
शुक्रबारबाट काठमाण्डौमा र बिहिबारबाट काठमाण्डौ बाहिर रिलिज हुने भन्दै प्रचार गरिएको चलचित्र ‘चपली हाइट २’ बिहिबार काठमाण्डौमा पनि लाग्ने भएको छ । निर्माता अर्जुन कुमारका अनुसार भोलीबाट काठमाण्डौका सबैजसो मल्टिप्लेक्समा चलचित्र लाग्न लागेको हो । चलचित्रको वुकिङ पनि विभिन्न मल्टिप्लेक्सले खुला गरिसकेका छन् ।
निर्माता कुमारले भने-‘हामी त शुक्रबारबाटै लगाउने तयारीमा थियौ । तर, अशोक शर्मा र उहाँको टिमले बिहिबारबाटै लगानी तयारी गरेको हो । चलचित्र भोलीबाट नै लाग्छ ।’
चलचित्रको सुरुवाती प्रचारमा पनि बिहिबार लाग्ने भनिएको थियो । तर, चलचित्र विकास बोर्डले शुक्रबारबाट चलचित्र लगाउनु पर्ने बताउँदै आएका थियो । अन्तिममा निर्माताले बोर्डमा शुक्रबारबाटै काठमाण्डौमा चलचित्र लगाउने बताएका थिए ।
तर, आज एकाएक चलचित्र बिहिबारबाट लाग्ने भन्दै बुकिङ खुल्ला गरिएको छ । यस बिषयमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले भने-‘अहिले बुकिङ खुल्ला भएर केही हुँदैन । भरेसम्म हामी जानकारी गराउँछौ । चलचित्र शुक्रबारदेखि नै लाग्छ ।’
अध्यक्ष राइले सिस्टम बसाल्ने काम चलचित्र विकास बोर्डको भएकाले सिस्टममै काम हुने बताए । वुझिए अनुसार चलचित्रका निर्माता अर्जुन कुमारले सेन्सर गर्नु भन्दा अगाडि चलचित्र विकास बोर्डमा शुक्रबारबाट नै चलचित्र लगाउने भन्दै हस्ताक्षर गरेका थिए । उनको हस्ताक्षरपछि मात्र चलचित्रको सेन्सर अनुमती दिइएको थियो ।
निर्माता कुमारले भोलीबाट चलचित्र चलाउने भन्दै आफू दौडधुपमा लागेको बताएका छन् । अब, यस बिषयमा बोर्डले कस्तो कदम लिन्छ, भरेसम्म थाहा हुनेछ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा आयुष्मान देसराज, परमीता आरएल राना, मरिष्का पोख्रेल लगायतका कलाकारको मुख्य भूमिका छ ।
यस्तै, भोलीबाट नै काठमाण्डौमा चलचित्र ‘वीर विक्रम’ पनि लाग्ने जानकारी प्राप्त भएको छ । काठमाण्डौको कमलपोखरीमा रहेको वीग मुभिजले दिएको जानकारी अनुसार भोलीबाट ‘वीर विक्रम’ पनि रिलिज हुनेछ । यो चलचित्रको बुकिङ खुला गरिएको जानकारी वीग मुभिजले दिएको छ ।
यसैबीच उपपराष्ट्रपति नन्दकिशोर पुनले चलचित्र विरविक्रम हेरेका छन् । उनले बिग मुभिजमा पुगेर चलचित्र हेरेका हुन् ।
प्रतिक्रिया 4