+
+
Shares

राष्ट्रपति कार्यालयबाट चोरिए हात्तीका दाह्रा

पक्राउ परेका व्यक्तिले राष्ट्रपति कार्यालयबाट चोरी गरेर लगेका दाह्रा काटेर भाग लगाएर आ–आफ्ना घरमा सजाएर राखेको पाइएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ जेठ २० गते १०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत भदौमा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएका हात्तीका दुई थान दाह्रासहित प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
  • २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा शीतल निवास तोडफोड हुँदा भित्तामा सजाइएका ती दाह्रा चोरी भएको प्रहरीले जनाएको छ ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क र मनमैजु क्षेत्रबाट मंगलबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

२० जेठ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको खुलेको छ । यसको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको २४ सै घण्टा सुरक्षामा रहने राष्ट्रपति कार्यालय समेत निशानामा परेको थियो । त्यतिबेला प्रदर्शनकारीले राष्ट्रपति निवास तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए ।

राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका तस्बिरहरु समेत जलाउने, भाँच्ने काम भएका थिए । यही मौकामा भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी भएको खुलेको हो ।

चोरी भएको करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीको आरोपमा ६ जनालाई दाह्रासहित पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रमा मंगलबार राति अपरेशन चलाएर केही व्यक्तिलाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पनि दाह्रा चोरीमा संलग्नहरुलाई पक्राउ गरिएको पुष्टि गरे । ‘हाम्रो टोलीले हात्तीका दाह्रा चोरीमा संलग्नहरुलाई पक्राउ गरेको छ । थप अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।

प्रहरीले पक्राउ परेकाहरुको नाम अहिलेसम्म गोप्य राखेको छ । पक्राउ परेका व्यक्तिले राष्ट्रपति कार्यालयबाट चोरी गरेर लगेका दाह्रा काटेर भाग लगाएर आ–आफ्ना घरमा सजाएर राखेको पाइएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?