँगै नक्कली छोरा पनि नागरिकता लिनका लागि प्रशासन कार्यालय पुगेका थिए । प्रशासनका शाखा अधिकृतले शङ्का लागी केरकार गर्दा दुबैको फरक-फरक जवाफ आएपछि नागरिकता सम्बन्धी कारबाही रोकिएको स्रोतको भनाइ छ ।

शङ्का लागेपछि जिल्ला प्रशासन कार्यालय झापाले ८८६९ पत्र नम्बरको पत्र जिल्ला प्रहरी कार्यालयलाई लेख्दै गोप्यरुपमा जमिल हजरतका छोरा हुन् कि होइनन् बुझ्न भन्यो । जिप्रकाले सोही व्यहोराको आदेशसहित स्थानीय सीमा प्रहरी चौकी कुमखोद र टाघनडुब्बालाई पत्रचार गर्‍यो ।  त्यसपछि प्रहरीले ७ दिन दिनसम्म यो विषयमा छानविन गर्‍यो ।

अन्ततः ७ दिनपछि यथार्थ कुरा निस्कियो । जमिलका बुबा हजरत होइनन् भन्ने पुष्टि भयो । योसँगै गाविस सचिवको गलत काम छताछुल्ल भयो ।

हुँदै नभएको छोरालाई नागरिकता दिलाइदिने बाबु र नागरिकता दिने आश्वासन दिने गाविस सचिव दुबै नागरिकता प्रकरणका दोषी हुन्

छिमेकी बने बुबा !

पत्रकारको टोली वास्तविकता पत्ता लगाउन अलीको गाउँमै पुग्यो । पत्रकारको टोलीलाई स्थानीय छिमेकीले जमिल ‘हजरत’ को छोरा नभएको पुष्टि गरे । उनीहरुले भने, ‘सहोदर छिमेकी हुन्, तर, बाबुछोरा होइनन् ।’

एक स्थानीयले भने, ‘हुँदै नभएको छोरालाई नागरिकता दिलाइदिने बाबु र नागरिकता दिने आश्वासन दिने गाविस सचिव दुबै नागरिकता प्रकरणका दोषी हुन् ।’

स्थानीयका अनुसार जमिलका बुबाले केही वर्षअघि नेपाली अङ्गीकृत नागरिकता लिएका छन् । तर, उनी पनि भारतीय नै भएको स्थानीयको भनाइ छ । यो परिवार विगत केही वर्षयता मात्रै झापामा बस्दै आएको हो ।

जमिलको नागरिकता बनाउनलाई सिफारिस गर्नेहरुमा नेकपा माओवादी केन्द्र गाउँ कमिटीका अध्यक्ष देवी अधिकारी र नेकपा एमाले गाउँ कमिटीका अध्यक्ष रङ्गलाल दाहालसमेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment