१६ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार मुलुककै जेठो अस्पतालका रुपमा रहेको ‘वीर अस्पताल’को निरीक्षण गरेका छन् ।
स्वास्थ्यसचिव सहित पुगेका मन्त्री थापाले अस्पतालका पदाधिकारी तथा कर्मचारीसँग छलफल समेत गरेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ्गले अस्पतालको वस्तुस्थितिबारे जानकारी गराए ।
मन्त्री थापाले विभिन्न डिपार्टहरुको भ्रमण गर्ने क्रममा विगि्रएको रेडियसन मेसिनको पनि अवलोकन गरेका छन् ।
उपकुलपति डा. गणेश गुरुङ्गका अनुसार यो झण्डै एक वर्षदेखि विगि्रएको छ । मेसिनको मूल्य अस्पतालको बजेटभन्दा बाहिर रहेकाले अर्को खरिद गर्न नसकिएको उनको दाबी थियो ।
जबकी उनैले अस्पतालका आय व्ययबारे मन्त्री थापालाई जानकारी गराउने क्रममा गएको आर्थिक वर्ष नेपाल सरकारबाट ६७ करोड रुपैयाँ अनुदान पाएको बताए । अस्पतालको आन्तरिक आम्दानी २३ करोड रुपैयाँ छ भने विद्यार्थी प्राज्ञिक भर्ना शुल्क वाफत ५ करोड २९ लाख र विद्यार्थी भर्ना तथा शैक्षिक शुल्क वापत ५ करोड ५० लाख रुपैयाँ आम्दानी गर्दै आएको बताएका छन् ।
रेडियसन मेसिन विगि्रएका कारण वीरमा आएका विरामीहरु समेत अन्य अस्पताल धाउनु पर्ने बाध्यता छ । उनीहरुले अन्य अस्पतालमा रेडियो थेपारीवापत न्युनतम २५ हजारदेखि ६५ हजार रुपैयाँसम्म लिर्छन् । र, यसका लागि लामो समयसम्म पालो पर्खनु पर्ने बाध्यता छ ।
यदि वीरको मेसिन मर्मत गरेको खण्डमा एउटा विरामीले त्यहाँ पाच हजार रुपैयासम्ममा नै उपचार गर्न सक्दछन् ।
स्वास्थ्यमन्त्री थापाले मेसिन मर्मतका लागि प्राथमिकता दिन निर्देशन दिए । उनले भने, ‘जनताको लागि अत्यावश्यक उक्त मेसिनको अभावमा मानिसले लाखौ रुपैया खर्चनु परेको अवस्था छ । जबकी यो मेसिन बनेमा मात्र पनि एक लाख रुपैयाँमा क्यान्सर रोगको एउटा पूर्ण चक्रको उपचार गर्न सकिन्छ ।’
प्रतिक्रिया 4