१० भदौ, काठमाडौं । मन्त्रीहरुको सपथ ग्रहणका लागि समाचार संकलन एवं तस्वीर खिच्न शीतलनिवास पुग्ने पत्रकारहरुलाई राष्ट्रपति कार्यालयले दुख दिने र दुव्र्यवहार गर्ने चलन नयाँ होइन ।
शुक्रबार बिहान पनि राष्ट्रपति कार्यालयको गेटमा पत्रकाहरु त्यस्तै दुव्र्यवहारको शिकार बने ।
मन्त्रीको सपथ ग्रहणजस्तो महत्पवूर्ण कार्यक्रमको तस्वीर खिच्न गएका पत्रकारलाई भित्र छिर्न नदिने विद्या भण्डारी राष्ट्रपति भएपछि निरन्तररुपमा हुँदै आएको छ ।
शुक्रबार बिहान ९ बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको सूचना सार्वजनिक भएको थियो । ९ बज्न लाग्दा गेटमा पुगेका पत्रकारलाई कर्मचारीहरुले भित्र प्रवेश गर्न दिएनन् ।
धेरै जना मन्त्रीको सपथ ग्रहण गर्नुपर्ने भएकाले उनीहरुका आफन्तजन धेरै आएका र पत्रकारलाई ठाउँ नभएको भन्दै कर्मचारीले गेटमा रोकेका हुन् । ‘धेरै मन्त्रीज्यूहरुको सपथग्रहण छ, उहाँहरुका आफन्तजन धेरै हुनुहुने भएकाले हलमा पत्रकारलाई ठाउँ छैन,’ राष्ट्रपति कार्यालयका सूचना अधिकारी एवं सहप्रवक्ता ध्रुवराज आचार्यले अनलाइनखबरसँग भने, ‘भित्र बस्ने ठाउँ नपाएर पत्रकारलाई अपमान नहोस् भनेर म नै आफैं गेटमा जानकारी गराउन आएको हुँ ।’

राष्ट्रपति विद्या भण्डारीका सञ्चार विज्ञका रुपमा नियुक्त पत्रकार माधव शर्मालाई हामीले सोध्यौं- ‘यो तपाईहरुको के पारा हो ? पञ्चायतकालमा पनि यस्तो हुँदैनथ्यो, मन्त्रीको सपथ ग्रहणमा मुख्य मुख्य मिडियाका सञ्चारकर्मीलाई छिर्न नदिने यो तपाईको नीति गणतन्त्रमा कसरी शोभनीय हुन्छ । ?’ शर्माले आफू त्यहाँ पुग्न लागेको र केही समयमा मिलाउने बताए ।
राष्ट्रपति कार्यालयमा हुने समारोहरुमा मन्त्रीका छोराबुहारीदेखि आसेपासेहरुलाई सम्म छिराइने गरिन्छ । तर, उनीहरुले त्यस्ता महत्वपूर्ण कार्यक्रममा मुख्य सञ्चार माध्यममा सञ्चारकर्मीहरुलाई अनिर्वायरुपमा प्रवेश गर्न दिइनु आफ्नो दायित्व हो भन्ने कहिल्यै महसुस नगर्दा पत्रकारहरुले राष्ट्रपति कार्यालयको गेटमा सधैं दुव्र्यवहार सहँदै आएका छन् ।
सुरक्षाका नाममा राष्ट्रपति र उनका सल्लाहकारहरु सेनाका अगाडि कुनै पनि निर्णय गर्न नसक्ने निरीह जस्ता देखिने गरेको अनुभव त्यहाँ पुगेर हैरानी झेल्ने सञ्चारकर्मीहरुको छ ।
यसैबीच, फोटो पत्रकारहरुको संस्था पीजे क्लवले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपति कार्यालयबाट पत्रकारमाथि भएको यस्तो दुव्र्यव्यहार प्रति खेद जनाएको छ ।
प्रतिक्रिया 4