+
+
Shares

कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

राष्ट्रपति कार्यालयको १६ करोड २९ लाख ४७ हजार रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको महालेखाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनमा कागजात जलेका कारण राष्ट्रपति कार्यालयको आर्थिक वर्ष २०८१/८२ काे लेखा परीक्षण हुन सकेन।
  • महालेखा परीक्षकको कार्यालयले संघीय, प्रदेश, स्थानीय तह लगायत ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण गरेको छ।
  • कुल १ सय ७९ कार्यालयको कागजात जलेर १ खर्ब ४७ अर्ब ९० करोड बराबरको लेखा परीक्षण प्रभावित भएको महालेखा परीक्षक तोयम रायाले बताए।

५ जेठ, काठमाडौं । २३-२४ भदौ २०८२ को जेनजी आन्दोलन क्रममा कागजात जलेका कारण यस वर्ष राष्ट्रपति कार्यालयकै लेखा परीक्षण हुन नसकेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार राष्ट्रपति कार्यालयमा कुल ६८ कर्मचारीको दरबन्दी छ । आर्थिक वर्ष २०८१/८२ को स्रेस्ता र त्यससँग सम्बन्धित कागजात जेनजी आन्दोलन र घटनाका कारण पेस हुन नआएकाले विनियोजनतर्फ १४ करोड १९ लाख १२ हजार र राजस्वतर्फ ५३ हजार तथा धरौटीतर्फ २ करोड ९ लाख ८२ हजार समेत १६ करोड २९ लाख ४७ हजार रुपैयाँ बराबरको लेखा परीक्षण हुन नसकेको कार्यालयले जनाएको छ ।

महालेखाका अनुसार जेनजी आन्दोलनका कारण डेढ खर्बमाथिको लेखा परीक्षण प्रभावित भएको छ । महालेखा परीक्षक तोयम रायाका अनुसार  यस वर्ष संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समिति समेतको कुल ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण भएको छ ।

कुल १ सय ७९ कार्यालयको भने कागजात जल्दा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखा परीक्षण प्रभावित भएको महालेखा परीक्षक रायाले जानकारी दिए ।

यस वर्ष संघीय निकायतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब ५ करोड बेरुजु कायम भएको छ ।

समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड बराबरको बेरुजु देखिएको छ । कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड छ । एक वर्ष अवधिमा १४ अर्ब ६३ करोड रुपैयाँ बराबर असुल भएको छ । जुन उत्साहजनक रहेको रायाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?